उपाधि दौडमा एपीएफ र न्यु डायमन्ड
काठमाडौं: आयोजक एपीएफ क्लब र न्यु डायमन्ड क्लब सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
हल्चोकस्थित एपीएफ क्लबको कोर्टमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा नेपाल एपीएफ क्लबले पश्चिमाञ्चल क्षेत्रीय भलिबल टोलीलाई ३-० को सोझो सेटमा हरायो। पश्चिमाञ्चलमाथि दबदबा जमाएको एपीएफले २५-१४, २५-१०, २५-१२ को सहज नतिजा निकालेको थियो।
अर्को खेलमा जुनियर खेलाडीले भरिएको न्यु डायमन्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा स्तब्ध बनाएको थियो। राष्ट्रिय खेलाडीको साथ पाएको पुलिसले पहिलो सेट २५-१९ ले जितेको थियो।
दोस्रो खेलपछि लयमा देखिएको न्यु डायमन्डले क्रमशः २५-१९, २५-१६, २५-१३ को नतिजा निकाल्दै उपाधिको होडमा देखियो।माघ १६ गतेदेखि सञ्चालित प्रतियोगितामा एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबसहित सातवटा टोलीले भाग लिएका थिए।
कुल चार लाख ५५ हजार रुपैयाँ पुरस्कार राशि रहेको उक्त प्रतियोगिताको विजेता टोलीले दुई लाख ५० हजार, उपविजेताले एक लाख २५ हजार र तेस्रो हुने टोलीले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकले पनि जनही पाँच हजार रुपैयाँ पुरस्कार पाउनेछन् । फाइनल खेल बिहीबार हुनेछ।