‘तनाव' बीच सकियो सार्क बैठक
काठमाडौः दक्षिणएसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को प्रोग्रामिङ कमिटी बैठक भारत र पाकिस्तानको तनावका बीच बिहीबार सकिएको छ ।
सहभागी स्रोतका अनुसार बुधबारको बैठकमा सार्कद्वारा सञ्चालित दिल्लीस्थित साउथ एसियन युनिभर्सिटीको केही महिनाअघि ढाकामा सम्पन्न गभर्निङ बोर्डको बैठकमा पाकिस्तानलाई सहभागी नगराइएको भन्दै पाकिस्तानी अधिकारीले गम्भीर आपत्ति जनाएका थिए । उनले भारतले साउथ एसियन युनिभर्सिटीको गभर्निङ बोर्डको बैठक जबर्जस्ती गराएको दाबी गरेका थिए ।
स्रोतका अनुसार भारतका तर्फबाट सहभागी प्रतिनिधिले गभर्निङ बोर्डको बैठक बस्न पाँच सार्क सदस्य मुलुकमात्रै आए पनि कोरम पुग्ने तथा गभर्निङ बोर्डका तर्फबाट दुईतिहाइ सदस्य सहभागी भए पुग्ने भएकाले पाकिस्तानबिनै बैठक राखिएको भन्दै प्रतिवाद गरेका थिए । पाकिस्तानी अधिकारीले उक्त बैठकमा पाकिस्तानलाई नराखिनुको कारण बारम्बार माग गरेपछि बुधबारको बैठक तनावग्रस्त बनेको सहभागी नेपाली अधिकारी बताउँछन् ।
बैठकको सुरुमै मन्तव्य दिने क्रममा सार्क सदस्य मुलुकबाट सहभागी उच्च अधिकारीले सार्कको मर्म, सिद्धान्त र बडापत्रअनुसार क्षेत्रीय सहकार्यका लागि तयार रहेको भन्दै ‘ओठे' प्रतिबद्धता जनाएका थिए । ‘तर बैठकभर पाकिस्तान र भारतले एकअर्काप्रति राम्रो व्यवहार गरेनन्', सहभागी एक अधिकारीले सुनाए ।
बिहीबारको बैठकमा पाकिस्तानद्वारा प्रस्तावित नयाँ सार्क महासचिव अमजाद सियालको नियुक्तिसम्बन्धमा सार्क सचिवालयले हालै सार्क सदस्य देशलाई मागेको पुनः सहमतिबारे लेखेको पत्रबारे चर्चा भएको थियो । सार्क सचिवालयले केहीअघि एक पत्र लेखी सार्कका सदस्य मुलुकलाई पाकिस्तानद्वारा प्रस्तावित महासचिवको नियुक्ति अनुमोदन गर्न भनेको थियो ।
यो विगतको परम्पराविपरीत रहेको पाकिस्तानले बताउँदै आएको छ । गत मार्चमा पोखरामा सम्पन्न सार्क विदेशमन्त्रीस्तरीय बैठक तथा त्यसपछि गत मे महिनामा सार्कका सबै सदस्य देशले पत्राचारमार्फत पाकिस्तानी नयाँ महासचिवको नाम अनुमोदन गरेका थिए । ‘यसरी अनुमोदित भइसकेर अब मार्चदेखि कार्यभार समाल्न आउन लागेका सार्कका महासचिवको नियुक्तिबारे फेरि किन सार्क सचिवालयले पत्र लेखेर पुनः सहमति मागेको हो । यो सार्कको भावना र परम्पराविपरीत छ', पाकिस्तानी पक्षको तर्क छ ।
सार्क विश्वविद्यालय र नयाँ महासचिवको नियुक्तिबारे विवाद
भारतीय पक्षले चाहिँ सार्कको १९ औं शिखर सम्मेलन हुन नसकेका कारण पाकिस्तानले प्रस्ताव गरेको महासचिवको नियुक्तिप्रक्रियाबारे प्रश्न उठाएको छ । यसका कारण सार्कका नयाँ महासचिवले नेपाल आएर पदभार ग्रहण गर्ने विषय अप्ठेरोमा परेको छ । सार्कका वर्तमान महासचिव अर्जुनबहादुर थापा फेब्रुअरी २८ मा अवकाश लिँदैछन् । उनको स्थानमा आउन लागेका पाकिस्तानका उच्च कूटनीतिज्ञको नियुक्ति विवादित बनेको हो । यसप्रति पाकिस्तानले रोष व्यक्त गरेको छ ।
बुधार र बिहीबार भारत र पाकिस्तानबीच तनावको अवस्था बनेको थियो । तर नेपाली अधिकारीले सार्क अध्यक्ष मुलुकको नाताले तटस्थ भूमिका निर्वाह गरेका थिए । गत नोभेम्बरमा पाकिस्तानमा हुने भनिएको १९ औं सार्क शिखर सम्मेलन स्थगित भएपछि सार्क देशबीच भएको यो नै पहिलो बैठक हो । सार्क प्रोग्रामिङ कमिटी बैठक हरेक वर्ष दुईपटक आयोजना हुने गर्छ । बुधबारको बैठकमा सार्क क्षेत्रीय केन्द्रहरूको बजेटका विषयमा छलफल भएको थियो ।
सार्क क्षेत्रीय केन्द्रहरूका सम्बन्धमा सार्क सदस्य देशहरूले पेस गरेको प्रतिवेदनमाथि छलफल भएको थियो । बिहीबारको बैठकमा सार्कको समग्र बजेटका विषयमा छलफल हुने भएको छ । बिहीबार प्रतिवेदनहरू अनुमोदन गरी बैठक सकिएको छ ।
सार्क सचिवालयले जारी गरेको प्रेसविज्ञप्तिमा बैठकमा सार्कका महासचिव थापाले गत मार्चमा पोखरामा आयोजित विदेशमन्त्रीस्तरीय बैठकपछि गरेका प्रगतिको समीक्षा भएको उल्लेख छ । सार्कका महासचिवले आफ्नो पदावधि सकिन लागेको बताउँदै आफ्नो कार्यकालमा गरेको सहयोगका लागि सबै सदस्य मुलुकलाई धन्यवाद दिए । ‘सार्कको बडापत्रअन्तर्गत रहेर विगत तीन वर्ष मैले सार्कको नेतृत्व गर्न पाएँ । यो अवसरप्रति म सन्तुष्ट छु', सार्क महासचिवले बैठकमा भने ।
सार्क सचिवालयसँग सम्बन्धित प्रशासनिक तथा आर्थिक मुद्दाबारे तयार भएका प्रतिवेदन बैठकले अनुमोदन गरेको विज्ञप्तिमा उल्लेख छ । बैठकमा सार्क सदस्य देश नेपाल, भारत, अफगानिस्तान, माल्दिभ्स, पाकिस्तान, श्रीलंका, भुटान र बंगलादेशबाट सहसचिव÷महानिर्देशक तहका सरकारी अधिकारी सहभागी भएका थिए ।
भारत र पाकिस्तानबीच सीमापार आतंकवादका विषयमा चुलिएको तनावका कारण १९ औं सार्क शिखर सम्मेलन अनिश्चित बनेका बेला सार्क प्रोग्रामिङ कमिटी बैठक बसेको हो । भारत र पाकिस्तान एकअर्कालाई सार्क शिखर सम्मेलन अवरोध हुनुको कारण मान्ने गरेका छन् ।