नेपालको पहिलो जित
नयाँ दिल्लीः सुनील रानामगरको अल राउन्ड प्रदर्शन तथा सुनील सुवेदीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपालले दोस्रो दृष्टिविहीन टीट्वेन्टी विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्यो ।
नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा यो पहिलो जित हो । नेपाल आफ्नो पहिलो खेलमा अस्ट्रेलियासँग १० विकेट तथा दोस्रो खेलमा बंगलादेशसँग ५९ रनले पराजित भएको थियो । नेपालको यो दक्षिण अफ्रिकाविरुद्ध पनि पहिलो जित हो । सन् २०१२ मा भएको पहिलो टीट्वेन्टी विश्वकपमा नेपाल दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
टीट्वेन्टी विश्वकपमा भने नेपालको यो दोस्रो जित हो । सन् २०१२ विश्वकपको पहिलो खेलमा बंगलादेशलाई नौ विकेटले पराजित गर्न बाहेक नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा जित हात पार्न सकेको थिएन । नेपालले त्यसयता विश्वकपमा ११ खेल तथा समग्रमा १५ खेल खेलेको छ । विश्वकपबाहेक नेपालले चार खेल एसिया कपमा खेलेको थियो ।
साकेटस्थित दिल्ली विकास प्राधिकरण (डीडीए) को खेलमैदानमा टस जिती पहिले फिल्डिङ गरेको नेपालले दक्षिण अफ्रिकालाई निर्धारित २० ओभरमा पाँच विकेट लिँदै एक सय ४६ रनको योगफलमा रोकेको थियो । प्रत्युत्तरमा नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै जित पक्का गरेको हो ।
नेपालको जितमा सुनील रानामगरले ३५ बलमा ३८ रन जोडे भने बलिङतर्फ दुई विकेट लिए । उनी म्यान अफ दी म्याचसमेत चुनिए । यस्तै सुनील सुवेदी क्षेत्रीले ३३ बलमा ४६ रनको महत्वपूर्ण योगदान दिए । उनले चौका प्रहार गर्दै नेपालको जित पक्का गरेका थिए । सुनील राना बी टु (पाँच मिटरसम्म देख्न सक्ने) तथा सुनील सुवेदी बी वान (पूरै आँखा नदेख्ने) क्याटेगोरीका खेलाडी हुन् ।
नेपालका लागि उनीहरूबाहेक सुरुआती ब्याट्म्यान रमेशबहादुर बानियाँले २८ बलमा २४ रनको योगदान दिए । रमेश र सुनील राना दुवैले एकएक चौका प्रहार गरेका थिए । त्यसपछि लोकबहादुर थापाले नौ रन तथा सुनील थापामगरले पाँच रन जोड्दा कप्तान कीर्तन श्रेष्ठ दुवाल शून्य रनमा अविजित रहे । नेपालले २७ अतिरिक्त रन उपहार पाएको थियो ।
सुनीलले चार ओभरमा २६ रन दिएर दुई विकेट लिएका थिए । नेपालका लागि अर्को एक विकेट कप्तान कीर्तनले लिए । नेपालले अन्य दुई विकेट रन आउटमा लिएको थियो ।
दक्षिण अफ्रिकाका लागि भने सोनवाबाइल बिडलाले ५७ रनको योगदान दिए । यस्तै डोमिनिक स्कटले ३३ रन जोड्दा बुहले भिड्लाले ३२ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ दक्षिण अफ्रिकाका बुहले, सोनवाबाइल, डक्टर विलियम र टेफो लेस्लेले एकएक विकेट लिए ।
नेपालले दक्षिण अफ्रिकाविरुद्ध ब्याटिङ लाइन अपमा परिवर्तन गरेको थियो । अघिल्लो दुई खेलमा लगातार पराजित भएपछि नेपालले दक्षिण अफ्रिकाविरुद्ध सुनील रानामगर र रमेशबहादुर बानियाँलाई सुरुवातमा ब्याटिङ गर्न पठाएको थियो ।नेपालले आफ्नो चौथो खेलमा शुक्रबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।