ट्रम्पको विरोधमा एकजुट हुँदै जर्मनी, जापान र चीन

टोक्योः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको स्वतन्त्र बजार व्यवस्थासम्बन्धी नीतिको विरोधमा जर्मनी, जापान र चीन एकजुट हुँदै गएका छन् । कारोबार एवं व्यापारिक क्षेत्रमा ट्रम्पले अँगालेको नीतिका कारण उनीहरू एकजुट हुने अवस्थामा पुगेका हुन् ।
ट्रम्पले जर्मनी र जापानले विदेशी मुद्रा विनिमयका माध्यमद्वारा बजार प्रभावित बनाएर आफ्नो हितमा व्यापारसम्बन्धी नियम बनाउने बताएका थिए । यसकै विरोधमा जापानी प्रधानमन्त्री सिन्जो आबे र जर्मन चान्सलर एन्जेला मर्केल एकसाथ भएका हुन् ।
युरोपियन काउन्सिलका विदेशी सम्बन्धका निर्देशक मार्क लेनर्दले भने, ‘ट्रम्पसँग निकै ठूलो टकराव हुने स्थिति आएको छ । उनले ‘अमेरिका पहिलो' भन्ने विषय अघि बढाउन चीन र बाँकी देशसँग भौगोलिक तनाव उत्पन्न गराइरहेका छन् ।'
जापानी प्रधानमन्त्री आबेले जापानी संसद्मा बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको आरोप झूटो भएको दाबी गरेका छन् । उनले भने, ‘जापानले येनको मूल्य घटाएर व्यापार गरेको भन्ने ट्रम्पको भनाइ गलत हो ।' ट्रम्पले जापानको वास्तविक मौद्रिक नीति जान्न चाहन्छन् भने उनलाई सम्झाउन तयार भएको बताए । आगामी साता आबे अमेरिका भ्रमणमा जाँदै छन् ।
त्यहाँ उनले ट्रम्पसँग वार्ता गर्ने कार्यक्रम छ । जर्मन चान्सलर मर्केलले पनि ट्रम्पको यस्तै आरोप बुधबार अस्वीकार गरेकी छन् । उनले भनिन्, ‘हामी अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा र निष्पक्ष व्यापार गर्छौं ।'
ट्रम्पका यस्तै धम्कीका कारण गत साता मर्केलले चिनियाँ राष्ट्रपति ली कछियाङसँग फोनमा वार्ता गरेकी थिइन् । यी दुई देशबीच आपसी व्यापारिक सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल भएको थियो । मेक्सिकोसँगको अमेरिकी व्यवहारले पनि उनीहरू चिन्तित देखिएका छन् ।
ट्रम्पको कार्यकालको प्रारम्भिक दिनमै यस्तो झगडा र विवाद सुरु भइसकेको छ । करिब दुई साताको ट्रम्पको कार्यकालमा विवाद मात्रै देखिन थालेका छन् । उनकै भनाइका कारण अन्तर्राष्ट्रिय व्यापार र मुद्रामा अस्थिरता उत्पन्न हुने संकेत देखिन थालेका छन् । यस्तो अवस्था बनाउन स्यवं ट्रम्प जिम्मेवार रहेको उनको कथन छ ।
अमेरिकाको दशकौं पुराना व्यापार सम्बन्ध भएका देश पनि ट्रम्पको व्यवहारबाट त्रसित हुन थालेका छन् । अब अमेरिकाले विगतमा जस्तो बहुपक्षीय सम्झौताको साटो द्विपक्षीय सम्झौतामा जोड दिन थालेको आभास देखिन थालेका छन् । अमेरिकाको नीतिप्रति आशंका व्यक्त गर्दै उसका सहयोगी राष्ट्रहरू आ-आफ्नो राष्ट्रिय हितका लागि नयाँ गठबन्धन र समीकरणमा जुटेका छन् ।
प्रतिक्रिया दिनुहोस !
