नेपालमा हिन्दी चलचित्रःनाकाबन्दीपछि ओरालो
नेपाली चलचित्रका निर्माता आफ्नो चलचित्र रिलिज गर्दा प्रायः बलिउडमा रिलिज हुने चलचित्रको डेट ख्याल गर्छन् । नेपालमा हिन्दी चलचित्रको बजार राम्रै भएकाले सकभर स्टार कास्ट एवं ठूला बजेटका हिन्दी चलचित्रसँग आफ्नो चलचित्र जुधाउन चाहँदैनन् । तर, पछिल्लो समय खासगरी भारतले गरेको अघोषित नाकाबन्दीपछि नेपालमा हिन्दी चलचित्रको बजार खस्केको छ ।
गतसाता शाहरुख खान अभिनीत ‘रइस' र ऋतिक रोशन अभिनीत ‘काविल' एकसाथ रिलिज भयो । बलिउडका बहुचर्चित मानिएका यी दुई चलचित्र आमिर खान अभिनीत ‘दंगल'पछि दर्शकमाझ आएको स्टार कास्ट हिन्दी चलचित्र हुन् । यी दुवै चलचित्रले नेपाली दर्शकलाई खासै आकर्षित गर्न सकेनन्।
‘रइस' र ‘काविल'मात्रै होइन, बलिउड बक्स अफिसमा तहल्का मच्चाएको आमिरको ‘दंगल' हेर्न पनि नेपाली दर्शकले खासै रुचि देखाएनन् । यो चलचित्र २३ डिसेम्बर २०१६ मा रिलिज भएको हो । आमिरकै ‘पीके', सलमान खानको ‘बजरंगी भाइजान'जस्ता सुपरहिट चलचित्रलाई समेत भारतमा पछाडि पारेको ‘दंगल'ले नेपालमा त्यो स्तरको व्यापार गर्न सकेन । ‘पीके', ‘बजरंगी भाइजान' नाकाबन्दीभन्दा अघि रिलिज भएका चलचित्र हुन् ।
प्रायः ठूला बजेटका हिन्दी चलचित्र नेपालमा वितरण गर्दै आएको गोपीकृष्ण मुभिजका म्यानेजर प्रदीप दाहाल भन्छन्, ‘पछिल्लो समय हिन्दी चलचित्रको व्यापार नेपालमा उत्साहजनक छैन ।' उनको विचारमा राम्रा चलचित्र नभएकाले पनि यस्तो भएको हुन सक्छ । तर आमिरको ‘दंगल', साहरुखको ‘रइस', ऋतिकको ‘काविल', अक्षयकुमारको ‘सिंह इज ब्लिङ', साहिद कपुरको सानदारजस्ता चलचित्रमा पनि दर्शकको उत्साह नदेखिनुले नाकाबन्दीको प्रभाव परेको प्रस्ट देखिन्छ ।
चलचित्र हेर्ने जनता नै हुन् । नाकाबन्दीमा जुन सकस बेहोरे त्यो अझै बिर्सेका छैनन् । अहिले देखिने गरी हिन्दी चलचित्रको बजार खस्किएको छ ।
नरेन्द्र महर्जन, अध्यक्षः एफडी कम्पनी
पछिल्लो समय हिन्दी चलचित्रको व्यापार नेपालमा उत्साहजनक छैन । तर राम्रा चलचित्र नभएकाले पनि यस्तो भएको हुन सक्छ ।
प्रदीप दाहाल, म्यानेजरः गोपीकृष्ण मुभिज
नाकाबन्दीले नेपाली जनतामा नकारात्मक प्रभाव परेको छ । अब हिन्दी चलचित्र किनेर ल्याउनेले नेपाली चलचित्र के चल्दैछ भनेर डराउनु परोस् भन्ने मेरो चाहना छ ।
दीपकराज गिरी, निर्माता निर्देशक
यो कुरामा सहमत छन् चलचित्र विकास बोर्डका सदस्य एवं एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जन । यस कम्पनीमार्फत धूम ३, क्रिसलगायतका चलचित्र नेपालमा वितरण गरेका महर्जनका अनुसार नाकाबन्दीपछि नेपालमा हिन्दी चलचित्रको बजार छर्लंग देखिने गरी खक्किएको छ । ‘चलचित्र हेर्ने जनता नै हुन् । नाकाबन्दीमा जुन सकस बेहोरे त्यो अझै बिर्सेका छैनन्', महर्जनले भने, ‘अहिले देखिने गरी हिन्दी चलचित्रको बजार खस्किएको छ । नेपाली चलचित्रका लागि चाहिँ यो खुसीको कुरा हो ।'
हेटौंडास्थित ओमेक्स हलका सञ्चालकसमेत रहेका उनले दिएको जानकारीअनुसार हलमा धेरै हिन्दी चलचित्र लागे तर दर्शक आएनन् । ‘एक समय शाहरुखको चलचित्र भनेपछि दर्शकको भीड हुन्थ्यो । अहिले शाहरुखको रइस र ऋतिकको काविल चल्दा लगभग हल खाली भयो', उनले थपे ।
नेपालमा दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान घोषणा गर्यो । संविधान आउने पक्का भएपछि भदौको अन्तिम सातादेखि नै नाकाबन्दीको छनक सुरु भइसकेको थियो । संविधान घोषणापछि नाकाबन्दीको प्रभाव नेपालमा नौ महिनासम्म रह्यो ।
नाकाबन्दी सुरुहुँदा हास्यकलाकार कपिल शर्मा अभिनीत हिन्दी चलचित्र ‘किस किसको प्यार प्यार करुँ' नेपालमा पनि चलिरहेको थियो । यो चलचित्रबाटै नेपालमा हिन्दी चलचित्र ओरालो लागेको शृंखला अक्षयकुमारको ‘सिंह इज ब्लिङ', साहिद कपुरको ‘सानदार' हुँदै दर्जनौं चलचित्रपछि अहिले ‘रइस' एवं ‘काविल'सम्म आइपुगेको छ ।
२०७२ असोज १ गते रिलिज भएको दीपकराज गिरीको चलचित्र ‘वडा नम्बर ६' सँग नाकाबन्दी पनि सुरु भयो । तापनि यो चलचित्रले राम्रो व्यवसाय गर्न सफल भयो । ‘नाकाबन्दीले नेपाली जनतामा नकारात्मक प्रभाव परेको छ ।
दोस्रो संविधान सभाले २०७२ असोज ३ गते नयाँ संविधान घोषणा गरेपछि सुरु भएको भारतीय नाकाबन्दी नौ महिनासम्म रह्यो । त्यसपछि नेपालमा हिन्दी चलचित्रको बजार खस्केको हो ।
त्यस बेला साधारण दर्शकले जुन पीडा भोगे, त्यो बिर्सेका छैनन्', गिरी भन्छन्, ‘अब हिन्दी चलचित्र किनेर ल्याउनेले नेपाली चलचित्र के चल्दैछ भनेर डराउनु परोस् भन्ने मेरो चाहना छ । त्यो स्थिति देखिन थालेको छ ।' गिरीको अनुभवमा केही मल्टिप्लेक्स हलमा हिन्दी चलचित्र चले पनि सिंगर थिएटरमा कम भइसकेको छ ।
उनको पछिल्लो चलचित्र छक्का पन्जाले पनि धेरै हिन्दी चलचित्रको सामना गर्नु परेको थियो तापनि खास प्रभाव पार्न सकेन । ‘करण जोहरको ‘बार बार देखो'देखि अजय देवगन, अमिताभ बच्चनलगायतका सय करोड क्लबमा पुगेका समेत गरी चारवटा हिन्दी चलचित्रसँग छक्का पन्जा जुध्यो तापनि हामी सफल भयौं', उनले भने ।