दिन ढल्यो स्रष्टा उठ्यो
२०४७ सालमा रेडियो नेपालबाट रेकर्ड भएको एउटा गीत चर्चित बन्यो । रेडियो नेपालको वार्षिकोत्सव थियो, गणेश पराजुलीले संगीत तयार पारेका थिए, यशोदा पराजुली गाउन तयार थिइन् ।
भनेजस्तो शब्द मिलिरहेको थिएन । गणेशले ज्ञानेन्द्र गदाललाई घरैमा बोलाए । मेलोडी सुनाए, गदाललाई पनि मन पर्यो । रेकर्ड गरिएको मेलोडी सुन्दै गदालले सोचे, ‘संगीतमा विरह छ ऊर्जावान् जिन्दगी शिथिलतामा ढल्किँदैछ अब यस्तै भावमा लेख्छु ।'
दिन ढल्यो अँधेरी रातमा
यो मन जल्यो निष्ठुरीको यादमा...'
बोलको गीत लेख्ने काम सकियो तर गदाल झस्किए, धेरै निराशाजनक पो भयो कि ? उनकै अर्को मन बोल्यो, होइन हामीले चाहे वा नचाहे पनि जीवनको यथार्थ यही हो । यशोदाले गाइन् प्रतियोगिताको परिणाम आयो, गीतले यशोदालाई तेस्रो बनायो । तीनैजनालाई यो गीत ‘कोसेढुंगा' बन्यो । फर्माइस आइरहे, रेडियो नेपालमा गीत बजिरह्यो, गदाल पनि गीतकारका रूपमा परिचित भए ।
हुनतः ‘उनको पनि...' बोलको आधुनिक गीत शम्भु राईको स्वर र संगीतमा २०४० सालमै रेडियोमा रेकर्ड भएको थियो । यसपछि सीताराम ताजपुरियासँग शम्भुले सँगै जाउँ... बोलको गदालको लोकगीत पनि गाएका थिए । गीत लेखन र रेकर्डिङको क्रम बढ्दै गएपछि २०५२ सालमा म्युजिक नेपालबाट पहिलो एल्बम ‘यौवन' निकाले गदालले ।
दिन ढल्यो अँधेरी रातमा बोलको गीत रचना गरिसकेपछि ज्ञानेन्द्र गदाल झस्किए, धेरै निराशजनक पो भयो कि ? उनकै अर्को मन बोल्यो, होइन हामीले चाहे वा नचाहे पनि जीवनको यथार्थ यही हो ।
आधुनिक गीतसँगै राष्ट्रिय भावनाले ओतप्रोत भएका गीत पनि लेख्न बाध्य बनायो तत्कालीन परिवेशले उनलाई । देशमा माओवादी जनयुद्धले देश आक्रान्त बनेको सन्दर्भलाई लिएर उनले लेखे, ‘भृकुटी बुद्ध जन्मेको पवित्र देश नेपालमा, अब त शान्ति फैलियोस् यही छ हाम्रो कामना...।'
श्रद्धा डिजिटलबाट दोस्रो एल्बम ‘ज्ञानेन्द्र गदालका आधुनिक गीतहरू', तेस्रो एल्बम श्रद्धाबाटै लोकगीतको ‘आँखीझ्यालैमा', चौथो टीका भण्डारीको एकल संगीतमा एकल शब्दमा ‘परदेश', पाँचौं एल्बम ‘परदेश' र गतवर्ष रञ्जित गजमेरको एकल संगीतमा भारतीय गायिकाद्वय आशा भोसले र साधना सर्गमसहितको स्वरमा ‘सम्झनाका छालहरू' श्रोतासामु पुगिसकेका छन् ।
यसबीच २०५१ सालमा उनको अर्को गीत चर्चामा आयो, ‘कुन सहरमा घुम्दै होला मलाई छुने मन, जहाँजहाँ जान्छु त्यहीँ लाग्छ नयाँपन...।' बुलु मुकारुङको संगीतमा लेखु विवशले गाएको उक्त गीत पनि रेडियो नेपालको प्रतियोगितामै रचना गरिएको थियो । अन्ततः गदाललाई २०५४ सालमा रेडियो नेपालले दियो ‘उत्कृष्ट गीतकार' को उपाधि । संख्यात्मकभन्दा गुणात्मकतामा विश्वास राख्ने उनका करिब ३५ वर्षको अवधिमा एक सय जति गीत रेकर्ड भएका छन् ।
पूर्वी नेपालको इलाम जिल्लास्थित कर्फोकबाट २०३८ सालमा स्कुले जीवन सकेर राजधानी प्रवेश गरेका ज्ञानेन्द्र गदालको संगत सुरुदेखि नै गायन क्षेत्रका व्यक्तित्वहरूसँग भयो । नजिकै डेरा बस्ने शम्भु राईमार्फत गीततर्फ आकर्षित बनेका उनी सिंहदरबारभित्र रेडियो नेपालमा पुग्थे । गाउँमा रेडियोबाट बज्ने गीत सुन्दा नै त्यहाँ पुगेर सबै जानकारी लिन पाए हुन्थ्यो भन्ने लाग्थ्यो उनलाई ।
साहित्यमा रुचि राख्ने उनलाई आफ्नै गीत रेडियो नेपालबाटै रेकर्ड भएपछि के चाहियो र ? रेकर्ड भएका आफ्ना गीतहरूले क्रमशः लगाव बढाउँदै लगे, गीतहरू लेख्न प्रेरित गरिरहे । ‘लेख्न त कविता पनि लेखेँ तर परिचय दिँदा होस् वा आफैंलाई महसुस गर्दा, कविभन्दा गीतकार भन्नुमै बढी पाएँ', उनी भन्छन्, ‘एउटा राम्रो गीतकारलाई ठूलो भोल्युमले चिन्छ र बारम्बार सञ्चारबाट गुञ्जिरहन्छ पनि ।'
गदालले २०६० सालमा गीतको संग्रह ‘मलाई छुने मन' र त्यसको एक दशकपछि दोस्रो गीति संग्रह ‘झरीपछिको आकाश' नामक दुई कृति पाठकसामु ल्याए । उनीसँग तीन वर्षयता लेखेका अरू करिब एक सय गीत छन् । ‘सुखी हुनु सधैं तिमी रुने दिन नआओस् तिमीलाई, जिन्दगीमा एक्लो एक्लो हुने दिन नआओस् तिमीलाई...', ‘अधुरो भो जीवनकथा पूरा भएन, तिम्रो मेरो सम्बन्ध नै दिगो रहेन ।
गल्ती तिम्रो मात्र हैन मेरो पनि होला, मेरो भागको गल्ती खातिर मलाई माफ गर...' यस्तै यस्तै छ वटा सुगम संगीतले भरिएका आधुनिक गीतको एल्बम तत्काल श्रोतासामु ल्याउने चटारोमा छन् गदाल ।
नेपाल आएको सन्दर्भमा एल्बम तयार पारिरहेका १८ वर्षदेखि अमेरिकास्थित कोलोराडो निवासी ५३ वर्षीय उनी एल्बमबारे भन्छन्, ‘संसार देखियो, जीवन भोगियो ।
लेखनको परिपक्वता यो एल्बमका गीतमा आएको छ ।' गीत लेखन र रेकर्डिङ सुखसँग बाँच्ने आधार बनेको उनको बुझाइ छ । जनजिब्रोमा चल्ने सरल शब्द तर गहन अर्थ खोज्ने गीतमा उनी रमाउँछन् ।
उनले मिलन, बिछोड, विरह, मनोरञ्जन, राष्ट्रप्रेम सबै खालमा गीत लेखे तर गीतमा समग्र जीवनलाई १० लाइनमा सार आउने गरी उपहार हुने किसिमको गीत लेख्न बाँकी भएकाले त्यसको तयारीमा जुटेका छन् । उनी थप्छन्, ‘आजसम्मको मेरो छटपटी भनेकै चाहेजस्तो गीत लेख्न सकेको छैन, म त्यसकै खोजीमा छु ।'