सकसले जुटाएको साहस
मानिसलाई केले परिपक्व बनाउँछ ? धेरैले भन्लान् ‘उमेर'ले । उस्मिता पनेरूको अनुभव र अनुभूति सुन्ने हो भने मानिस परिबन्धले परिपक्व बन्दो रहेछ । उमेरले २१ टेकेकी उस्मिताका साथीभाइ पढ्छन्, खेल्छन्, रमाउँछन् । उनकै उमेरका कतिपय साथी आफ्नो दैनिकीमात्रै होइन रमाइलो गर्न अभिभावकसँग पैसा लिएर निस्कन्छन् । तर उनी स्कुले जीवनदेखि नै व्यवहारमा बाँधिइन्, परिबन्धमा परिन् ।
विद्यालयमा सँगै पढ्ने साथीभाइ शनिबारको दिन नुहाउँथे, खेल्थे, घुम्थे वा परिवारसँग रमाउँथे तर उस्मिता बिदा परेको दिन छिमेकीकोमा काम गर्न पहिल्यै अनुबन्धित भएकी हुन्थिन् । गोरखाको विकट क्षेत्र सौरपानीमा जन्मिएकी उनले शनिबार काम नगरी विद्यालयको अध्ययन गर्नै गाह्रो थियो । बाबा, आमाले गरेको दुःखले मात्रै परिवार धान्न गाह्रो हुने भएपछि विद्यार्थीकालमै उस्मिताका दिदीबहिनी शनिबार अर्काकोमा काम गर्न जान्थे ।
सकस, संघर्ष र सहनशीलताको त्यही यात्राले आज उनलाई कलिलो उमेरमै असल व्यवसायी बनाएको छ । अनुभवको आधार समातेर उनी चल्तिमा रहेको स्तरीय क्याफेकी सञ्चालक बनेकी छन् ।
काठमाडौंको चक्रपथ नजिकै सेलवेजमा मामाको क्याफेमा काम गरेको अनुभवले आफूलाई यहाँ पुर्याएको उनको भनाई छ । उस्मिताले बूढानीलकण्ठ मन्दिरको गेटैमा यतिबेला मारिको बेकरी क्याफे सञ्चालन गर्दै आएकी छन् । क्याफेको विशेष विशेषता भनेकै कफी हो ।
बूढानीलकण्ठ मन्दिरको आँगननेर माथिल्लो तल्लामा बसेर कफीको स्वाद लिनुको अनुभूति बेग्लै हुने पुष्कर घिमिरेले बताए । उनी भक्तपुरको बालकोटदेखि सातामा कम्तीमा दुई दिन मारिको बेकरी क्याफेमा कफी पिउन पुग्छन् ।
‘कफी त धेरै ठाउँमा पाउँछ तर विन्स कफीको जुन स्वाद यहाँ पाइन्छ त्यसको म पारखी हो', घिमिरेले भने, ‘यहाँको अर्को विशेषता भनेको बूढानीलकण्ठको पावन आँगनमा कफी, बर्गरको मजा लिन पाउनु हो ।'
धार्मिक पर्यटकीयस्थलका रूपमा पनि लिइने बूढानीलकण्ठमा गतिलो क्याफेको अभावलाई पनि मारिको बेकरीले पूर्ति गरिदिएको छ । टाढाटाढाबाट आउने पाहुनलाई शुद्ध, सफा र आधुनिक परिकार पस्कने काम गर्न सकेकोमा सञ्चालक उस्मिता सन्तुष्टि व्यक्त गर्छिन् ।
अभावले नै केही गर्न सिकाएको बताउन चाहने उनले अर्गानिक कफीका विभिन्न स्वाद पस्कने गरेकी छन् । अर्गानिक कफी ‘कर्मा' यहाँको स्पेसल प्ये हो । बेकरी परिकारमा स्यान्डविच, बर्गरका विभिन्न परिकार, सुप, फ्रुटसेक, हटडग ससेस, मम, चाउमिन रुचाइनेमध्येका परिकार हुन् ।
उमेरले सानै भए पनि उस्मिता साहसले बलियो र अटल छन् । दुर्गम गोरखाको गाउँमा निम्न परिवारमा जन्मिए पनि लाखौंको यो क्याफे सञ्चालन गर्ने आधार भनेको उनको साहस नै हो । ‘परेपछि गरिँदो रहेछ' भन्न रुचाउने उनी गर्नेका लागि अरुचिजले नरोक्ने आदर्श स्थापित गरेर हिँडेकी छन् । उनले भनिन्, ‘भन्छन् नि, इच्छा भए उपाय कति कति ।'
उनले इच्छा राखेकै कारण आज खाउँलाउँको उमेरमा रंगरमाइलो छोडेर उनी एक कर्मजीवी बन्न सकेकी छन् । बूढानीलकण्ठ मन्दिरको गेटैमा माथिल्लो तलामा टिलिक्क बनाइएको उनको क्याफेमा नपस्ने सायदै होलान् । शुद्ध, सफा, सजावट र अग्र्यानिक परिकार उस्मिताको क्याफेको आफ्नोपन हो । यही स्वादका पारखी भएकै कारण प्रवीण मैनाली हरेक हप्ता मारिको क्याफे पुग्ने गरेको बताउँछन् ।
मानिसले केही गर्न केही आइपर्नुपर्ने अनुभव सँगालेकी उस्मिता भन्छिन्, ‘हामीले हाम्रा लागिमात्रै केही गर्ने हो भने देशका लागि केही हुन्छ ।' उनले अहिले परिकारका अन्य सदस्यलाई पनि स्वरोजगार बनाएकी छन् । दिदी कविता र बहिनी सुस्मिता पनि उनीसँगै क्याफेमा सक्रिय छन् ।