विश्वव्यापी अभियानमा एकराज
ब्रिटिस गोर्खा सैनिक सेवा दुई सय वर्षगाँठको अवसरमा सन् २०१५ मा बेलायतमा ब्रिटिस गोर्खा नेप्लिज काउन्सिल (बीजीएनसी) स्थापना भएको छ । बेलायती सेनाबाट अवकाश लिएका एकराज नेम्बाङको अध्यक्षतामा बेलायतमा गठित यो संस्थाका विभिन्न मुलुकमा च्याप्टर गठन पनि भएको छ ।
यस संस्थाको नेपाल च्याप्टर पूर्वमिस नेपाल सुविन लिम्बूको अध्यक्षतामा गठन भएको छ । यसले साहित्य, संगीत, चलचित्र, पत्रकारिता र खेलकुद क्षेत्रमा काम गर्ने लक्ष्य र उद्देश्य तय गरेको छ । २०३२ सालमा पाँचथरको पौवा सारतापमा जन्मेका उनले १८ वर्ष बेलायती सेनामा सेवा गरी अवकास लिएका हुन् । संस्थाको आवश्यकता र गतिविधिीका बारेमा बीजीएनसीका केन्द्रीय अध्यक्ष नेम्बाङसँग भएको कुराकानीः
ब्रिटिस गोर्खा नेप्लिज काउन्सिलको आवश्यकता कसरी महसुस भयो ?
विश्वमा जसरी वीर गोर्खाली भनेर नेपालीको पहिचान छ, त्यो भावनालाई समेट्नसक्ने साझा संस्था चाहिन्छ भन्ने मलाई पहिलेदेखि लागेको थियो । बेलायती सेनामा नेपालीले काम गर्न थालेको दुई सय वर्ष पुगेको अवसरमा सन् २०१५ मा यो संस्था स्थापना भयो ।
साहित्य, संगीत, चलचित्र, पत्रकारिता र खेलकुदलाई कार्यक्षेत्र बनाउनुको उद्देश्य ?
मानव जीवन र समाजमा यी पाँच क्षेत्रको विशिष्ट महत्व छ । यी पाँच क्षेत्रको विकास हुन सकेन भने समग्रमा देशको समृद्धि असम्भव छ । त्यसैले यी क्षेत्रका कार्यक्षेत्र तय गरेका हौं ।
यति बृहत् पाँच विधामा काम गर्न सम्भव होला ?
मैले विभिन्न सामाजिक संघसंस्थामा काम गरेको २५ वर्षभन्दा बढी भइसकेको छ । मेरो अनुभवमा संगठन राम्रो छ, उद्देश्य प्रस्ट छ भने काम गर्न सकिन्छ ।
बेलायती सेनामा काम गरेका कति प्रतिशत नेपाली यस संस्थाप्रति आबद्ध होलान् ?
धेरैको शुभकामना, सहानुभूति र साथ छ । आआफ्नो काममा व्यस्त हुने भएकाले संघमा आबद्ध भएर काम गर्न नसके पनि संस्थाको अवधारणा मन पराएका छन् ।
सिपाही मान्छे सिर्जनशील काम गर्ने सोच कसरी आयो ?
बेलायती सेनामा भर्ती हुनुअगाडि नै साहित्य र समाजसेवामा मैले धेरै काम गरेको थिएँ । सेवामा रहेका बेला पनि कठिन अवस्थाको सामना गर्न र सिर्जनशील हुन सिकेँ, जसले मलाई यो क्षेत्रमा डोर्यायो ।
ब्रिटिस गोर्खासँग सम्बन्ध नभएकाहरू पनि संस्थामा छन् त ?
समग्र गोर्खालीको भावना, राष्ट्रियता, ऐतिहासिकता र सिर्जनशीलतालाई जोड्न जोखिएको हो । विश्वव्यापी संस्था भयो भने सबै नेपालीका लागि सहज पहुँच बन्छ ।
विश्वव्यापी संस्था निर्माण गर्न सम्भव होला त ?
कठिन छ भनेर काम गरेन भने केही हुँदैन । तर, जुझारु भएर अगाडि बढ्यो भने सफल हुन सकिन्छ । संस्थामा हुने सबै साथीमा उत्साह र जोश देखिएकाले सम्भव छ भन्ने लागेको छ । मिलेर जानुपर्छ, केही गर्नुपर्छ भन्ने सामूहिक सोच आफैंमा सफलताको कडी हो ।
यो संस्थाको खास कार्यक्रमचाहिँ ?
हामीले यही वर्षदेखि साहित्य, संगीत, चलचित्र, पत्रकारिता र खेलकुद विधामा ब्रिटिस गोर्खा अवार्ड प्रदान गर्ने घोषणा गरिसकेका छौं । त्यसैगरी बीजीएनसी नेपाल च्याप्टरअन्तर्गत मिस गोर्खा पनि आयोजना हुँदैछ । अन्य सामाजिक एवं समयसापेक्ष कार्यक्रमहरू पनि योजनामा छन् ।
ब्रिटिस गोर्खा अवार्डमा रकम पनि निकै प्रदान गर्ने भनिएको छ ?
यो अवार्ड सन् २०१७ को अन्तिममा प्रदान गर्ने हो । हरेक विधामा एकएकजनालाई दिने अवार्ड दिँदैछौं । रकमभन्दा पनि इज्जत हो । आआफ्नो क्षेत्रमा निरन्तर, सिर्जनशील, राष्ट्रिय भावनालगायत विभिन्न आधारमा दिइने यो अवार्ड निर्विवाद र सम्मानित हुनेछ ।
संस्थाको आर्थिक स्रोतचाहिँ के हो ?
कार्यक्रम र प्रायोजक नै हो । हामी सामूहिक लगानीका विषयमा पनि गृहकार्य गरिरहेका छौं । यही सन्दर्भमा नेपालका विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्तासँग पनि अन्तरक्रिया भइरहेको छ ।