डोनाल्ड नीतिविरुद्ध सेलिब्रेटी
अमेरिकाका ४५औं राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेपछि नयाँ नीतिहरू तय गरेका छन् । कार्यभार सुरु गरेको एक साताको अवधिमै उनका बारेमा निकै विरोध भइसकेको छ ।
शरणार्थी र मुस्लिमलाई अमेरिका छिर्न नदिने भन्ने निर्णयप्रति विश्वभरका मानिस उनीविरुद्ध खनिएका छन् । उनको यस निर्णयप्रति असन्तुष्टि व्यक्त गर्नेमा सर्वसाधारणमात्रै होइन विश्वविख्यात सेलिब्रेटीसमेत छन् । ट्रम्प नीतिको विरोधमा प्रसिद्ध वैज्ञानिक स्टेफन हकिन्स पनि उभिएका छन् ।
७५ वर्षीय हकिन्सले डोनाल्डको राजनीति रणनीति के हो आफूले बुझ्न नसकेको प्रतिक्रिया एक अन्तर्वार्तामा दिएका छन् । हलिउडका अभिनेता जर्ज क्लोनीले पनि मुस्लिमलाई अमेरिका छिर्न नदिने भन्ने एउटा मूर्ख आइडियामात्रै भएको र यस्तो अभिव्यक्तिले उनलाई सामन्तवादी सोचाइ भएको मानिसका रूपमा पुष्टि गरेको बताएका छन् ।
हलिउड अभिनेत्री जेनिफर लरेन्सले आफ्नो धारणा राख्दै डोनाल्ड राष्ट्रपति हुनु भनेको विश्वको अन्त्य हुनुजस्तै भएको कडा टिप्पणी गरेकी छन् । त्यस्तै गायिका चेरले डोनाल्डलाई एउटा सामन्तवादी, रंगविभेदी, जातिवादी, रिसउठ्दो व्यक्तिका रूपमा चित्रण गरेकी छन् । राष्ट्रपति ट्रम्पले जातीय द्वन्द्व निम्त्याउनसक्ने भन्दै चेरले उनलाई हिटलरसँग तुलना गरेकी छन् ।
अभिनेत्री मेरिल स्टिपले गोल्डेन ग्लोब अवार्ड समारोहमा बोल्ने क्रममा डोनाल्डको गल्तीलाई कोट्याउँदै एउटा शारीरिक रूपमा अशक्त रिपोर्टरलाई तिरस्कार गरेकोप्रति दुःख व्यक्त गरेकी छन् । ‘घृणाले घृणा निम्त्याउँछ भने हिंसाले हिंसा ओकल्छ । उनले सबैलाई उत्तिकै सम्मान गर्न सक्नुपर्छ', स्टिपले भनेकी छन् ।
विश्वविख्यात पपस्टार साकिराले पनि ट्रम्पलाई घृणा लाग्ने बताउँदै उनले गरेको जातिवादी भाषण चित्तबुझ्दो नभएको बताएकी छन् । यस्ता कार्यले मुलुकलाई विभाजन गर्नसक्ने भन्दै उनले एउटै मुलुकमा बस्ने मानिसलाई हेला गर्न नहुने राय व्यक्त गरेकी छन् । साकिराजस्तै अर्की पपस्टार रिहानाले ट्रम्प नीतिको विरोध गर्दै ‘हाम्रौ आँखाअगाडि अमेरिका बिग्रिरहेको छ । अनैतिक काम भइरहेको छ । यो साँच्चै घिनलाग्दो काम हो' भनेकी छन् ।
माइली साइरसले त ‘स्टान्ड विथ इमिग्रेन्ट' भनेर अभियान नै चलाएकी छन् । उनीहरूले शरणार्थी र द्वन्द्वपीडितका लागि केही रकम पनि उठाएका छन् । माइलीले मेलानियालाई पनि एउटी खराब महिलाका रूपमा चित्रण गरेकी छन् ।
कतिपय सेलिब्रेटीले डोनाल्डले शनिबार जारी गरेको घोषणाअनुसार कम्तीमा नब्बे दिनका लागि मुस्लिमलाई अमेरिका प्रवेशमा गरेको रोकप्रति आपत्ति जनाएका छन् । केही दिनपहिले डोनाल्डले गर्भपतनसम्बन्धी गरेको निर्णयप्रति पनि लाखौं मानिसले आपत्ति जनाएका थिए ।
मुस्लिमलाई अमेरिका छिर्न नदिनु एउटा मुर्ख आइडियामात्रै हो । यस्तो अभिव्यक्तिले डोनाल्डलाई सामन्तवादी सोचाइ भएको मानिसका रूपमा पुष्टि गरेको छ ।
जर्ज क्लोनी, हलिउडका अभिनेता
डोनाल्ड अमेरिकाको राष्ट्रपति हुनु भनेको विश्वको अन्त्य हुनुजस्तै हो ।
जेनिफर लरेन्स, हलिउड अभिनेत्री
डोनाल्ड एउटा सामन्तवादी, रंगविभेदी, जातिवादी, रिसउठ्दो व्यक्ति लाग्छ । उनले अमेरिकामा जातीय द्वन्द्व निम्त्याउन सक्छन् ।
चेर, गायिका
ट्रम्पले घृणा लाग्ने र जातिवादी भाषण गरेको चित्तबुझ्दो भएन । यस्ता कार्यले मुलुकलाई विभाजन गर्नसक्छ । एउटै मुलुकमा बस्ने मानिसलाई हेला गर्नु हुँदैन ।
साकिरा, गायिका
हाम्रौ आँखाअगाडि अमेरिका बिग्रिरहेको छ । अनैतिक काम भइरहेको छ । यो साँच्चै घिनलाग्दो काम हो ।
रिहान्ना
डोनाल्डको शपथ समारोहमा निकै पहिलादेखि हलिउडका सेलिब्रेटीलाई उपस्थित हुन आह्वान गरिएको थियो । त्यसमध्ये गायक जस्टिन टिम्बरलेक, बु्रनो मार्सलगायत केही सेलिब्रेटी उपस्थित हुने भनिए पनि अन्तिममा उनीहरू सहभागी भएनन् । सो अवसरमा जोन भोइट, एन्टोनी सबटो, स्टेफेन बाल्डविन, क्याथलिन जेनर, विली रोबर्र स्टसनलगायत उपस्थित थिए ।
डोनाल्डको यौनकाण्ड तथा जातीय विभेदका बारेमा गरेको टिप्पणीका कारण धेरै हलिउड सेलिब्रेटीले उनको निमन्त्रणा अस्वीकार गरेका हुन् । जेनिफर होल्लिडे, पाउल एन्का, मेरी ओस्मोन्डे लगायतलाई निमन्त्रणा पठाइए पनि कार्यक्रम जुधेको बहाना बनाएका उनीहरू सहभागी भएनन् ।
डोनाल्डले शपथ लिइरहेका बेलामा पनि उनीविरुद्ध थुप्रै ठाउँमा विरोध भएका थिए । वासिङ्टन डीसीमा मात्रै पाँच लाखभन्दा बढीले विरोधर्याली निकालेका थिए, जसलाई ‘वुमन्स मार्च'को नामले चिनाइएको थियो । यो पहिलोपटक वासिङ्टन डीसीमा आयोजना गरिएको र्याली हो ।
र्यालीमा केटी पेरी, स्कारलेट जोहानसन, माइली साइरस, जेन्ड्या, चेर, लेडी गागा, जेसिका क्यासटेन लगायतका सेलिब्रेटी सहभागी थिए । हजारौंका संख्यामा उपस्थित भएका उनीहरूले डोनाल्डलाई महिलाको अधिकार भनेको मानवअधिकार हो भन्ने बुझाउन चाहेको बताए थिए ।
अमेरिकाको फेमिनिस्ट आइकन ८२ वर्षीया ग्लोरिया स्टेन्नेमले र्यालीलाई अगाडि बढाएकी थिइन् । ठूलो भीड देखिए पनि शान्तिपूर्ण रूपमा र्याली भएको थियो । कुनै धरपकड गर्नु परेको थिएन ।
चुनावी अभियानमा पनि डोनाल्डले भाषणमा कानुनी रूपमा गरिने गर्भपतन, तेस्रोलिंगी, आप्रवासी र महिलाका बारेमा नकारात्मक टिप्पणी गर्ने गर्थे । महिलाको सम्मान, चरित्र र अधिकारमाथि आक्रमण गरेकोमा सेलिब्रेटीहरूले आक्रोश पोखेका थिए । उनीहरूले डोनाल्डले पैसा र शक्तिको दम्भ देखाएको पनि आरोप लगाएका थिए ।