काठमाडौं प्रहरी प्रमुख भन्छन् : गुलेलीले चरा मारेर बसेको थिइनँ
काठमाडौं : प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) छविलाल जोशीले आफू कसैको कृपामा काठमाडौं प्रहरी परिसरको प्रमुख नबनेको बताएका छन् । ‘एसएसपी बस्ने ठाउँमै एसएसपी आएको छ । यसमा अचम्म मान्नुपर्ने के नै छ ? ’, उनले भने ।
काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी सम्हालेको तीन दिनपछि बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जोशीले आफू योग्य भएको दाबी गरे । ‘म यसअघि गुलेली खेलाएर, चरा मारेर त बसेको थिइनँ’, उनले भने ।
यसअघि धौलागिरी अञ्चल प्रहरी प्रमुख रहेका जोशीलाई काठमाडौं परिसर प्रमुखमा ल्याउन गृहमन्त्री र प्रहरी महानिरीक्षक (आईजीपी) बीच विवाद भएको चर्चा थियो ।
गृहमन्त्रीकै दबाबमा आफू काठमाडौंमा स्थानान्तरण भएको भन्ने आरोपको उनले खण्डन गरे । ‘म प्रहरी कार्यालयभित्र एक ठाउँबाट अर्को ठाउँ स्थानान्तरण भएको छु, यो कसरी राजनीतिक दबाब भयो ? ’, उनले प्रश्न गरे ।
आफूले मात्र केही गर्न नसक्ने र सम्पूर्ण परिणाम ‘टिम’को मेहनतमा निर्भर हुने उनको भनाइ छ । काठमाडौं सुरक्षा व्यवस्थापनका हिसाबले काम गर्न अन्य जिल्लाभन्दा सजिलो हुने पनि उनले बताए ।
‘काठमाडौंमा उच्च एवं बौद्धिक वर्ग बस्ने भएकाले सुरक्षा चिन्ता धेरै लिइरहनुपर्दैन । यसको अर्थ प्रहरीको कामै छैन भन्ने भने होइन’, उनले भने । प्रहरी प्रधान कार्यालयले गत साता ३९ जना एसएसपीको सरुवा गरेको थियो ।