जन्मिएको दुई घन्टामै शिशु हराएपछि अस्पताल तनावग्रस्त
वीरगञ्ज : नारायणी उपक्षेत्रीय अस्पतालको प्रशुति गृहबाटै नवजात शिशु हराएपछि अस्पतालमा तनाव भएको छ।
वीरगञ्ज उपमहानगरपालिका १ की आशादेवी पासवान सुत्केरी व्यथा लागेर शुक्रबार बिहान अस्पताल पुगेकी थिइन् । बिहान सात बजे अस्पताल भर्ना भएकी आशादेवीले १० : ४० मा छोरालाई जन्म दिइन् ।
छोरा जन्मिएपछि अस्पतालले नर्सको सहायतामा प्रशुति कक्षबाट आशादेवीलाई छोरासहित गाइनो विभागमा पुर्याइयो । गाइनो वार्डमा राखेपछि आशादेवी र बच्चाको हेरचाहका लागि सासु रमावतीदेवी पासवान बसेकी थिइन् ।
त्यत्तिबेला करिब ११ बजेको थियो । सोही बेडमा एक अधवैसे महिला पुगेर रमावतीदेवीसँगै गफ गर्दै बच्च खेलाउन थालिन् । बच्चालाई पाउरोटी र दूध खुवाउनु पर्छ भन्दै सुझाव दिइन्।
उनले नै रमावतीदेवीलाई ५० रुपैयाँ दिएर दूध र पाउरोटी ल्याउनु म बच्च हेर्छु भनेर बाहिर पठाइन् । आफ्नो नातीलाई दूध र पाउरोटी किन्न रमावतीदेवी बाहिर गएकै समयमा ति महिला बच्चा लिएर फरार भइन् । यो विषयले वीरगञ्जको नारयणी उपक्षेत्रीय अस्पतालमा तनाव भएको छ।
अस्पतालका मेडिकल सुपरिडेन्डेन चित्तरञ्जन शाहले घटना दुःखद् भएको बताए । ‘यस्तो घटना यस अघि कहिल्यै भएको थिएन्’, शाहले भने, ‘घटनाको अनुसन्धानमा प्रहरी प्रशासन र हामी लागि परेका छौँ ।’
शाहले अस्पताल प्रशासनको भन्दा पनि शिशु हराउनुमा अभिभावकको लापरबाही देखिएको आरोप लगाए। शाहले अभिभावकलाई दोष लगाए पनि अस्पतालमा राखिएका ७ वटा सिसी क्यामेरा सबै बिग्रिएको देखिएको छ ।
अस्पतालबाट जन्मेको दुई घण्टा बित्न नपाउदै शिशुको चोरी भएपछि शुक्रबार दिनभर अस्पताल क्षेत्र तनावग्रस्त भयो। वीरगन्ज उपमहानगरपालिका १ छपकैयाकी आशादेवीले अस्पतालमा शुक्रबार बिहान पौने ११ बजे जन्माएका शिशुको बेडबाटै चोरी भएपछि तनाव चुलिएको हो।
नर्सहरुले प्रसुती कक्षबाट आशादेवीलाई नवजात शिशुसहित अस्पतालको गाइनो विभागको बेड नम्बर ६५ मा राखेका थिए। गाइनो वार्डमा राखेपछि सुत्केरी महिलाका श्रीमान मुकेश पासवान पैसाको जोरजाम गर्न उद्योग तर्फ गएका थिए।
दूध र पाउरोटी किन्न बच्चाकी हजुरआमा रमावती अस्पताल बाहिर निस्किएका बेला ती महिला बच्चा लिएर फरार भएको अस्पतालका मेसु डाक्टर चित्तरन्जन साहले बताए।
नर्सहरुले आमा र बच्चालाई गाइनो वार्डमा ल्याएर राखेपछि एक जना नचिनेकी महिला आएर बच्चालाइ काखमा लिएर खेलाउन थालेकी थिइन्।
बच्चाकी हजुरआामा रमावती देविले भनिन्, ‘त्यही महिलाले नै ५० रुपैयाँ दिएर दूध पाउरोटी किनेर ल्याउन भनेपछि म बाहिरको पसल तिर गएँ, १० मिनेटमै फर्केर आउँदा बच्चा बेडमा थिएन ।’
उनले थपिन् ,‘पातलो शरीर थियो उसको, रातो रंगको सारी र पहेलो रंगको सल ओढेकी थिइन्, बच्चा जन्मिएको बेलादेखि नै त्यो महिला यताउता गर्दै आएकी थिइ, उसले नर्ससंग पनि कुरा गरेको मैले देखेको थिए ।’
अस्पतालबाट चोरी भएका बच्चाका अभिभावक र आफन्तले अस्पतालका नर्स र डाक्टरको मिलोमतोमै बच्चा चोरी भएको आरोप लगाउँदै शुक्रबार दिउँसो अस्पताल परिसरमा प्रदर्शन गरेका छन्। पीडित परिवारका आफन्तले अस्पतालको मुलद्वार अगाडि टायर बालेर सडक पनि अवरुद्ध पारेका थिए।
‘मेरो बच्चा अस्पताल भित्रैबाट गायब भएको हो, त्यसैले अस्पतालले नै खोजेर दिनुपर्छ’, बच्चाका बुबा मुकेशले भने ,‘होइन भने म यहाँका कुनैपनि डाक्टर र नर्सहरुलाइ चयनले बस्न दिन्न ।’
यसैबिच बच्चा चोरी भएको घटनामा सोधपुछ गर्नका लागि प्रहरीले अस्पताल परिसरबाट चार जना महिलालाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखेर अनुसन्धान भइरहेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
‘शंका लागेर चारजना महिलालाई नियन्त्रणमा लिएका छौं’, उनले भने, ‘ती मध्ये दुई जनाको गतिविधी शंकास्पद देखिएको छ, हामीले सोधपुछ गरिरहेका छौँ ।’अस्पतालबाट बच्चा गायब भएको खबर पाए लगत्तै वीरगन्ज नगर क्षेत्रका नाकाहरुमा प्रहरीको चेकजाँच र निगरानी बढाइएको छ।
घटनाका बारेमा अनुसन्धान गर्न अस्पतालका चारजना नर्स, दुईजना पियन, दुईजना सफा गर्ने र दुईजना गेटपालेलाइ प्रहरी कार्यालयमा सोधपुछ गर्ने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक जोशीले बताए।