गाविस सचिव काम छोडेर आन्दोलनमा
प्यूठान : स्थानीय तहमा काम गर्दा तलवको शतप्रतिशत प्रोत्साहन भत्ताको माग राख्दै प्यूठानका गाविस सचिव आन्दोलनमा उत्रिएका छन् ।
शुक्रबार स्थानीय विकास अधिकारी इन्द्रप्रसाद वस्याललाई ज्ञापनपत्र बुझाउँदै सचिवले माग पूरा नहुँदासम्म गाविसको कामकाज ठप्प पार्ने चेतावनी दिएका हुन् ।
गत वैशाख ७ गते क्याविनेटबाट चालु आर्थिक वर्षदेखि कार्यसम्पादन सूचकको आधारमा सचिवलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेपनि अझैसम्म कार्यान्वयन नभएको सचिवले गुनासो गरेका छन् ।
स्थानीय निर्वाचन तत्काल हुनुपर्ने, प्रदेश सेवामा खटाउँदा कम्तिमा एक श्रेणी बढुवा गरी समायोजन गर्नुपर्ने, शैक्षिक योग्यताका कारण बढुवा गर्न नमिल्ने कर्मचारीलाई ‘गोल्डेन ह्याण्डचेक’बाट तहवृद्धिसहितको अवकाश योजना ल्याउनुपर्ने लगायत माग राख्दै सचिव आन्दोलित भएका हुन्।
जिल्लाका ४२ वटै गाविसका सचिवले जिविसमा छाप बुझाएर काम ठप्प पारेको गाविस सचिव हकहित संरक्षण केन्द्र नेपाल जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष पुष्पराज थापाले जानकारी दिए।