चुनाव नगरे दाहाल परिवर्तनविरोधीः नेपाल
काठमाडौं: एमाले नेता माधवकुमार नेपालले आगामी माघभित्र सबै तहको निर्वाचन नभए प्रधानमन्त्री पुष्पकमल दाहालको उपादेयता समाप्त हुने र उनी परिवर्तनविरोधी प्रमाणित हुने बताएका छन् ।
प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसका अवसरमा राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । 'यो वा ऊ व्यक्तिको कुरा सुनेर, यो वा ऊ व्यक्तिको मुख हेरेर केही हुँदैन', नेपालले भने, 'समयमा प्रधानमन्त्रीजीले संविधान कार्यान्वयन गर्न सक्नुभएन भने उहाँको उपादेयता सकिन्छ । चुनाव नभए उहाँ परिवर्तनको बाधक भएको प्रमाणित हुन्छ ।'
नेपालले अहिले सबैभन्दा ठूलो चुनौती संविधान कार्यान्वयन रहेको भन्दै देशमा शान्ति र स्थायित्व प्राप्त गर्न सबै दल लाग्नुपर्ने बताए । ०७४ माघ ७ संविधान कार्यान्वयनको लक्ष्मणरेखा भएको भन्दै उनले त्यसलाई पार गर्न नहुने बताए । '०७४ भित्र हामीले तीन तहका निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारी छ', उनले भने, 'त्यो पूरा भएन भने समस्या हुन्छ ।' उनले निर्वाचन कसले मान्छ कि मान्दैन भनेर सोध्न नभई आवश्यकता के हो भन्नेमा ध्यान दिनसमेत प्रधानमन्त्रीलाई सुझाव दिए ।
प्रेस चौतारी नेपालले स्थापना गरेको हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार यस वर्ष कृष्णमुरारि भण्डारी, अग्निशिखा पत्रकारिता पुरस्कार रघु मैनाली, वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार भूषण यादव पर्सा र मन्दिरा थापा दोलखा तथा डेकेन्द्र थापा पत्रकारिता पुरस्कार जनक नेपाल बाँके र सिद्धराज राई धनकुटालाई प्रदान गर्ने निर्णय गरिएको छ ।