जथाभावी पर्चा र पम्प्लेट टाँस्ने दुई महिला पक्राउ : १५ हजार जरिवाना
काठमाडौं : जथाभावी पर्चा र पम्प्लेट टाँसेर सहर कुरुप बनाएको आरोपमा महानगरपालिकाले दुई महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महिला उद्यमी संस्थाका कर्मचारी भवानी राणा र रिता भण्डारी छन् । राणा र भण्डारीले राजधानीको भृकुटीमण्डप भित्र पर्चा र पम्प्लेट टाँसेका थिए । महानगरपालिकाले पक्राउ परेका राणा र भण्डारीलाई १५ हजार जरिवाना तिराएको छ।
सँगै महानगरपालिकाले उनीहरुलाई आइन्दा कहिल्यै पर्चा पम्प्लेट टाँस्ने कार्य नगर्ने कागज गराएर छोडिदिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।