लोडसेडिङ अन्त्यले मात्रै नेपाल उज्यालो हुँदैनः मन्त्री शर्मा
विर्तामोडः उर्जामन्त्री जनार्दन शर्माले अहिलेको लोडसेडिङ मुक्त गर्ने अभियानले मात्र नेपाल उज्यालो नहुने बताएका छन्। झापाको विर्तामोडमा तीन दर्जन संस्थाहरुले गरेको अभिनन्दन कार्यक्रममा मन्त्री शर्माले देशका अधिकांश भागमा अहिले पनि विद्युत आपूर्तिको पूर्वाधार नपुगेकाले अझै धेरै काम गर्न बाँकी रहेको बताए।
शर्माले भने,‘अझै पनि देशका करिब ४० प्रतिशत स्थानमा विजुली पुग्न सकेको छैन। हामीले त्यतातिर पनि ध्यान दिनुपर्छ।’ उनले ‘नेपालको पानी जनताको लगानी’ मा जनतालाई आकर्षण गर्न उर्जा मन्त्रालयले काम गरिरहेको बताए। प्रत्येक प्रदेशमा एक/एक वटा योजना छनौट गरेर जनतालाई लगानी गर्न आकर्षित गर्ने काम भइरहेको मन्त्री शर्माले बताए।
उर्जा मन्त्रालयका सचिव उपाध्यायले कर्मचारीहरुले गर्नै पर्ने काम गरेको बताउँदै जनताको साथ पाए छिट्टै नेपाललाई सधैका लागि उज्यालो बनाउन सकिने बताए । उनले भने, ‘विजुली नदिँदा पनि ग्राहकले खुरु खुरु पैसा तिर्नु, विजुली पनि नदिनु, जरिवाना पनि तिर्नु सर्वसाधारणलाई अन्याय भइरहेको थियो।’
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ अन्त्य गर्नका लागि विद्युत वितरणको व्यवस्थापन र आयात प्रक्रियाले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गरेका हौं। ठूलो काम गरेका होइनौं। तपाईंहरुले देखाएको यो मायाले थप काम गर्न हौसला थपेको छ।’ उनले लोड सेडिङ अन्त्य गर्ने काममा प्राधिकरणका कर्मचारी ठूलो सहयोग गरेको बताए।
चारपानेको टायम स्क्वायर पार्टी प्यालेसमा आयोजित सभामा मन्त्री शर्मा, उर्जा मन्त्रालयका सचिव अनुप उपाध्याय र नेपाल विद्युल प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई झापाबासीले अभिनन्दन गरेका थिए।