बढ्दै छ क्यान्सर रोगविरुद्ध चेतना

बढ्दै छ क्यान्सर रोगविरुद्ध चेतना

क्यान्सर अब असाध्य रोग रहेन। प्रारम्भिक अवस्थामै पहिचान हुन सके क्यान्सरलाई जित्‍न सम्भव छ। यसका लागि खाँचो छ- रोगप्रतिको सचेतना, जागरुकता र समयमै परीक्षण।

अन्‍नपूर्ण पोस्ट्ले शनिबार क्यान्सरविरुद्ध दिवसका अवसरमा मुलुकका प्रतिष्ठित क्यान्सर रोग विशेषज्ञहरु र स्वास्थ्यमन्त्री गगनकुमार थापाको उपस्थितिमा यो रोगविरुद्ध सर्वसाधारणको तहमा जागरण कसरी बढाउने र उपचार कसरी सहज र सुलभ बनाउने भन्‍ने विषयमा राउण्ड टेबलको आयोजना गरेको थियो।

क्यान्सरविरुद्ध जागरण साइकल र्‍यालीकै मौका पारेर गरिएको राउण्ड टेबल क्यान्सर केयर फाउण्डेशनकी अध्यक्ष क्यान्सर रोग विशेषज्ञ डा.सरिता घिमिरेले सहजीकरण गरेकी थिइन्। प्रस्तुत छ, राउण्ड टेबलमा सहभागी स्वास्थ्यमन्त्री थापा र क्यान्सर रोग विशेषज्ञहरुले अभिव्यक्त गरेका धारणा:


उपकरण होइन, योजना अभाव
स्वास्थ्यमन्त्री,गगन थापा
चेतना र उपलब्धता प्रमुख पाटो हो। उपलब्धता भएको ठाउँमा पनि क्यान्सर रोगी छन् तर उनीहरूले स्वास्थ्य परीक्षण गराएको पाइँदैन। मलाई क्यान्सर हुँदैन, अरूलाई मात्र हुन्छ भन्ने प्रवृत्ति देखिएको छ। विकट ठाउँमा जति चेतना फैलाए पनि गाउँमा भएको स्वास्थ्य चौकीमा चेकजाँचमा समस्या छ। चेतना र उपलब्धता दुबैलाई सँगसँगै लैजानुपर्छ। यो दुबै काम गर्न मन्त्रालयले ५ सय स्थानमा आधारभूत प्याकेज पुर्‍याउने काम सुरु गरेको छ। क्याम्पियनहरू कसरी लैजाने भन्ने योजना बनिरहेको छ।

भारतमा योग नगरे १० कक्षाको परीक्षामा सामेल हुन नपाउने नीति ल्याइएको छ। अर्को कुरा जीवनशैली पनि हो। नियमित शारीरिक अभ्यास, खानपान, दुव्र्यसनीबाट टाढा र नियमित स्वास्थ्य परीक्षण गर्नुपर्छ। अब जनचेतनाको कुरा मात्र छैन, आफैं पनि सचेत हुनुपर्ने कुरा हो। गर्नुस् गर्नुस् भनेर भन्ने मात्र हुँदैन रहेछ। 'ल इन्फोर्समेन्ट' गर्नैपर्ने रहेछ। मन्त्रालयले चैत १ गतेदेखि खुला ठाउँमा चुरोट बेच्न नपाउने नियम कडाइका साथ लागू गर्दै छ।

अर्को पाटो संरचनामा परिवर्तन गर्नुपर्ने देखिएको छ। यहीअनुसार काठमाडौंमा १० वटा ग्रामीण स्वास्थ्य प्रवर्धन केन्द्र सुरु गर्दै छौं। परम्परागत क्लिनिकभन्दा यो फरक हुनेछ। काठमाडौंको मैजुबहालबाट पहिलो क्लिनिक सुरु हुँदै छ। केन्द्रले आफ्नो क्षेत्रभित्रको सबै विरामीलाई सेवा दिन्छ। खानेपानीको परीक्षण, फुड मार्ट लगायत सबै पक्षको यसले निगरानी गर्नेछ।

स्कुलहरूसँग मिलेर जनचेतना फैलाउने काम हुनेछ। महँगो औषधिका विषयमा गहन छलफल भइसकेको छ। तुरुन्तै हामी यसमा एक्सन लिँदै छौं। जुन नीति नियमले जनताको स्वास्थ्यलाई प्रतिकूल असर पारिरहेको हुन्छ, त्यो नीति नियमको के काम ? त्यस्ता नीति नियम परिवर्तन गर्ने अन्तिम चरणमा हामी छौं। यहाँ उपकरणभन्दा पनि स्पष्ट योजनाको अभाव छ। उपकरण नपाएकै कारण राम्रो उपचार दिन सकेनौं भन्ने अवस्था अब रहँदैन।

उपकरणका लागि जति पैसा चाहिए पनि उपलब्ध गराउने सक्ने क्षमता हामीसँग छ। भर्खरै वीर अस्पताललाई ५८ करोड रुपैयाँ उपकरणका लागि उपलब्ध गराइसकेको छु। योजना लिएर आउनुस्, करोड हैन अर्बको काम गर्न सक्ने हैसियत सरकारसँग छ। मेडिकल शिक्षाले स्वास्थ्य क्षेत्रमा ठूलो प्रभाव पारेको म स्वीकार गर्छु।

मेडिकल शिक्षामा सबै कुरा जोडिएको छ। शिक्षा नीतिमा गर्नुपर्ने आवश्यक परिवर्तनको तयारी भइरहेको छ। लामो समयदेखि लथालिंग रहेको अवस्थालाई सुधार्न केही समय लाग्छ। सुधारका सबै पक्षमा गहन छलफल र बहसमात्र होइन कार्यान्वयनको तहमा हामी पुगेका छौं। परिणाम देखिन त केही समय पर्खनै पर्छ।

००
विकेन्द्रित स्वास्थ्य सेवा
डा. तारा मानन्धर
नेपालको पहिलो रेडियसन अंकोलोजिस्ट

सन् १९७९ मा मैले क्यान्सर विशेषज्ञ बनेर नेपाल आउँदा कोही पनि विशेषज्ञता प्राप्त व्यक्ति थिएन। हिजोआज प्रशस्त विशेषज्ञ उत्पादन भएका छन्। मैले त्यसबेला १० वर्षसम्म सामान्य रूपमा स्रोतसाधनबिना काम गरेँ। सरकारले २०४८ सालमा वीर अस्पतालमा रेडियोथेरापी मेसिन ल्याएपछि थप सेवा प्रभावकारी बनाउन सकिएको थियो।

नेपालमा रेडियसन अंकोलोजिस्ट प्रशस्तै भए पनि क्यान्सरको उपचार काठमाडौंमा मात्र हुने गरेकाले यसलाई देशव्यापी बनाउनुपर्छ। पछिल्लो समय अस्पतालहरूमा नयाँ उपकरण थपिएको छ, उपकरण थपिए पनि उपचार झन् महँगो भएको छ।

यसलाई सरकारले नियन्त्रण गर्नुपर्छ। क्यान्सरलाई प्राइमरीसर्जरी, रेडियोथेरापी र किमोथेरापी गरी तीन चरणमा गर्नुपर्ने हुन्छ। आठ महिनासम्म निरन्तर विरामीले अस्पताल धाउनुपर्ने भएकाले ठूलो समस्या हुन्छ। त्यसका लागि क्यान्सर अस्पताल विकेन्द्रित हुन जरुरी छ।

नेपालमा उपचार सम्भव छ भन्ने सन्देश सबैले दिनुपर्छ। त्यसका लागि उपचारबाट निको भएका कथाहरू बाहिर आउनुपर्छ। नीतिगत रूपमा पनि यसलाई व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ।

विदेशमा भन्दा नेपालमा उपचार सस्तो भएको भन्दा मसँग हङकङबाट आएर किमो लिने गरेको उदाहरण पनि छ। त्यसैले यसलाई व्यवस्थित गर्न क्यान्सर उपचारलाई सरकारले निःशुल्क गर्नुपर्छ। अरू नभए पनि रेडियोथेरापी, किमोथेरापीमात्र निःशुल्क भए विरामी र आफन्तमा हौसला बढ्ने र विरामीमा साहस बढ्ने छ।
००

नीति निर्माण महत्वपूर्ण
डा. प्रकाशराज न्यौपाने
अध्यक्ष विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन

क्यान्सर उपचारका क्षेत्रमा म लागेको करिब ३० वर्ष भयो। क्यान्सरका क्षेत्रमा लाग्नुपर्छ, केही गर्नुपर्छ भन्नेमध्येको एकजना म पनि हुँ। सुरुदेखि नै मैले यस क्षेत्रमा चिन्ता र चासो राख्दै आएको हुँ। म भरतपुर क्यान्सर अस्पतालमा कर्मचारी हुँदादेखि धेरै अभावको अवस्थामा काम गर्दादेखि मैले क्यान्सरको उपचारलाई गतिलो बनाउनुपर्छ भनेर कोसिस गर्दै आएको छु।

आज यो क्यान्सर दिवस मनाइरहँदा यस रोगका बारेमा कुरा हुनु स्वभाविक हो तर त्योभन्दा महत्वपूर्ण कुरा नीति निर्माणको हो। नीति निर्माणमा लथालिंग भयो, भद्रगोल भयो भन्ने कुरा सञ्चारमाध्यममा आउँछ, सायद त्यो हाम्रो अपेक्षा बढी भएकाले पनि होला।

यतिबेला यो राउन्ड टेबलमा नीति निर्माणको तहमा बस्नुभएका मन्त्री गगनकुमार थापा हुनुहुन्छ। उहाँले हिजो 'औषधि पाएनौं' भन्ने गुनासोप्रति 'हिजो के पाएको थियो त? ' भनेर दिएको जवाफ निकै स्मरणीय ठानेको छु। घत लाग्दो पनि छ।

हरेक कुरालाई नकारात्मक रूपमा मात्रै केलाउने मानसिकता बदलिनुपर्छ। हो, हिजो देशैभर औषधि थिएन। सिटामोलसम्म नपाउने अवस्था थियो। आज कुनै एक अस्पतालमा औषधि छैन भनेर समाचार आउनु सकारात्मक हो। किनकि हिजो देशैभर नहुँदाको अवस्थाबाट आज एक सानो अस्पतालमा पुगेको छ।

आज औषधिभन्दा माथि देशैभर क्यान्सरको उपचारको चिन्तामाथि बहस सुरु भएको छ। हिजो केही पनि थिएन। २५।३० वर्षअघि क्यान्सरका क्षेत्रमा केही पनि भएको थिएन। क्यान्सर कतिले त थाहै पनि नपाउने अवस्था थियो। २० वर्षको यो अवधिमा आज हाम्रो चेतनाको स्तर, शिक्षाको स्तर, भौतिक पूर्वाधारको अवस्था, जनशक्तिको संख्यामा वृद्धि भएको छ।

क्यान्सरमा धेरै हुन बाँकी भए पनि राज्यले कम्तीमा सस्तो उपचारका लागि तीनवटा अस्पताल स्थापना गरिसकेको छ। विपी कोइराला, भक्तपुर क्यान्सर र नेपालगन्जको खजुरा अस्पतालबाट क्यान्सर रोगीका लागि सकेसम्म उच्च स्तरको सस्तो सेवा दिने प्रयास भएको छ।

हुनेखाने वर्गका लागि निजी क्षेत्रमा सुविधासम्पन्न अस्पताल पनि खुलेका छन्। भौतिक पूर्वाधारका क्षेत्रमा यो २० वर्षमा हामी निकै माथि उक्लिएका छौं। क्यान्सरका क्षेत्रमा भएको यो प्रगति हाम्रोजस्तै आर्थिक अवस्था भएको देशको तुलनामा निकै माथि हो। यस्तो प्रगति कैयौं देशले गर्न सकेका छैनन्।

जनशक्तिका क्षेत्रमा पनि हामी निकै माथि उक्लिसकेका छौं। २०।२५ वर्षअघि क्यान्सर रोगको उपचारसम्बन्धी जनशक्ति खोज्दै हिँड्नुपथ्र्यो। आज त्यो अवस्था छैन। अहिले रेडियोलोजी अंकोलोजिस्टहरूले जागिर नपाउने अवस्था छ। भलै मेडिकल र सर्जिकल अंकोलोजिस्टको जनशक्ति पुगेको छैन। रेडियोलोजी अंकोलोजिस्टमा हामी आत्मनिर्भर भएका छौं। यो जनशक्ति अधिकांश नेपालकै उत्पादन हो।

भौतिक पूर्वाधारका क्षेत्रमा हामीसँग भएका तीनवटा सरकारी अस्पताल र अन्य निजी अस्पतालाई अझ विस्तार गर्‍यौं भने चाँडै हामी देशव्यापी सेवा दिनसक्ने अवस्थामा पुग्छौं। हामीसँग २० वर्षको अनुभव भएकाले छुट्टै क्यान्सर इन्स्टिच्युटको खाँचो छ। विपी कोइराला क्यान्सर अस्पतालाई त्यस रूपमा विकास गर्न सके क्यान्सरको क्षेत्रमा निकै ठूलो उपलब्धि हुने छ।

तेस्रो कुरा मेसिनहरू निकै महँगा छन्। हामीसँग ती उपकरण कमै छन्। अनुदानमा आएका उपकरण पुराना छन्। तिनलाई प्रतिस्थापन गर्न विगतमा सरकारले पैसा दिएन। एकाध वर्षयता सरकारले त्यता ध्यान दिएको छ। दाताले पनि उपकरण दिइरहेका छन्। अहिले भरतपुरमा निकै अत्याधुनिक उपकरण छन्। अझै केही उपकरणको खाँचो छ, जुन सरकारले पूरा गर्न कसर बाँकी राख्दैन भन्नेमा हामी विश्वस्त छौं।

व्यवस्थापन पक्षमा केही त्रुटि छन्। जहाँ सानो सञ्चालक समिति छ, त्यहाँ काम चुस्त दुरुस्त भएको छ। जहाँ धेरै राजनीतिक नियुक्ति हुन्छ त्यहाँ काम गर्न गाह्रो छ। किचलो छ। विपी कोइरालामा १४ जना सञ्चालक समितिमा ९ जना मनोनीत हुन्छन्। त्यसमा राजनीतिक गन्ध आउँछ।

यसले काम गर्दा एकमत हुन सक्दैन। त्यसले कार्यसञ्चालनमा बाधा पुर्‍याएको अनुभव गरेको छु। समिति चुस्त बनाउन ऐन, नियम संशोधन गरेर भए पनि यसलाई सुधार्नुपर्ने खाँचो छ।

थापा मन्त्री हुनुभएपछि सञ्चालक समितिमा बस्न कम्तीमा मापदण्ड हुनुपर्छ भन्ने कुरा लागू गर्नुभएको छ। यसले थोरै भए पनि सुधारको सुरुवात भएको छ। मापदण्ड बनेकाले देशैभरका स्वास्थ्य संस्थामा केही सुधारको अपेक्षा गर्न सकिन्छ। राजनीतिक नियुक्ति भए पनि मापदण्डले योग्य मान्छे आउने आशा गर्न सकिन्छ। आज क्यान्सर रोग उपचारको अवस्था जसरी सुधार हुँदै गएको छ।

हिजोसम्म उच्च र मध्यम वर्गका मानिस उपचार गर्न सबै विदेश जान्थे। निम्न वर्गको विरामी चाहेर पनि जान सक्दैनथे। आज निम्न वर्गकालाई उपचारमा ल्याउन र मध्यम वर्गका अधिकांशलाई नेपालमै रोक्न सक्ने अवस्था बनेको छ। एकाध नेता उपचारका लागि बाहिर जाँदैमा देशै बाहिर गएको होइन।

देशको वातावरण सुध्रँदै गएकाले अझ उन्नति हुने आशा गर्न सकिन्छ। हिजो क्यान्सरसम्बन्धी डाक्टर बन्न कोही चाहँदैनथ्यो, आज पढ्नेको संख्या बढेको छ। क्यान्सरमा गर्न धेरै बाँकी छ। यद्यपि जति हुँदै गएको छ, त्यो अवस्था पनि कम आशालाग्दो होइन। मन्त्रालयले ल्याउँदै गरेको नीतिले भोलि पक्कै सकारात्मक भूमिका खेल्ने आशा गर्न सकिन्छ।

००

जनचेतना निरन्तर प्रक्रिया
डा. राजेन्द्र बराल
रेडियसन अंकोलोजिस्ट, भक्तपुर क्यान्सर अस्पताल

चार वर्षदेखि निरन्तर रूपमा क्यान्सर सचेतनाबारे सक्रिय भूमिका खेल्दै आएको अन्नपूर्ण मिडिया नेटवर्क र क्यान्सर केयर सेन्टरले यो मौका जुराइदिने गरेकोमा धन्यवाद। क्यान्सर दिवसको अवसरमा मात्रै होइन, अब हरेक दिनलाई विश्व क्यान्सर दिवस र हरेक दिनलाई विश्व नो टोबाको डेका रूपमा मनाउन जरुरी भएको मेरो धारणा छ।

किनकि जनचेतना निरन्तर प्रक्रिया हो। हामी त्यसमा लागि पनि रहेका छौं। हरेक दिन यसबारे सचेत हुन जरुरी पनि छ। व्यक्तिगत रूपमा म डाक्टर पनि हुँ र पीडित पनि हुँ। मेरो घरमा नातागोता गरेर ५२ जनालाई क्यान्सर छ। ५२ जनामा आमा ३५/४० वर्षअघि बित्नुभयो।

डाक्टरको हैसियतले मैले कसैलाई पनि उपचारका लागि भारत वा अन्यत्र जान सल्लाह दिएको छैन। सबैको उपचार नेपालमै गरिएको छ। अन्यत्रकोजस्तै उपचार यहाँ सम्भव भएरै त्यसो गर्न सुझाव दिएको हुँ। यो कुरा मैले जानेर मात्रै हुँदैन, अरूले पनि जान्नुपर्‍यो।

केही समय पहिलासम्म बोनम्यारो ट्रान्सफर गर्ने सुविधा थिएन। एकदुई कुरा थप्न र सुधार्नुपर्ने होला तर ९९ दशमलव ९९ प्रतिशत उपचार अब नेपालमै उपलब्ध छ, सम्भव छ। क्यान्सर उपचारमा संलग्न सबै डाक्टर असाध्यै दक्ष र निपुण हुनुहुन्छ, तर मौका पाउने कुरा हो। 'हामी सक्षम छौं' भन्ने खालको सन्देश जनमानसमा जान जरुरी छ। संसारभर गरिने उपचारको गुणस्तर उही हो। यद्यपि मेसिनको राम्रो प्रबन्धको खाँचो छ।

म मुम्बईमा पढ्दा हरेक साता किमो लगाउन पनि नेपालका विरामी त्यहाँ पुग्थे। अहिले त्यो अवस्था शून्यजस्तै भएको छ। म कार्यरत भक्तपुर क्यान्सर अस्पतालको कुरा गर्ने हो भने मेसिनका कारण रेडियसनको समय पाउन एउटा विरामीलाई दुई महिना पर्खनुपर्ने बाध्यता छ। यसमा सुधार हुनसक्यो भने हामी निकै सक्षम छौं जस्तो मलाई लाग्छ।

क्यान्सर भएका र निको भएका विरामीको पनि क्यान्सरबारे सचेतना जगाउन ठूलो भूमिका हुन्छ। अहिले क्यान्सर भनेको सामान्य रोग भइसक्दा पनि मानिसमा ठूलो त्रास छ। विरामी र निको भएकाले खुलेर आफ्ना अनुभव राखिदिने हो भने समाजका लागि निकै ठूलो सहयोग हुने छ। कर्ण शाक्यले खुलेआम भन्नुभएको छ। यसले निकै ठूलो सन्देश दिने काम गर्छ। क्यान्सर भनेको धेरै ठूलो विरामी हो भन्ने भ्रम चिर्न यस्ता सन्देश आउन जरुरी छ।

सरकारले क्यान्सर उपचारका लागि एक लाख रुपैयाँ दिने भन्ने कुरा सह्रानीय छ। प्रोटोकल बनाउँदा सबैलाई सहभागी बनाएको भए अझ राम्रो हुने थियो। अब सरकारले ७५ वटै जिल्लामा क्यान्सर उपचार सेवा विस्तार गर्न जरुरी छ। त्यस्तै उपचार खर्चभन्दा पनि स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन आवश्यक छ।
००

क्यान्सर रोगीको अभिलेखीकरण
डा. मीरा थापा
विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठनले भर्खरै सार्वजनिक गरेको तथ्यांकमा १.१ प्रतिशत विश्वमा क्यान्सरबाटै मृत्यु हुने गरेको छ। नयाँ क्यान्सरको निर्देशिका सार्वजनिक गरेको छ। यसको समाधानका लागि सचेतन, श्रव्यदृश्यबाट समाधान र व्यवस्थापन नै मुख्य हो। राज्यले समाधानका उपायहरू अपनाउनुपर्छ।

जनचेतना प्रभावकारी बनाउनुपर्छ। कृषि क्षेत्रमा प्रयोग गर्ने मल, विषादीका कारण पनि क्यान्सर बढी हुने गरेकाले यसको समाधानमा पहल गर्नुपर्ने हुन्छ। खासगरी क्यान्सरको तथ्यांक नै नराखिने गरेको र केही अस्पतालमा मात्र राखिएको तथ्यांकले नेपालमा क्यान्सरको अवस्था पत्ता लगाउन समस्या भएको छ।

नेपालबाट क्यान्सरको रिपोर्ट नै आउँदैन। त्यसैले यसको प्रभावकारी समाधानका लागि योजना बनाउन समस्या भएको छ। विशेष गरी समाधानका उपाय र अस्पताल आधारित क्यान्सर रोगीको अभिलेखीकरण गर्नु जरुरी छ।
००

क्यान्सरले ज्यान गुम्दैन
डा. बालकृष्ण थापा
न्यूरो सर्जन, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल


क्यान्सर उपचारका क्षेत्रमा हामी यतिबेला विश्वमा नराम्रो अवस्थामा छैनौं। न्युरो सर्जरीमा ब्रेन क्यान्सर, न्युरोलोजिकल ट्युमरहरूको मात्रै छुट्टै विशेषज्ञ हुनुपर्छ भन्ने मान्यताका साथ क्यारियरको सुरुवात गर्ने गरी म काठमाडौं छोडेर भरतपुर गएको हुँ। हाम्रा वरिष्ठ साथीहरूलाई पनि विश्वास थिएन।

'क्यान्सर अस्पतालमा पनि कहीँ न्युरो सर्जरी हुन्छ ? ' भन्ने गरिन्थ्यो। सन् २००९ सम्म आइपुग्दा के थाहा भयो भने दक्षिणपूर्व एसिया क्षेत्रमा हामी पहिलो रहेछौं, जसले न्युरोअंकोलोजीको पेसा नै छुट्टै सुरु गर्‍यो। त्यो कुरा टाटामेमेरियलमा अली अजगर भन्ने न्युरो सर्जनले सोचेका रहेछन् कि 'म दक्षिणपूर्व एसियामा पहिलो न्युरो सर्जन हुन्छु' भनेर। उनले वल्र्ड कंग्रेसमा मलाई भेट्दा छक्क परे। किनकि उनीभन्दा चार वर्षअघि नै त्यो हामीले सुरु गरिसकेका थियौं।

आजका दिनसम्म हामीले ११ सय ब्रेन ट्युमरका विरामीको अप्रेसन गरिसकेका छौं (विथ १ दशमलव ७ प्रतिशत मोटालिटी इन ३० डेज)। यसलाई अन्तर्राष्ट्रिय तथ्यांकसँग तुलना गर्दा हामी नराम्रो अवस्थामा छैनौं। मैले पढ्दा पनि ब्रेन ट्युमर निकै खतरनाक हो भन्ने पढेको थिएँ। सबै क्यान्सरमा ब्रेन क्यान्सर सबैभन्दा खराब हो भन्ने थियो, तर अनुभवले त्यो देखिएन।

चौथो स्टेजको ब्रेन क्यान्सर भएको विरामी हामीकहाँ सात वर्षसम्म फ्लोअपमा आएर पछि हामीले रिसर्जरी गर्‍यौं। ग्रट थ्रीको ब्रेन क्यान्सर चौथोभन्दा अतिकति राम्रो तर खराब भन्छौं। यस्ता विरामी ३६ महिना बाँच्छन् भन्ने थियो तर हाम्रोमा ११ वर्षदेखि फ्लोअपमा आउनुभएको उदाहरण छ। हामी नेपालको अनुभव विश्वमा देखाउन सक्ने अवस्थामा छौं।

यत हुँदाहुँदै पनि हामीसँग आवश्यक उपकरणको अभाव छ। विरामीका तर्फबाट हेर्ने हो भने क्यान्सर धनीलाई गरिब र गरिबलाई मार्ने रोग हो भन्ने त्रास अझै छ। तर अब त्यो अवस्था छैन। सरकारले उपचार खर्च दिने निर्णय गरेको छ। पक्कै यसको उपचार महँगो छ तर बजामा पाइने औषधि सस्तो बनाउन सकिने अवस्था छ। सक्कलीभन्दा नक्कली औषधि नियन्त्रण गर्नु जरुरी छ।

किमोथेरापी गर्ने औषधिको व्यवस्था अस्पतालभित्र हुनुपर्ने निजी आवश्यक छ। सरकारले देशैभर क्यान्सरको उपचार केही संस्थामा प्रारम्भिक र केहीमा पूर्ण उपचारको नीति अपनाउनुपर्छ। मेरो सेवाको अनुभवले धेरै क्यान्सर अब निको पार्न सकिन्छ। क्यान्सरकै कारण ज्यान गुमाउनुपर्ने अवस्था अब छैन।

शिक्षा नीतिमै ध्यान दिनुपर्छ

डा. जगदीशप्रसाद अग्रवाल
डिन, चिकित्सा शास्त्र, अध्ययन प्रतिष्ठान
जबसम्म हामी क्यान्सरको रोकथाममा जाँदैनौं, जबसम्म विकेन्द्रीकरणमा जाँदैनौं तबसम्म काठमाडौंमा जति सेन्टर खोले पनि यसबाट हामीले छुटकारा पाउन सक्दैनौं। स्वास्थ्यका अन्य सूचकमा हामीले अन्तर्राष्ट्रियस्तरबाट पुरस्कार पनि पाएका छौं। जनस्वास्थ्यमा हामीले फड्को मारेकैले त्यो पाएका हौं।

हामीले क्यान्सरको उपचार र रोकथाम गर्ने हो भने शिक्षामा ध्यान दिनैपर्छ। शिक्षा नीति बदल्नै पर्छ। हामी जहिले पनि काठमाडौंको वरिपरि बसेर कुरा गर्छौं। तर हामीले सोच्नुपर्ने भनेको तीन करोड नेपालीका बारेमा हो। हामीले चेतनशील स्वास्थ्यकर्मीलाई हामीले देशभर पुर्‍याउन सकेनौं। सोच्नसक्ने, बुझ्नसक्ने र जुनसुकै ठाउँमा सेवा दिनसक्ने जनशक्ति हामीले उत्पादन गर्न सकेनौं।

एउटा रोगको उपचार गर्दा अर्को रोगका बारेमा सोच्नसक्ने, विश्लेषण गर्नसक्ने क्षमताको स्वास्थ्यकर्मी हामीले उत्पादन गर्न नसकेको हो कि? सबैमा यो भाव नभएसम्म सय, पचास जनाले सोचेर पुग्दैन। स्वास्थ्य र शिक्षा मन्त्रालयबीचको समन्वय हुनैपर्छ। समन्वय नभएसम्म देशले चाहेको कुरा हामी पाउन सक्दैनौं।

यो देशमा २२ वटा मेडिकल कलेज छन्, ती सबैमा क्यान्सर एकाइ अनिवार्य गरिनुपर्छ। हरेकमा गाइनो, छाती, हड्डी, नाककान विभाग हुन्छ भने क्यान्सर पनि हुनुपर्‍यो। त्यसैले हामीले मेडिकल शिक्षाको नीतिमा परिवर्तन आवश्यक छ। हामीले मातृ मृत्युदर, अन्य घटाउन सक्यौं भने क्यान्सर पनि त्यस्तै हो। शिक्षण अस्पताल, महाराजगन्जले छुट्टै अस्पताल स्थापना गर्दै छ। रोकथाम, विकेन्द्रीकरण, स्वास्थ्य र शिक्षाको समन्वय भएन भने हामी कुरामै मात्र सीमित रहन्छौं।

उपकरण खरिदमा प्राथमिकता
विशेष पौडेल
रक्तक्यान्सर विशेषज्ञ, सिभिल अस्पताल

क्यान्सर रोगको उपचार नेपाल र अन्य मुलुकमा फरक छैन। नेपालमा उपचार हुन्छ भन्नेमा विश्वास दिलाउन नसकेकाले विरामी विदेश जाने गरेका हुन्। विरामीमा विश्वास दिलाए भारत र नेपालमा उपचार कुनै फरक नभएको र शुल्क पनि उस्तै हुन आउँछ।

परीक्षण गर्न अस्पतालमा सामग्री अभाव भएकाले सामान्य परीक्षण गर्न पनि विदेश जानुपर्ने बाध्यता छ, भारतको तुलनामा कमिसन र नाफाका कारण नेपालमा औषधिको मूल्य चार गुणा महँगो भएको छ। एक लाखले क्यान्सर उपचार सम्भव हुन्छ तर औषधि बढी महँगो भएकाले क्यान्सरप्रति नकारात्मक सन्देश फैलिएको हो।

भारतमा रगत बढाउने औषधि पाँच सय भारतीय रुपैयाँमा पाइन्छ, त्यही औषधि नेपालमा चार हजार पर्छ। त्यसैले महँगो मात्र नभएर सस्तो पनि औषधि हुने जानकारी नहुनु समस्या हो। सरकारले क्यान्सर बिमाको नीति तत्काल ल्याउनुपर्छ।

अमेरिकामा क्यान्सरको सबै उपचार सरकारले गर्छ किनकि त्यहाँ बिमा गरिएको हुन्छ। त्यसैले विरामी ढुक्क हुन्छ। सरकारले उपकरण खरिदमा प्राथमिकता दिनुपर्छ। संस्था दक्ष बनाएर विरामीलाई सस्तोमा सेवा दिन सकिन्छ।

विरामीलाई एक लाख रुपैयाँ दिनुभन्दा पनि संस्था सक्षम बनाए देशमै उपचार गर्न सहयोग पुग्छ। एक लाख रुपैयाँ दिए पनि उपचार कहाँ गर्ने भन्ने प्रश्नले क्यान्सर निर्मूल गर्न सहयोग पुग्दैन।

००
जनचेतना सकारात्मक
गंगा रिजाल,क्याप्टेन

नेपाल वायुसेवा निगमले एउटा जहाजबाट उडान सुरु गर्दा सबै भारतीय पाइलट र इन्जिनियर थिए। त्यो समयमा भारतीयले भन्थे, 'तुम नेपाली लोग कभी नही क्याप्टेन हो सकते हो।' तर अहिले सम्भव भएर हाल तीन दर्जन बढी जहाज नेपालीले नै सञ्चालन गर्दै आएका छन्।

क्षेत्र फरक भए पनि डाक्टरसँग पाइलटको पनि केही समानता हुने गरेको पाएँ। नेपालका डाक्टरहरूले आफ्नो सीमित स्रोतसाधनमा काम गर्दै आए पनि जनचेतना, उपचार सकारात्मक भएको क्यान्सरप्रति सोचको विकास भएको पाएँ। त्यसैले चिकित्सा क्षेत्र पूरा हुन समय लाग्ने भए पनि क्यान्सर रोग नियन्त्रण गर्न उत्साह बढ्नु आवश्यक भएको छ।

 

प्रभावकारी बिमाको खाँचो
डा. ज्योति रायमाझी
ब्रेस्ट सर्जन, सैनिक अस्पताल

जनचेतना महत्वपूर्ण कुरा हो। पहिला उमेर हुँदै गएपछि क्यान्सर हुन्छ भन्ने थियो। अहिले सानै उमेरमा पनि क्यान्सर देखिन थालेको छ। १०, २०, ३० वर्षमै क्यान्सर भएका विरामीहरू उपचारका लागि आउने गरेका छन्। काठमाडौं बाहिर पनि रोकथामको बारेमा जनचेतना फैलाउन जरुरी छ।

नेपालमै उत्कृष्ट स्तरको क्यान्सरको उपचार सम्भव भए पनि अझै पनि विरामीले उपचारका लागि भौतारिनुपर्ने अवस्था छ। विभिन्न परीक्षणका लागि विभिन्न अस्पताल धाउनुपर्ने बाध्यता छ। यसले विरामीलाई थप सकस भोगाएको पाइन्छ।

यो अवस्था कम गर्न एउटै छानोमुनि सबै उपचार सम्भव हुने अवस्था सृजना गर्नुपर्छ। प्रायः व्यक्तिले सिंगापुर राम्रो उपचारको थलोको रूपमा लिन्छन्। त्यहाँको विशेषता भनेको सरकारी अस्पताल सुविधा सम्पन्न हुनु हो। नेपालमा पनि यो वातावरण बनाउन सक्नुपर्छ।

सरकारी अस्पतालमा सबै सेवा उपलब्ध गराउने हो भने विरामी आत्तिनुपर्ने र धनराशि बाहिर जानुपर्ने अवस्था रहँदैन। आम नागरिकसम्म क्यान्सर जितेकाहरूको कथा जानुपर्छ। क्यान्सरका विरामीको तथ्यांक दुरुस्त राखिनुपर्छ। स्वास्थ्य बिमालाई देशैभर प्रभावकारी बनाइनुपर्छ।

००००००००
क्यान्सरले उमेर भन्दैन
शकुनी श्रेष्ठ
क्यान्सर विरामी तथा नर्स
म धादिङको दुर्गम गाउँमा जन्मेहुर्केकी छोरी हुँ। दुःखले पढेँ, दुःखले हुर्के। विवाह गर्ने कि पढ्ने भन्ने विषयमा घरमा निकै बहस भयो। मैले जबरजस्ती नर्सिङ पढेँ। त्यसपछि विभिन्न अस्पताल हुँदै अहिले पाटन अस्पतालमा कार्यरत छु। हामीले जहिल्यै पनि अरूका लागि समय दियौं। आफ्ना लागि समय निकाल्न सकेनौं।

नेवार समुदायमा हुर्केकी छोरी भएका कारणले पनि होला खानपान, रहनसहनको पनि असर होला। तैपनि काम गर्ने तौर तरिका र खानपानको व्यवस्थापन हुन नसक्दा हामीले आफूलाई आफैं समस्यामा पारिरहेका हुँदा रहेछौं।

भोको पेट र खाली दिमागले पनि हामीलाई रोगी बनाइरहेको हुन्छ भन्ने कुरा हामीले ध्यान दिनैपर्ने रहेछ। मैले सामान्य ग्यास्ट्रिक हो भन्ने लापरवाहीले आफूलाई समयमै चेकअप गराइनँ। अन्तमा अति भएपछि मलाई क्यान्सर देखियो।

उपचारका क्रममा एउटै अस्पतालमा सबै उपकरण नहुनु, महँगो औषधि पर्नु, विभिन्न विभागबीच समन्वय नहुनु समस्या देखेँ। यी समस्या हटाउन सम्बन्धित निकाय लाग्नैपर्छ। क्यान्सरले उमेर भन्दैन त्यसैले रोगी हुनुभन्दा पहिले नै स्वास्थ्य जाँच गराउनु जरुरी छ।

००००००

खाँचो समन्वयको
डा. भोलाराम श्रेष्ठ
प्रमुख, चिकित्सा महाशाखा, स्वास्थ्य मन्त्रालय

स्वास्थ्य मन्त्रालयको दृष्टिकोणबाट हेर्दा रोकथाम र बचाउको अवस्थाबाट विश्लेषण गर्नुपर्छ। उपचारात्मक क्षेत्रका धेरै सुधार पनि भएका छन्। हामी रोकथाम र प्रमोटिभ हेल्थ केयरमा धेरै अगाडि बढ्यौं, धेरै उपलब्धि पनि हासिल गर्‍यौं। तर क्युरेटिभ साइडलाई छोडेर जाँदा अलिकति संकटमा पनि छौं।

हामीलाई नसर्ने रोगहरूले पनि ग्रसित गरेको छ। देशको परिवर्तनका क्रममा धेरै कुरा विकास भएको छ। धेरै खाले विकृति पनि छन्। यो एकजनाले गरेर हुने कुरा होइन। यसमा सामूहिक प्रयास चाहिन्छ। हाम्रोमा सामूहिक प्रयासको अभाव छ। अन्तरसंवाद हुनुपर्छ।

चिकित्सक चिकित्सकका बीच समन्वय हुनुपर्छ। मन्त्रालयबाट औषधि सस्तो बनाउने प्रयास भइरहेको छ। मन्त्रालयले देशैभर ब्रेस्ट क्यान्सर, स्क्रिनिङ गर्ने व्यवस्था पुर्‍याउने प्रयत्नमा छौं। औषधिमा जुन विकृति छ, त्यसबारे अध्ययन भइरहेको छ। हामीकहाँ सस्तो सुलभ उपचार, सर्भाइकल क्यान्सरको भ्याक्सिन सुरु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.