पुनःसंरचना आयोगको प्रतिवेदनविरुद्ध मधेसी मोर्चाको प्रदर्शन
कपिलवस्तुः स्थानीय निकाय पुर्नसंरचना आयोगले बुझाएको प्रतिवेदनको विरोधमा मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेका छन्। संघीय लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा मोर्चाका नेता कार्यकर्ताहरुले आयोगको प्रतिवेदन जलाएका छन्।
उनीहरुले कुनै हालतमा पनि प्रतिवेदन अनुसारको स्थानीय निकाय आफुहरुलाई मान्य नहुने बताएका छन्। स्थानीय निकाय गठन गर्दा जनसंख्यालाई आधार मान्नु पर्ने मधेसी जनअधिकार फोरमका केन्द्रिय सदस्य सहसराम यादवले बताए। आयोगले बुझाएको प्रतिवदेनको आधारमा गरिने स्थानीय निकाय निर्वाचन आफुहरुले हुन नदिने मोर्चाका नेता कालीपद शर्माले बताए।
मोर्चाका नेता कार्यकर्ताहरुले संविधान संशोधन पारित गर्नु पर्ने भन्दै सरकार तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेविरुद्ध चर्को नारावाजी गरेका थिए। कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य सहसराम यादव, मोर्चाका नेताहरु कालीपद शर्मा, रविन्द्र मिश्रा, अब्दुल रसिद खां, गीता श्रीवास्तव, राम दयाल ठाकुर लगायत सहभागी थिए।