राप्रपाका केन्द्रीय सदस्य क्षेत्रीय निर्वाचनमा पराजित
भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीको क्षेत्रीय निर्वाचनमा पार्टीका दुई केन्द्रीय सदस्यले पराजय भोगेका छन् ।
यसरी पराजित हुने केन्द्रीय सदस्यमा पनि राप्रपा र राप्रपा नेपालका एकएक जना छन्। राप्रपा नेपाल गुटबाट क्षेत्रीय सदस्यमा उम्मेदवारी दिएकी केन्द्रीय सदस्य युवती कार्कीले पराजय भोगेकी हुन् ।
त्यस्तै राप्रपाको नेतृत्व गर्दै क्षेत्र नं २ को अध्यक्षमा उम्मेदवारी दिएका केन्द्रीय सदस्य रामहरि थापाले पनि पराजय भोगेका हुन् ।
भक्तपुरमा सहायक महामन्त्री रवीन्द्रप्रताप शाहसहित सातजना केन्द्रीय नेताहरु रहेका छन् । जसमा शाहसहित रामहरि थापा, सुरेन्द्र केसी र सानुकाजी हेक्का चारजना राप्रपा पक्षीय हुन् भने तीनजना राप्रपा नेपाल पक्षीय छन् । राप्रपा नेपाल पक्षीयमा सांसद एवं उच्च कार्यसम्पादन समिति सदस्य दिनेश श्रष्ठसहित युवती कार्की र रामेश्वर थापा केन्द्रीय सदस्य छन् ।
पार्टीका केन्द्रीय नेताहरु नै पार्टीको गुटको नेतृत्व गर्दै अधिवेशनमा उत्रिएकाले जिल्लास्तरीय नेता तथा कार्यकर्ताहरु पनि सोहीअनुसार विभाजित भएका छन् ।
सहमतिको प्रयास असफल
पार्टी एकीकरण भएकाले नेता तथा कार्यकर्ताहरुमा दुई दलको आभास नहुने गरी जिल्लाभर सहमतिको प्रयास गरिए पनि सफल नभएको पार्टीका नेताहरु बताउँछन् ।
पार्टीका केन्द्रीय सहायक महामन्त्री रवीन्द्रप्रताप शाहले पार्टी एकीकरण भएकाले जनतामा एकताको सन्देश प्रवाह गर्न सबै नेता तथा कार्यकर्तालाई सहमति र सहकार्यमार्फत एकजुट भइअघि बढ्न गरिएको प्रयास असफल भएको सुनाए ।
नगर र क्षेत्रीय अधिवेशनमा प्रजातान्त्रिक अभ्यासअनुसार निर्वाचन भए पनि जिल्ला अधिवेशनमा सहमति नै गरेर अघि बढ्ने उनले सुनाए ।
पार्टी एकीकरण भएकाले नेता तथा कार्यकर्ताहरुमा कुनै विभेद र मतभेद नभएको उनले दावी गरे ।
‘पार्टी एउटै भइसक्यो, सबैमा उत्साह र ऊर्जा थपिएको छ’, उनले भने, ‘यसले गर्दा पनि प्रतिस्पर्धामात्रै बढेको हो । यसलाई हिजोकै दुई पार्टीको रुपमा लिनु भएन ।’