पार्टी मिल्यो, मन मिलेन !

पार्टी मिल्यो, मन मिलेन !

भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच एकीकरण भएर एउटै पार्टी बने पनि भक्तपुरमा दुई पार्टीका नेता तथा कार्यकर्ताहरुको मन मिल्न सकेको छैन ।

एकीकृत पार्टीको महाधिवेशनको निम्ति जिल्लामा भएको नगर तथा क्षेत्रीय अधिवेशनको क्रममा यस्तो स्थिति देखिएको हो। दुई पार्टीमध्ये कुन पार्टीका नेता हावी हुने भन्ने प्रतिस्पर्धा स्पष्टै देखिएको छ । जसअनुसार राप्रपा नेपाल पक्षीय बढी हावी भएको स्थानीय नेताहरुले बताएका छन् ।

उनीहरुका अनुसार राप्रपा नेपालका नेताहरुले राप्रपा आफ्नो पार्टीमा विलय हुन आएको जस्तो गरी हैकम देखाउँदै आएका छन् । यसले गर्दा पार्टी एकीकरण भए पनि दुई पार्टीका नेता तथा कार्यकर्ताहरुबीच मन मिल्न नसकेको पुष्टि भएको उनीहरुको भनाइ छ ।

उनीहरुले यही स्थिति जारी रहे महाधिवेशनपछि पार्टी एकीकरण नभई झन् दुई पार्टी स्पष्टसँग अस्तित्वमा आउने दावी गरे।

जिल्ला अधिवेशनका लागि भएका नगर र क्षेत्रीय अधिवेशनमा राप्रपा र राप्रपा नेपाल स्पष्ट छुट्टिने गरी दुइटै पार्टीको छुट्टाछुट्टै प्यानलसहित प्रतिस्पर्धा भएको छ ।

उम्मेदवारीसँगै प्रचारप्रसारमा समेत दुई पार्टी स्पष्ट देखिएको थियो । हिजो राप्रपामा भएका नेता तथा कार्यकर्ताले आफ्ना उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेका थिए भने राप्रपा नेपालका नेता कार्यकर्ता पनि आफ्नै पक्षका उम्मेदवारको प्रचारप्रसारमा थिए ।

माघ २६ गते हुने जिल्ला अधिवेशनमा समेत राप्रपा र राप्रपा नेपालका छुट्टाछुट्टै नेताहरुले जिल्ला अध्यक्षमा उम्मेदवारी दिने तयारी गरिरहेका छन् । जिल्ला अध्यक्षको लागि राप्रपाको तर्फबाट रामशरण लामिछाने र राप्रपा नेपालको तर्फबाट सांसद एवं पार्टीका केन्द्रीय सदस्य दिनेश श्रेष्ठ लागिपरेका छन् ।

उनीहरु जिल्लाको नेतृत्व हत्याउनकै लागि पार्टीको नगरदेखि क्षेत्रीय अधिवेशनसम्म लागिपरेका छन् । जसअनुसार उनीहरुले जिल्लाका ६ नगरपालिका र दुई निर्वाचन क्षेत्रमा आधा आधा नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

भक्तपुर, चाँगुनारायण र नगरकोट नगरमा राप्रपा पक्षले जीत हात पारेको छ भने मध्यपुर थिमि, सूर्यविनायक र अनन्तलिंगेश्वर नगरमा राप्रपा नेपाल पक्ष विजयी भएको छ । जसअनुसार भक्तपुरमा राजेन्द्र लाखा, चाँगुनारायणमा उमेश प्रधान र नगरकोटमा धनबहादुर लामा नगर अध्यक्षमा निर्वाचित भए ।

उता मध्यपुरमा भूवन वाग श्रेष्ठ, सूर्यविनायकमा प्रवीण ढुंगेल र अनन्तलिंगेश्वरमा रामप्रसाद न्यौपाने नगर अध्यक्षमा विजयी भए ।

त्यस्तै आइतबार परिणाम आएको क्षेत्रीय अधिवेशनअन्तर्गत १ नम्बरमा राप्रपा र २ नम्बरमा राप्रपा नेपाल पक्षले जीत हात पारेको छ । क्षेत्र नम्बर १ मा राप्रपा पक्षीय बच्चुराम पराजुलीले राप्रपा नेपाल पक्षका श्यामप्रसाद नेपाललाई पराजित गरेका छन्।

क्षेत्र नं २ मा भने राप्रपा नेपाल पक्षका नारायण थापाले राप्रपा पक्षका रामहरि थापालाई पराजित गरेका छन् । पराजुली र थापाले आआफ्नो पूरा प्यानलसहित जित हासिल गरेका हुन् ।

एक अध्यक्षसहित २९ सदस्य जिल्ला कार्य समितिमा १९ जना अधिवेशनबाट निर्वाचित हुने प्रावधान छ । बाँकी ३५ प्रतिशत निर्वाचित अध्यक्षले मनोनीत गर्ने विधानमा उल्लेख छ ।

जिल्ला अधिवेशनको लागि भक्तपुरका दुई क्षेत्रीय समिति, ६ नगर समिति र ९३ वडा समितिका कूल दुई सय ४८ जना प्रतिनिधिले मतदान गर्न पाउने जिल्ला निर्वाचन अधिकृत विकल श्रेष्ठले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.