प्रधानन्यायाधीश विरुद्धको रिटमा छलफल गर्न आदेश
काठमाडौं: प्रधानन्यायाधीशले बिनाआधार उमेर सच्याएको दाबीसहित उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश सुरेन्द्रवीरसिंह बस्न्यातले दायर गरेको रिटमा सर्वोच्च अदालतले आइतबार न्यायपरिषद् सचिवालयलाई छलफलमा डाकेको छ।
रिटमा प्रारम्भिक सुनुवाइपछि सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले बस्न्यातको उमेर विवादमा छलफलका लागि आगामी फागुन ११ गते उपस्थित हुन आदेश दिएको हो।
हचुवाका भरमा जन्ममिति सच्याएका कारण अधिकारमा आघात पुगेको दाबीसहित बस्न्यातले प्रधानन्यायाधीश सुशीला कार्कीको निर्णय खारेज गर्न माग गर्दै रिट दिएका थिए। उक्त प्रकरणमा कारण माग गर्दै कार्कीको निर्णय रोक्न अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफलका लागि सचिवालयलाई डाकिएको हो।
बस्न्यातले आफ्नो वास्तविक जन्ममिति २०११ साल असार १९ गते रहे पनि सच्याएर २०१० साल फागुन १८ गते बनाइएको दाबी गरेका छन्। बस्न्यातका तर्फबाट बहस गर्ने वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीलगायत कानुन व्यवसायीले बस्न्यातको प्राथमिक स्कुल भर्ना, नागरिकता, निजामती सेवादेखि न्यायाधीशसम्म उमेर खुल्ने एउटै प्रमाण रहेको अवस्थामा प्रधानन्यायाधीशको एकल निर्णयमा परिवर्तन गरिएका कारण समानताको मौलिक हकमा आघात पुग्ने अवस्था रहेको जिकिर गरे। उनले उमेर विवादमा सर्वोच्चद्वारा प्रतिपादित पूर्वनजिरसमेत पेस गरे।