ट्रम्प र विश्व

ट्रम्प र विश्व

प्रजातन्त्रमा जनताले स्वतन्त्र रूपमा र आस्थाका आधारमा आफ्ना शासक र नेता छान्छन् । प्रजातन्त्रको सबभन्दा बलियो या कमजोर पक्ष पनि यही हो । बहुमतले ‘गलत' शासक चुनिने खतरा पनि पर्याप्त हुन्छ, त्यो व्यवस्थामा । झन्डै तीन महिना पहिला अमेरिकामा भएको राष्ट्रपतीय निर्वाचनपछि विजयी डोनाल्ड ट्रम्पलाई चुन्नु गलत थियो या थिएन, त्यो अमेरिकी जनताले समीक्षा गर्ने विषय हो ।

तर राष्ट्रपति भएको दुई साताभित्रै उनले लिएका कतिपय निर्णय र उनले प्रदर्शन गरेका व्यवहारबाट बाहिरका मुलुक र जनता पनि प्रभावित भएका छन् । त्यसको परिणाम ट्रम्पले चाहेअनुरूप मात्र आउने छैन ।

उनले आधा दर्जन इस्लामिक मुलुकहरूका नागरिकको प्रवेशमा रोक लगाएका छन् । अमेरिकामा भने करिब एक लाख भिसाहरू रद्द गरिएका छन् । अस्ट्रेलियाका प्रधानमन्त्रीसँगको उनको टेलिफोन वार्ता अपमानजनक रहेको सूचना सार्वजनिक भएको छ भने उता बेलायतमा उनको हुने भनिएको यात्राबारे अनिश्चितता देखिएको छ । एउटा शक्तिशाली मुलुकको राज्यप्रमुख विदेश जाँदा या समकक्षीहरूसँग अन्तरक्रिया गर्दा उसबाट मर्यादित व्यवहार अपेक्षित हुन्छ, मतभेदकै विषय र प्रतिकुल वातावरणमा पनि ।

अमेरिकाभित्रै उनका केही निर्णयले धर्मका आधारमा कसैलाई रोजगार दिने या नदिने अधिकार प्रदान गरेको छ । आप्रवासीको आगमनमा कडाइ, उनीहरूप्रति अपमानजनक र भेदभावयुक्त निर्णय राष्ट्रपति ट्रम्पले लिएपछि चार दर्जनजति प्रतिष्ठित शिक्षण संस्थाका प्रमुखहरूले विरोध गरेका छन् भने कतिपय संस्थाहरूमा त्यसको विरोध सुरु भएका छन् । बाहिरी जगत्मा प्रश्न उठ्न थालेको छ- अमेरिकी राष्ट्रपतिले अमेरिकी मूल्य, मान्यता र चरित्रलाई प्रतिनिधित्व गर्ला त ?

त्योसँगै अनिश्चिततापूर्ण अर्को बहस सुरु भएको छ, के रहेछ त अमेरिकी मूल्य, मान्यता र चरित्र ? उनका केही निर्णयहरू पक्कै पनि अमेरिकाका आन्तरिक मामिला हुन्, तर मर्यादित कूटनीतिक व्यवहारसँगै बाहिरी विश्वलाई अनि व्यवस्थित विश्व व्यवस्थालाई प्रतिकूल असर पार्ने उनका निर्णयले प्रतिक्रिया र प्रतिरोध दुवै जन्माउन सक्छ । त्यसको प्रभाव अमेरिकी सीमाभित्र मात्रै सीमित रहँदैन ।

धर्म, जात र वर्णका आधारमा भेदभाव गर्न नपाइने विश्वले अँगालेको मान्यतालाई आन्तरिक प्रयोजनको लागि पनि ट्रम्पले अवमूल्यन गर्न थालेका छन् । त्यसले अमेरिकी हैसियतकै अवमूल्यन हुनेछ ।

अमेरिकाभित्र जन्मिएको प्रतिरोधलाई त्यहाँको न्यायपालिका र व्यवस्थापिकाले धेरै दिन बेवास्ता गर्न सक्ने छैनन् सम्भवतः । तर के अमेरिका आफैंले बोकेको र फिँजाएको मूल्यप्रति अड्ला ? त्योबिनाको अमेरिकाको स्थान र अस्तित्व विश्वमा के होला ? यो बहसको निक्र्योल या त ट्रम्पले आफूलाई फेरेर हुनेछ या अमेरिकाले ट्रम्पलाई नियन्त्रित गरेर ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.