भलिबल प्रतियोगितामा दुवै पुलिस विजयी
पोखरा: सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबले सिर्जना आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत महिलातर्फ विजयी सुरुआत गरेका छन्।
पोखरामा आइतबार भएको खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३-० को सोझो सेटमा हरायो। एपीएफले २५-९, २५-१७, २५-१८ को जित निकालेको थियो।जितसँगै एपीएफले तीन अंक बनाएको छ।
क्विक स्पाइकर सरस्वती चौधरी चम्किदा एपिएफविरुद्ध आर्मी कमजोर बन्यो। सरस्वतीले दोस्रो सेटमा सर्भिसबाट लगातार ६ अंक जोडेकी थिइन्। राष्ट्रिय खेलाडीहरु रेश्मा भण्डारी, विनिता बुढाथोकी, लिबरो ज्योति चौधरीले खेलमा उत्कृष्ट प्रदर्शन गरे।
आर्मीका जानकी भण्डारी, मनिषा खाँड, सोफिया पुनको प्रदर्शन मध्यम रह्यो। आर्मीका प्रशिक्षक जगदीशप्रसाद भट्टले आफ्नो टीमको डिफेन्स कमजोर हुँदा हार बेहोर्नुपरेको बताए।
लिगको आधारमा खेलाइएको प्रतियोगिताको अर्को खेलमा नेपाल पुलिसले भारतको उत्तरप्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा हरायो। पाहुना टोलीमाथि सहज जित हात पारेको पुलिसले २५-७, २५-२०, २५-१६ को अग्रता लिएको थियो। जितसँगै पुलिसले पनि तीन अंक बनाएको छ।
राष्ट्रिय टोलीकी खेलाडी कोपिला उप्रेती, मनिषा चौधरी, कामना विष्ट, पुष्पा चौधरीको प्रदर्शन उत्कृष्ट थियो। उत्तरप्रदेशको टोली भारतका राष्ट्रिय टोली खेलाडीले भरिएको भएपनि पुलिससँग जोर चलेन।
भारतकी राष्ट्रिय खेलाडी अंशु रानीको प्रदर्शन तारिफयोग्य रहेपनि अन्य खेलाडीबीच तालमेल नमिल्दा उसले हार बेहोर्नुपर्यो। उत्तरप्रदेशका प्रशिक्षक अंकुर साहीले ‘कलेक्सन, डिफेन्स र पास' मा आफ्नो टोलीको कमजोरी देखिएको बताए।
प्रतियोगितामा नेपालका पाँच र भारतको एक गरी ६ महिला टोलीको सहभागिता रहेको छ। प्रतियोगिताअन्तर्गत मंगलबार महिलातर्फ पश्चिमाञ्चल र एपीएफ तथा नेपाल पुलिस र न्यु डायमन्ड एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ तथा नेपाल पुलिस र पश्चिमाञ्चलबीच प्रतिस्पर्धा हुनेछ।