मध्यरातमा प्रेमीले गरे एसिड प्रहार, युवतीको मृत्यु
बुटवलः रुपन्देहीको बुटवलमा 'प्रेमी'को एसिड प्रहारबाट गम्भीर घाइते भएकी एक युवतीको मृत्यु भएको छ।
बुटवलको अमरपथमा रहेको मेरिडियन होटलमा गएराति बास बसेका उनीहरुबीच झगडा भएपछि युवकले एसिड प्रहार गरेका थिए। एसिड प्रहारबाट गम्भीर घाइते भएकी नवलरासी गैडाकोटकी २७ वर्षीया तुलसा सापकोटाको उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
तुलसा धादिङ नौविसेका २८ वर्षीया सुनिल कोइरालासँग गएराति होटलमा बासेकी थिइन्। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख मुकुन्द मरासिनीले राति साढे १२ बजे युवकले आफ्नी प्रेमिका तुलसामाथि एसिड प्रहार गरेको जानकारी दिए।
एसिड प्रहारबाट शरीरका अधिकांश भाग जलेर घाइते भएकी तुलसालाई गएराति नै लुम्बिनी अञ्चल अस्पतालमा उपचारका लागि लगिएको थियो। अस्पतालले थप उपचारका लागि मेडिकल कलेज पठाएको थियो।
तर, मेडिकल कलेजले उपचारका लागि काठमाडौं रिफर गरेपछि उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। तुलसा र सुनिलबीच केही समयदेखि प्रेम रहेको बुझिएको छ। एसिड प्रहार गर्ने सुनिललाई प्रहरीले पक्राउ गरेको छ। युवकले प्रेमिकामाथि एसिड प्रहार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ।