देश विखण्डनको कुरा गर्नेमाथि कारबाही हुन्छः गृहमन्त्री निधि
जनकपुरधामः उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले देश विखण्डनको कुरा गर्नेहरुमाथि कडा कारबाही हुने बताएका छन्।
सोमबार जनकपुरमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय धनुषाको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले कसैले राष्ट्रिय अखण्डतालाई विथोल्ने गरी क्रियाकलाप गरे सरकार चुप लागेर नबस्ने बताएका हुन्।
उनले भने,‘राज्य विखण्डन गर्ने कुरा कसैले गर्छ भने त्यो सैह्य हुँदैन। त्यस्ता व्यक्तिमाथि कारबाही हुन्छ।’ गृहमन्त्री निधिले संविधानमा रहेका केही कमिकमजोरीहरुलाई संशोधन गर्न संसदमा संशोधन प्रस्ताव टेबुल गरिएको बताए।
उनले प्रतिगमनकारी र उग्रवादीवामपन्थी शक्तिहरुले संविधान संशोधन प्रस्तावको विरोध गरिरहेको आरोप लगाए।उनले २०७४ माघ ७ गतेसम्म तीनवटा निर्वाचन गराउनु पर्ने भएकाले सरकार निर्वाचनको तयारीमा रहेको बताए।