निर्वाचन नभए संविधान फेल हुन्छः कोइराला
भक्तपुरः नेपाली कांग्रेसका महामन्त्री डा. शंशाक कोइरालाले निर्वाचन नभए संविधान असफल हुने बताएका छन्। कोइरालाले सरकारले ०७४ माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न नसके संविधान पूर्णरुपमा असफल हुने बताएका हुन्।
रफत सञ्चार क्लवले सोमबार भक्तपुरमा गरेको साक्षात्कारमा उनले आउँदो जेठ १० भित्र कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताए। कांग्रेस स्थानीय निकायको निर्वाचन गरेर मात्र संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउँदै कोइरालाले सबै नेता तथा कार्यकर्तालाई स्थानीय निर्वाचनमा होमिन आग्रहसमेत गरे।
कांग्रेस हिमाल, पहाड र तराईलाई छुट्याएर संघीय प्रदेश बनाउनुपर्छ भन्ने पक्षमा नरहेको बताउँदै उनले पार्टीका केही नेताले भन्दैमा संविधान संशोधन गर्न नसकिने बताए। संविधान संशोधन गर्न दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकाले कांग्रेस पहाडलाई विभाजन गरेर संघीय प्रदेश बनाउनु हुन्न भन्ने पक्षमा रहेको उनको भनाइ थियो।
उनले पाँच नम्बर प्रदेशलाई पहाडबाट विभाजन गर्दा सामाजिक एकता तथा सद्भावना खल्बलीने बताउँदै मधेसी मोर्चाले भन्दैमा कांग्रेस संविधान संशोधनमा नलाग्ने बताए। अहिलेको संविधान ९२ प्रतिशत सभासद्ले पारित गरेको स्मरण गर्दै कोइरालाले विश्वमै सबैभन्दा बढी बहुमतले बनाएको संविधानलाई अल्पमतले भन्दैमा संशोधन संशोधन गर्न नसकिने जिकिर गरे।