सुन तस्करीमा पक्राउ परेका एसएसपी थप चार दिन थुनामा
काठमाडौं: सुन कान्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) श्याम खत्रीलाई काठमाडौं जिल्ला अदालतले थप अनुसन्धानका लागि चार दिन थुनामा राख्न अनुमति दिएको छ।
केन्द्रिय अनुसन्धान ब्युरो (सीआईबी)ले खत्रीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको थियो। जिल्ला न्यायाधिश शम्भु प्रसाद ढुंगेलको इजलासले थुना अनुमति प्रदान गरेको हो।
सीआईबीले भने अनुसन्धानका लागि २५ दिनसम्म थुनाका लागि अनुमती मागेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुनसहित तीन जना पक्राउ परेको विषयमा थप अनुसन्धान गर्नेक्रममा सीआईबीले एसएसपी खत्रीलाई आइतबार नियन्त्रणमा लिएको थियो।
सुन बरामद भएको समयमा खत्री विमानस्थलमा कार्यरत थिए। सीआईबीका एसएसपी मनोज न्यौपानेले थप अनुसन्धानका लागि खत्रीलाई चार दिन थुनामा राख्ने अनुमति पाएको जानकारी दिए।