ताइवानवासी नेपालीद्वारा विद्यालय निर्माण
काठमाडौः ताइवानमा कार्यरत नेपालीको संस्था नेपाल-ताइवान एसोसिएसन (एनटीए)ले गत वर्षको भूकम्पमा परेर ध्वस्त भएको काभ्रेको कालीकुमारी प्राथमिक विद्यालय भवन निर्माण गरिदिएको छ । कुल २४ लाख रुपैयाँ लगानीमा निर्माण सम्पन्न भएको उक्त विद्यालय भवन हालै हस्तान्तरण गरिएको छ ।
सोमबार विद्यालयका प्रधानाध्यापक बलराम नेपालको समेत उपस्थितिमा राजधानीमा पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराइएको हो । एसोसिएसनले विद्यालय भवनसँगै त्यहाँ आवश्यक पर्ने बेन्च, कुर्सीलगायतका सम्पूर्ण सामग्री प्रदान गरेको एसोसिएसनका अध्यक्ष राजु गुरुङले बताए ।
काभ्रेको बनेपाबाट ८० किलोमिटरको दूरीमा रहेको चन्डेनी ज्यामिरेमा रहेको उक्त स्कुलमा अधिकांश तामाङ र दलित समुदायका छोराछोरी पढ्छन् । विद्यालयमा ८० जना विद्यार्थी अध्ययन गरिरहेको प्रधानाध्यापक नेपालले बताए । विद्यालय भवन निर्माण सम्पन्न भए पनि उक्त भवनको कम्पाउन्ड लगाउन थप रकम आवश्यक रहेकाले यसमा पनि सहयोग गरिदिन एसोसिएसनलाई अनुरोध गरे ।
एसोसिएसनले हालसम्म मुलुकका विभिन्न जिल्लामा एक दर्जनभन्दा बढी विद्यालय भवन निर्माण गर्ने योजना बनाएको छ । ‘अहिलेसम्म दुई दर्जन विद्यालयमा विभिन्न सहयोग गरिसकेका छौं', गुरुङले भने । उनका अनुसार एसोसिएसनले यसअघि पनि धुर्मस-सुन्तली फाउन्डेसनलाई तीन लाख पाँच हजार, खगेन्द्र नवजीवन केन्द्रलाई एक लाख तथा महावीर पुनले स्थापना गरेको राष्ट्रिय अविष्कार केन्द्रलाई दुई लाख ५७ हजार रुपैयाँ सहयोग गरिसकेको छ ।
ताइवानमा विभिन्न पेसा र व्यवसाय सञ्चालन गरेर बसेका नेपालीले स्वैच्छिक रूपमा उठाएको रकम नेपालको सामाजिक कार्यमा खर्चिएको गुरुङले बताए ।