गरिब र विपन्नका लागि थप चार रोगको निःशुल्क उपचार
काठमाडौं: गरिब र विपन्नका लागि सरकारले थप चार प्रकारका कडा रोगको निःशुल्क उपचार गर्ने प्रस्ताव गरेको छ। निःशुल्क उपचारको सूचीमा कलेजो, अप्लास्टिक एनिमिया, थालेसिमिया तथा मस्तिष्कघात थप्न प्रस्ताव गरिएको हो। योसँगै सरकारले निःशुल्क उपचार गर्ने रोगको संख्या १२ पुगेको छ।
यसअघिसम्म ८ प्रकारका कडा रोगको उपचार निःशुल्क गरी एक लाखसम्म उपचार सहायता दिइएको थियो। सरकारले उपचारका लागि सहायता रकम एक लाखबाट बढाएर पाँच लाख पुर्याउने प्रस्ताव गरेको छ। अतिविशिष्ट र विशिष्टको उपचार खर्चसम्बन्धी व्यवस्थामा भने यो समावेश भइसकेको छ।
अर्थ मन्त्रालयको सहमति आउनसाथ थप चार रोगको उपचार निःशुल्क बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा पठाउने स्वास्थ्यमन्त्रीका सल्लाहकार प्रताप पौडेलले बताए।
हालसम्म विपन्न वर्गका लागि मुटुरोग, मिर्गौला, क्यान्सर, अल्जाइमर, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचार निःशुल्क छ। फागुन १ गतेदेखि लागू हुने गरी बाथ, मुटुरोग, मुटुको भल्भ फेर्ने, शल्यक्रिया तथा औषधि उपचार सबै निःशुल्क हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ। विपन्न वर्गका बिरामीले मुटुरोगसम्बन्धी निःशुल्क उपचार सुविधा पाउनेछन्।
सरकारले निःशुल्क उपचारको सूचीमा कलेजो, अप्लास्टिक एनिमिया, थालेसिमिया तथा मस्तिष्कघात थपेको हो।
यता क्यान्सरका लागि सरकारले शल्यक्रिया, थप निदानात्मक सेवा, केमोथेरापी, रेडियोथेरापी र त्यसमा लाग्ने औषधि, औषधिजन्य सामग्री, शड्ढया तथा सेवा शुल्कमा एक लाख सहयोग गर्दै आएको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित विपन्न नागरिक कडा रोगको लागि सिफारिस समितिले गरिब र विपन्न पहिचान गरी सिफारिस गरेपछि मात्र सरकारले सहयोग उपलब्ध गराउने व्यवस्था छ।