कस्तुरी झैं सुवासको खोजी
कुनै पनि राजनीतिक दलको शक्तिको मुख्य स्रोत जनता नै हुन् । दलहरूको प्रजातन्त्रमा अहम् भूमिका हुन्छ । बढीभन्दा बढी स्थानमा निर्वाचनमा विजयी हुनु र सार्वजनिक नीतिनिर्माणमा पकड बढाउनु कुनै पनि दलको मुख्य ध्येय हुन्छ ।
लामो वार्ताको कसरतपछि २०७३ मंसिर ६ मा राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल एकीकृत भएपछि लगभग मुर्झाएका राप्रपाका कार्यकर्ता नेताहरूमा एकाएक नयाँ जाँगर पलाएको मात्र होइन, एकीकृत भएको राप्रपा फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने ऐतिहासिक एकता महाधिवेशनको तयारीमा समेत जुटेको छ ।
२०४६ को जनआन्दोलनको प्रभावबाट २६ वर्षअघि गठित राप्रपा र माओवादी हिंसाको भुंग्रोमा देश र जनता पिल्सिरहेको पृष्ठभूमिमा ११ वर्षअघि गठित राप्रपा नेपाल वर्तमान राष्ट्रिय आवश्यकता र बदलिँदो अन्तर्राष्ट्रिय परिवेशमा एक वैकल्पिक राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण हेतुले एकीकरण भएका हुन् ।
देश टुक्राउने दुष्प्रयास भइरहेको, सार्वभौमिक स्वतन्त्रतामाथि चुनौती बढेको, नेपाली जनताले ठूलो मूल्य चुकाएर ल्याएको संविधान धरापमा परेको, मुलुकमा राजनीतिक अस्थिरता बढेको, राज्य सञ्चालन गर्नेहरूको बेइमानीका कारण कुशासन र आर्थिक भ्रष्टाचारले जनतालाई पीडा भएको, विकासे योजना कार्यान्वयन हुन नसकेर मुलुक पूर्णतः पराश्रित बनेकाले पनि दुई पार्टीबीचको एकीकरण बाध्यात्मक बन्न पुग्यो ।
वर्तमान संविधानलाई जीवन्त राख्न स्थानीय तह र संसद्को चुनावमा जाने समयसीमा २०७४ माघ ७ मा समाप्त हँदैछ । पञ्चायतजस्तो निरंकुश मानिएको व्यवस्थामा समेत प्रत्येक चार वर्षमा वालिग मताधिकारका आधारमा स्थानीय निकाय निर्वाचन गर्ने परम्परा छ । यस्तो प्रजातान्त्रिक अभ्यासलाई क्रमभंग गर्ने नाममा स्थानीय तहको निर्वाचन नगराइएको १९ वर्ष पुग्न लाग्यो ।
विगतमा १८ वर्ष उमेर नपुगी मतदान गर्न नपाएका नेपालीलाई अहिले ३७ वर्ष उमेर पुगिसक्दा समेत आफ्ना स्थानीय प्रतिनिधि चुन्न मतदान गर्न पाउने राजनीतिक अधिकारबाट वञ्चित गराइएको छ । देशको संसद्लाई केही पार्टीको दुईचारजना कथित शीर्ष नेताहरूको स्वार्थ पूरा गराउने खेताला अर्थात् राणाकालीन भारदारी सभाजस्तै गरी ‘रबर स्ट्याम्प' बनाइएको छ । सभासद्हरूलाई स्वतन्त्र रूपमा विधायिकी निर्णय गर्ने अधिकारबाट कुण्ठित पारिएको छ । विश्वको कुनै पनि लोकतान्त्रिक मुलुकमा यस्तो अनहोनी घटना भएको पाइँदैन ।
विगत अढाइ दसकयता देशको व्यापार घाटा अत्यधिक बढेको, मुलुकभित्र रोजगार सिर्जना नभई पचासौं लाख युवाशक्ति विदेश पलायन हुन बाध्य हुनुपरेको, औद्योगीकरण हुन नसकेको, चामल र अन्य खाद्यान्नसमेत आयात गर्नुपर्ने दुःखान्त स्थिति देखापरेका कारण राष्ट्रिय अर्थतन्त्र र आत्मनिर्भरताको अवस्था नाजुक बन्न पुगेको छ ।
सामाजिक सद्भाव खल्बलिएर राष्ट्रिय एकता कमजोर हुन पुगेको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको परम्परागत गौरवमय प्रतिष्ठा धुलिसात भएको, छिमेकी देशहरूको विश्वासपूर्ण सम्बन्धमा गतिरोध आएको र सँगसँगै वैदेशिक चलखेल र हस्तक्षेप बढेको छ ।
यस्तै दलगत स्वार्थले गर्दा पार्टीमा आबद्ध नभएका आम नागरिकको दैनिक जीवन दुष्कर बनेको, निमुखा र विपन्न सर्वसाधारणले न्याय पाउने अधिकारबाट समेत कुण्ठित हुनुपरेको, शिक्षा, स्वास्थ्यलगायत सर्वत्र राजनीतीकरण भएकाले कुनै वैकल्पिक राजनीतिक शक्तिको उदय हुनु समयको माग थियो ।
यी र यस्तै अनेकानेक कारणले नेपाली जनताले विद्यमान परिस्थितिमा परिवर्तनको आकांक्षा राखेका हुन् । यही कटु यथार्थ आत्मबोध गरी जनआकांक्षा, कार्यकर्ताको मनोभावना र राष्ट्रिय आवश्यकता दृष्टिगत गरी एक सशक्त राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको हो ।
आम नेपालीको स्वभाव, चरित्र, संस्कार र मान्यताविपरीत अतिवादी वैचारिक आधार र हिंसात्मक पृष्ठभूमि भएका दलहरूले भरिभराउ नेपाली राजनीतिमा एक सद्भाव, शान्ति र शालीनतामा आस्था राख्ने सम्यक-पार्टीको आवश्यकता निकै लामो समयदेखि नै खट्केको थियो । संसारका जुनसुकै देशमा राजनीतिक दलहरूलाई संगठित अभियन्ता वा सेवाप्रवाहको आधार मानिन्छ, तर नेपालमा राजनीतिलाई मुनाफाखोरी उद्यमको रूपमा लिन थालियो । जुन कुरा गलत थियो, गलत भइनै हुन्छ । विषवृक्ष रोपेर अमृत फल प्राप्त हुन सक्तैन ।
राप्रपाभन्दा ठूला मानिएका दल कांग्रेस, एमाले र माओवादीहरूले पटक-पटक राज्य सञ्चालन र प्रतिपक्षी भूमिका बहन गर्न विफल भएको पृष्ठभूमिमा राप्रपाको अहिलेको मिलन अर्थहीन हुनु हुँदैन । देशलाई संकटबाट निकास दिन नसक्ने दलहरूले विकास पनि दिन सक्तैनन् । तर कुनै पनि कमजोर वैचारिक आधार, संगठन, स्रोत र जनाधार भएको पार्टीले न राष्ट्रिय दायित्व वहन गर्न सक्छ, न त विकराल चुनौतीको सामना ।
नेपाल एक ‘असफल राष्ट्र' बन्दै गएको छ । नेपालमा अढाइ दसकदेखि गुजुल्टिएर रहेका समस्याको सही निकास हुन सक्छ भन्ने आमविश्वास दिनप्रतिदिन खस्कँदो छ । खासगरी संगठित भ्रष्टाचार, असहिष्णु चरित्र र विधिको शासनमाथिको बलमिच्याइँलाई संस्थागत चारित्रिक पहिचान र पर्याय बनाउँदै लगेका कांग्रेस, एमाले र माओवादीका लागि राप्रपाको एकीकरण खतराको घन्टी हो ।
हो, अहिले राप्रपा सरकार परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने हैसियतमा मात्र छैन, उसले चाहे संविधान संशोधन पारित नहुन पनि सक्छ । दूरगामी महत्वका कुनै पनि निर्णय गर्न राप्रपाबिना असम्भव छ । यो ऐनाजस्तै कुरा बुझ्नु, प्रत्येक राप्रपाका नेता कार्यकर्ताका लागि महत्वपूर्ण छ ।
राप्रपा जनताका बीचबाटै बनेको, स्थापित भएको र अघि बढिरहेको दल हो । जनाधार बलियो र नेतृत्व सशक्त भएको पार्टी मात्रै कुनै पनि देशको भूगोलमा विकल्प शक्ति बन्न सक्छ । राप्रपाको सबैभन्दा सबैभन्दा सबल पक्ष भनेकै न यो कुनै विदेशी राजनीतिक वादबाट निर्देशित सिद्धान्तमा आधारित छ, न त यो कांग्रेस, एमाले वा माओवादीजस्तो विदेशी भूमिमा गठन भएको पार्टी नै हो । यो नेपालकै माटोबाटै उम्रिएको गौरवगाथा बोक्ने इतिहासमै पहिलो र ठूलो राष्ट्रिय राजनीतिक शक्ति हो । ढिलै भए पनि नेपाली मतदाताले यो कुरा बुझ्न थालेका छन् ।
एकीकृत राप्रपा आलंकारिक राजसंस्था र सनातन हिन्दु अधिराज्यको ‘दुईखम्बे' वैचारिक तथा सैद्धान्तिक आधारस्तम्भसहितको पृथक् राजनीतिक दल बनेको छ । राप्रपाले कुनै एक आधार मात्रै छोड्नासाथ उसको नाभिको सुवास उडेर जानुका साथै उसको मौलिक पहिचान पनि समाप्त हुनेछ ।
राप्रपाले जनतामाझ र मनमा क्रमिक रूपमा स्थान बनाउँदै गएको छ । पुनर्संगठित राप्रपा एक सशक्तीकृत राष्ट्रिय शक्ति भएकोले यसलाई राष्ट्रिय राजनीतिमा नजरअन्दाज गर्नु समकक्षी दलहरूको हितमा हुने छैन । एकैछिन कल्पना गरौं, के राप्रपाजस्तो तेस्रो पुरानो राजनीतिक दललाई पाखा लगाएर देशमा स्थिरता, विकास र राष्ट्रिय मेलमिलाप अघि बढाउन सम्भव छ ?
ऐतिहासिक एकता महाधिवेशनको क्रममा सांगठानिक सुदृढीकरणको लागि यही माघ ८ गतेदेखि माघ २५ गतेसम्म वडातहदेखि गाउँ÷नगर, निर्वाचन क्षेत्र, जिल्ला र केन्द्रीय तहसम्म पार्टीका विभिन्न पदहरूका लागि सर्वमान्य प्रजातान्त्रिक विधिअनुरूप निर्वाचन भइरहेका छन् । महाधिवेशनमा राप्रपाको केन्द्रीय अध्यक्ष पदको लागि हुने प्रत्यक्ष निर्वाचनले यो पार्टीलाई पूर्ण प्रजातान्त्रिक दलको रूपमा स्थापित गराउनेछ । यसबाट विगतमा राप्रपामाथि लगाइँदै आएको अप्रजातान्त्रिक दलको आरोप र लान्छनालाई उसले पखाल्ने अपूर्व अवसरसमेत प्राप्त गर्नेछ ।
एकता महाधिवेशनको सन्दर्भमा राप्रपालाई आगामी १० वर्षमा नेपालको सर्वप्रमुख पार्टी, सत्ताको मूल घटक र राज्य सञ्चालनको ‘इञ्जिन' बनाउने कार्ययोजनासहित अघि बढ्न सक्नु उसको लागि अवसर र चुनौती दुवै हुन् । पार्टीको गठन, उत्थान वा पतन उसले लिएको नीति, विचार र सिद्धान्तको जगबाट निर्देशित हुन्छ । स्पष्ट मौलिक वैचारिक आधार र सिद्धान्त नभएका समूहहरू, राजनीतिक दल बन्न सक्तैनन् र विगतमा पनि बनेका छैनन् । यो नै राजनीतिक दल हुनको लागि पहिलो र अन्तिम सर्त हो ।
कस्तुरी मृगको आफ्नै नाभिमा सुगन्धित बीना भएर पनि ऊ बीनाको खोजी गर्दै हिँड्छ । राप्रपा पनि अहिले कस्तुरी मृग झैं भौंतारिइरहेको छ । आलंकारिक राजसंस्थाको उपस्थितिसहितको सनातन हिन्दु अधिराज्यको ‘दुईखम्बे' वैचारिक तथा सैद्धान्तिक आधारस्तभले राप्रपालाई अन्य पुँजीवादी, वामपन्थी र समाजवादी नामधारी दलहरूभन्दा पृथक् र ‘युनिक' राजनीतिक दल बनाएको छ । अधिकांश कार्यकर्ताको भावनाविपरीत राप्रपाले यी आधारमध्ये कुनै एक आधारलाई मात्रै छोड्नासाथ उसको नाभिको सुवास उडेर जानेछ, उसको मौलिक पहिचान समाप्त हुनेछ ।
—आचार्य राप्रपाका नेता हुन् ।