खबरदार, चुनाव टार्ने खेल बन्द गर !
![खबरदार, चुनाव टार्ने खेल बन्द गर !](https://annapurnapost.prixacdn.net/media/albums/chunab-tarne-khel-banda-gar-589aa57d437ac0.06355663_8BS8E3gbRJ.jpg)
इन्जिनियर गणेश उपाध्यायलाई मैले साथी भन्नुभन्दा व्यंग्यकार विमल निभाका बालसखा भन्दा न्याय हुन्छ जस्तो लाग्छ । उपाध्याय बीरगन्जनिवासी हुन्, जहाँ फागु पूर्णिमाको दिन मूर्ख छनोट प्रतियोगिता हुन्छ । नगरको अब्बल मूर्खलाई पुरस्कार दिएर सहर परिक्रमा गराई सार्वजनिक अभिनन्दन गरिन्छ ।
भन्न के मात्र खोजिएको हो भने हरेक बीरगन्जवासीमा व्यंग्यचेत अत्यधिक हुन्छ । त्यसबाहेक गणेशजीमा विज्ञानजस्तो नेपालीको लागि अत्यन्तै गाह्रो विषयलाई चाखलाग्दो र रसिलो बनाई बताउन सक्ने खुबी मात्र होइन, भुसकौललाई पनि उनी भौतिक होस् वा रासायनिक विज्ञानका बुझ्न अप्ठ्यारा कुरा जीवनभर नबिर्सने गरी बुझाउन सक्ने क्षमता छ । यसको लागि उनी प्राचीनदेखि लोककथा र समसामयिकदेखि मध्ययुगीन जनजिब्रोका उखान-टुक्का र लोकोक्ति प्रयोग गर्छन् । मुसुमुसु गर्दै बीरगन्जीया शैलीमा जटिल कुरा सरल तरिकाले व्यक्त गर्न त उनी माहिर नै छन् ।
उनी आध्यात्मिकदेखि गणितका गाँठो मात्र होइनन्, चेसका गम्भीर बौद्धिक चालदेखि जादुगरका चलाखीसम्मलाई पर्गेल्न सक्छन् । उनी धाराप्रवाह बोल्न सक्ने व्यक्ति त हुन् नै, उनमा व्यंग्यचेत कति धेरै छ भने इन्जिनियर नभएका भए उनी व्यंग्य लेखकका रूपमा चर्चित हुने थिए ।
गएको शनिबार पत्रकारिताका सहप्राध्यापक बद्री पौड्यालको डाँछीस्थित घरमा भेटिएका उपाध्यायले चुनावबारे सोधे, कहिले हुने भयो निर्वाचन ? सरकारले चुनावको मिति घोषणा गरिनसकेको अवस्थामा कसरी उनलाई चुनावको तिथि बताउनु ? जे यथार्थ हो त्यो बताएपछि अरबमा दस वर्ष बढी कन्सल्टेन्ट बनेर नेपालै बस्ने गरी फर्किएका उनले जवाफी हमला गरे, जस्ता नेता त्यस्तै पत्रकार ! नेता—पत्रकारलाई विश्वासमा नलिई सिन्को नभाँच्ने अनि पत्रकार नेताले नभनी फुट्टी नबोल्ने, नलेख्ने ? कहाँ सधैं चल्न सक्छ यस्तो अक्करे शैली ? अब चुनावबारे सुन्नुहोस्, सत्यतथ्य र रमाइलो कथा ।
उनी कथा सुनाउन थाले । दुईजना व्यक्ति सडक किनारामा काम गरिरहेका छन् । एउटा खनिरहेको छ र अर्को खनेको खाल्टो पुरिरहेछ । खन्ने पुर्ने काम उनीहरू निरन्तर गरिरहेका छन् । गणेशजी भनिरहे, उनीहरूको काम देखेर मलाई अचम्मै लाग्यो । खाल्डो खनिसकेपछि किन पुरेको होला ? पुर्नु नै थियो भने खन्नुको के तुक ? जति सोचविचार गर्दा पनि खन्नु र पुर्नुको कारण थाहा पाउन सकिएन । सोधेर हेरौं न त सोधें ।
सोध्न पाएको थिइन, खन्नेले भने, तपाईंले सोध्नुभएको सवाल जायज नै हो । हामीलाई पनि यस्तो लागिरहेको छ । खासमा हामी तीनजना हौं यहाँ काम गर्ने । सडक किनारामा एउटाले खाल्डो खन्ने, अर्कोले बिरुवा रोप्ने र तेस्रोले खनेको ठाउँ पुर्ने भनेर हामीबीच काम विभाजन गरिएको थियो । तर आज काम गर्ने तीनजनामध्ये बिरुवा रोप्ने साथी आएन । ऊ आएन भन्दैमा हामी दुईले काम नगर्ने भन्ने कुरा भएन ।
उनीहरू आफ्ना कुरा बताइसकेपछि खन्ने खन्नमै व्यस्त भयो र पुर्ने व्यक्ति पुर्ने काममै दत्तचित्त बन्यो । तर म आफू भने बिलखबन्दमा परें । दोषी वास्तवमा को हो ?
तीनजनाको काम र उनीहरूको कार्य विभाजन ? अहँ, उनीहरू आफ्नो जिम्मेवारीको काम त गरिरहेका छन् । तर उद्देश्यअनुसारको काम भइरहेको छैन । बिरुवा नै नरोपी खाल्डो पुरेपछि खाल्डो खन्नु र खाल्डो पुर्नुको के मतलब ?
गणेशजीको सवालको जवाफ दिनुअघि धेरैबेर घोत्लिनै पर्यो । घोत्लिदै मुन्टो उठाउँदै भनियो, यी तीनलाई काम लगाउने व्यक्ति । उसले यी तीनलाई बिरुवा रोप्न काम लगाएको हो । उसले न्यूनतम जिम्मेवारी पनि पूरा गरिरहेको देखिँदैन ।
अब प्रश्न गर्ने पालो गणेशजीको थियो, उनी सोध्न थाले ।
गणेशः कांग्रेस, माओवादी र मधेसी मोर्चा मिलेर किन प्रचण्डको नेतृत्वमा सरकार बनाएका हुन् ?
मैले भनेः चुनाव गर्न ।
गणेशः खै त चुनाव ?
मैले भनेः नौ महिनाभित्र चुनाव गराइसक्न आएको सरकारले चुनावको मिति पनि घोषणा गरेन ।
आफूले गर्छु भनेर गर्न नसकेको कामको लागि खाल्डा खन्ने र पुर्नेले झैं कांग्रेस—माओवादी—मधेसी मोर्चाहरू गरिरहेका मात्र छैनन्, मधेसी सरकारमा नरहेको भन्दै माओवादीले खाल्डो खन्ने र कांग्रेसले पुर्ने काम गरिरहेका छन् । मधेसी मोर्चा, कांग्रेस र माओवादीले खाल्डो खनेको र पुरेको हेरेर बसिरहेको छ, बिरुवा रोप्न नै आइरहेको छैन ।
देश अनिर्णयको बन्दी बनिरहेको छ । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीको पगरी गुथेर बसिरहेका छन् भने कांग्रेस सभापति देउवा प्रचण्डको काँधमा बन्दुक राखेर छिमेकी खुसी पार्दै पगरी कुरिरहेका छन् ।
देश भने निर्वाचनमा जान ढिलाइ भइसकेको छ । ०७४ माघ ७ गतेभित्र स्थानीय, प्रादेशिक र संसदीय चुनाव भइसक्नुपर्ने संवैधानिक सीमाले मुलुक अनिर्णयको बन्दी बन्ने चक्रव्युहको मुखैमा पुग्न लागेको छ । जबकि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र आमजनमत निर्वाचन, निर्वाचन र निर्वाचन भनेर रट लगाइरहेका छन् ।
पत्रपत्रिका, रेडियो, टीभी, सामाजिक सञ्जालहरूमा समाचार, विचार, सम्पादकीय र स्तम्भहरू चुनावको मिति घोषणा गर्न दबाब दिइरहेका छन् । पूर्वनिर्वाचन आयुक्तदेखि बुद्धिजीवी, नागरिक समाज चुनाव, चुनाव र चुनाव भनिरहेका छन्, तर प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार र देशको ठूलो पार्टीका नेता देउवा निर्वाचनको मागले देश चुनावमय बन्न लागिसक्दा पनि निरोले झैं बाँसुरी बजाएर बसिरहेका छन् ।
गएको भदौदेखि मंसिरसम्म चैतमा चुनाव र सत्ता हस्तान्तरण भनिरहे । प्रधानमन्त्री बनेलगत्तै चैतभित्रै चुनाव भनिरहे । जब पुस लाग्यो उनले अब वैशाखमा चुनाव भन्न थाले । माघ लागेपछि जेठ भन्न सुरु गरे । अब आजको तीनदिनपछि माघ सकिँदैछ, अब अर्को मंसिर भनेर टार्ने मेलो गर्दैछन् ! यसैको कडी हो, यस्तो बेलामा आएर संसद्लाई बिजनेस नदिएर दुई साता बन्द गर्नु ।
चुनाव टार्नु भनेको त सत्ता लम्ब्याउने खेल मात्र हो । अरूको एजेन्डामा सत्ता तन्काउने उक्साहटमा प्रधानमन्त्री गैरजिम्मेवार हर्कतमा लागेको आरोप लाग्न थालेको छ र स्वयं कांग्रेसीहरूले यो सवाल उठाएका मात्र के थिए, निर्वाचन नगर्न महाराज ज्ञानेन्द्रमा बिन्तीपत्र चढाउने शेरबहादुरले यु टर्न लिइहाले ।
पूर्वनिर्वाचन आयुक्तदेखि बुद्धिजीवी, नागरिक समाज चुनाव, चुनाव र चुनाव भनिरहेका छन्, तर प्रधानमन्त्री प्रचण्ड र सत्ता साझेदार र देशको ठूलो पार्टीका नेता देउवा निर्वाचनको मागले देश चुनावमय बन्न लागिसक्दा पनि निरोले झैं बाँसुरी बजाएर बसिरहेका छन् ।
संविधान घोषणापश्चात् कार्यान्वयनमै जानुपर्ने हो तर सत्तामो कांग्रेस—माओवादीहरू टाङ अड्याएर बसिरहेका छन् । मधेसी मोर्चा यही खालमा च्याँखे थापिरहेको छ । यसले दन्त्यकथाको गाउँका ती फटाहालाई सम्झना गराएको छ, जो बाटोमा लौरो तेस्र्याएर बसेका छन् । उनीहरू निहुँ खोजेर बटुवालाई लुटपाट गर्ने नियत निकाल्छन् । अहिले यस्तै प्रवृत्ति नेपाली राजनीतिमा हावी भइरहेको छ । अस्थिरता चाहने बाह्यशक्ति तिनैलाई धाप मारिरहेको छ ।
निर्वाचन भनेकै जनमतबाट अगाडि बढ्ने हो । लोकतन्त्र भनेकै यही हो । तर लोकतान्त्रिक संविधान बन्दा पनि नेपालीको दुर्भाग्य, संविधानमा निर्वाचन मिति तोकिन पाएन । बजेट आउने दिनजस्तै निर्वाचन हुने मिति संविधानमै लेखिँदो हो त निर्वाचनलाई कसैले टार्न सक्दैनथ्यो ।
निर्वाचन लोकतन्त्रलाई संस्थागत गर्ने औजार हो । निर्वाचन लोकतान्त्रिक विधिबाट चल्ने संस्कार, संस्कृति र जीवन पद्धति हो ।
निर्वाचित प्रतिनिधिको अभावमा देशको स्रोतसाधन परिचालन हुन सकेको छैन । संविधानअनुसारका संरचनाहरू बन्न पाएका छैनन् । सिंगो प्रशासन प्यारलाइज भएको छ । बजेट खर्च हुन सकिरहेको छैन । जनता मोबिलाइज हुन पाएनन् । लामो समयसम्म निर्वाचन नभएकोले पूरै पद्धति ब्लकेज भइरहेको छ । समयमा निर्वाचन हुन पाएको भए निर्वाचित जनप्रतिनिधिले देशलाई परिचालन गर्दथे । राष्ट्रिय जीवन स्वाभाविक रूपमा चल्न थाल्थ्यो ।
वरिपरि हेरौं, यति नै बेला भारतमा निर्वाचन भइरहेछ । अमेरिकामा भर्खरै निर्वाचन सकियो । लोकतान्त्रिक शासन व्यवस्था अपनाउने देशहरूमा निर्वाचन नै लोकतन्त्र हो । लोकतन्त्रमा निर्वाचन त्यस्तो शक्तिशाली मेसिन हो, जसले लोकतन्त्र उत्पादन, संस्थागत र प्रवद्र्धन गर्छ । निर्वाचनले नै लोकतन्त्रलाई शुद्धीकरण र वैधानिक बनाउँछ किनभने लोकतन्त्रले सरोकारवालाहरूको पक्षमा काम गर्छ ।
जर्मन प्रजातान्त्रिक समाजवादीहरूको संस्था, फ्रेडरिक इबर्ट स्टिफटुङ, एफईएसका नेपाल प्रमुख प्रा. देवराज दाहालले एक भेटमा भने, लोकतन्त्र सेयरहोल्डरको होइन, स्टेकहोल्डरको लागि काम गर्ने प्रणाली हो । सेयर होल्डरको हितमा मात्र काम गर्ने त बेपार हो । उनले थपे, जनता र राज्यले आफ्नो सम्प्रभुताको लागि निर्वाचन गराउनु पर्दैन तर राजनीतिक पार्टी, सरकार, दलका प्रतिनिधि र सांसदहरूले जनताबाट आवधिक रूपमा चुनिइरहनुपर्छ । यो नै लोकतान्त्रिक प्रणाली हो ।
लोकतान्त्रिक सिद्धान्तअनुसार निर्वाचन प्रणालीलाई अवरुद्ध गर्नु अथवा समयमा निर्वाचन नगर्नु भनेको नेपाली जनताले संघर्षबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यान्वयन गर्न पन्छिनु हो । यो अलमलले मुलुक र जनताको हित गर्दैन भन्ने जगजाहेर छ । आवधिक निर्वाचन समयसीमामा नहुनु भनेको अराजकता, अधिनायकवादतर्फ जानु हो र नयाँ पुस्तालाई सत्तामा पुग्नबाट रोक्नु हो । यो भनेको नयाँ पुस्ताले मुलुक छोडेर विदेश जानु नै हो । यसरी निर्वाचन पन्छाएर बाँडफाँडको राजनीति हावी हुनुले मुलुकलाई हानि पुर्याइरहेको छ ।
निर्वाचन पन्छाउने सत्तासीनहरूको खेललाई जारी रहन दिइरहने हो भने भएका परिवर्तनले पनि आफ्नो स्वरूप ग्रहण गर्न सक्दैनन् । राज्यका प्रमुख पदहरूमा महिलाहरू पुगे पनि उनीहरू सशक्त बन्न सकेका छैनन् ।
राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश महिला छन् तर निर्वाचनको अभावमा यिनले शक्ति प्रयोग गर्न पाएनन् । राजनीतिक शक्ति दलका नेताहरूले पो प्रयोग गरिरहेका छन् । किनभने पद महिलामा सिफ्ट भए पनि पावर महिलामा सिफ्ट हुन पाएन ।
विभिन्न बहानामा निर्वाचन रोकेर महिला, जनजाति, दलित, सीमान्तकृत मानिसको हातमा शक्ति जानलाई रोकिएको छ । संविधानसभालाई परिवर्तित संसद् त बनाइयो, तर त्यसमा सदस्यहरूको अवस्था केलाउने हो भने निर्वाचितभन्दा दोब्बर समानुपातिक सदस्यहरू छन् । यिनीहरू निर्वाचन भयो भने जागिर जाने डरले त्राहीमाम छन् ।
विडम्बना के भने आफूलाई प्रजातन्त्रवादी÷प्रगतिशील भन्ने पार्टीका युवा नेताहरू पनि निर्वाचनको पक्षमा बोल्न सकिरहेका छैनन् । यिनले आआफ्नो जात बिर्सेका छन् । विडम्बना के भने दिनरात नभनी निर्वाचन विधेयक बनाउन लाग्नुपर्ने युवाहरू हो रेस्टुरेन्ट, क्याबिन र बारको दुलामा पस्न छोड । डन नेताको चाकरी गर्न छोड, जनताको पक्षमा बोल्न थाल । आँट गर, माग गर युवाहरू हो— निर्वाचन मिति तत्काल घोषणा होस् ।
पुनर्निर्माणको काममा कतैबाट बाधा नहोस् । आर्थिक स्रोतसाधन परिचालन गरी विकासका काम अगाडि बढाइयोस् । सामाजिक सद्भाव र राष्ट्रिय एकता जागरण होस् । राजनीतिक तरलता र अस्थिरताको अवस्थामा सन्तुलित कूटनीतिक कौशलतामा नचुक ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)