बाबु, गेट वेल सुन

बाबु, गेट वेल सुन

भारतको हरियाणास्थित मेदान्त अस्पतालमा पाँचवर्षे छोराको उपचार हुँदैछ । ब्रेन ट्युमर (parameniggeal rhabdomyosarcoma) भएको छ, सानो बालकलाई । नेपालमा उपचार गराउँदा रोग पत्तै लागेन । दुई लाख रुपैयाँ सकियो । बालक ठीक भएन । मुख बांगियो । आँखा बांगियो । बान्ता गर्न थाल्यो तर पनि डाक्टरहरू कुनै टुंगोमा पुगेनन् । हस्याङफस्याङ गर्दै आमाबाबुले मेदान्त पुर्‍याए । मोबाइलमा फोटो देखाउँदै बाबुले विराटनगरमा उपचार गराउँदाको गुनासो पोखे ।

अस्पतालको खर्च धान्न आफन्तबाट सहयोग, ऋण संकलन गरे । व्यवसाय चलाउनलाई किनेको गाडी बेचे, १०, १२ लाख (भारतीय रुपैयाँ) सकिसक्यो । अप्रेसन गरेर ट्युमर निकालिएको छ । निकाल्न नसकिएको ट्युमर रेडियोथेरापीले ठीक गर्ने डाक्टरहरू भने । ४८ हप्ताको कोर्स छ । रेडियो र किमोथेरापी सुरु गरेको २९औं हप्ता भयो । हप्तामा एक पटक किमो दिएपछि दुईतीन दिनसम्म बालक थलिन्छ ।

अलिअलि ठीक हुन नपाउँदै फेरि अर्को हप्ताको किमो दिने पालो आइसक्छ । गहभरि आँसु पार्दै बालकका बाबुले दुःखेसो पोखे, कुन पाप गरेका थियौं र यस्तो दिन भोग्नुपर्‍यो । हुन पनि त्यति सानो बालकको पीडा कसरी सहन सक्नु ? किमो गराउँदा उसको अवस्था सहिनसक्नु हुन्छ । टाउकोको देब्रे भागमा चार इन्च जति चिरा पारेर अप्रेसन गरिएको छ । हेर्नुस् भन्दै मोबाइलको फोटो फेरि देखाए ।

कसैले नेपाल सरकारले यस्तो बिरामीलाई नगद सहयोग गर्ने प्रावधान छ भनेर सुनाइदिएको थियो । छोराको उपचारमा रहेका बाबुले भ्याएनन् र त्यो सहयोग पाइन्छ कि भन्ने आशामा बालकका हजुरबुबा काठमाडौं धाए । त्यही सहयोग पनि स्वदेशमा उपचार गराउँदामात्र तीन लाख ५० हजार पाइने तर मुलुक बाहिर उपचार गराउँदा एक लाख रुपैयाँमात्र दिइने रहेछ । ६५ वर्षीय बूढा मान्छेले त्यै पैसा पनि पाएका रैनछन् । आजआज, भोलिभोलि भन्दै अल्झिँदाअल्झिँदै पूर्वी तराईमा बसोबास गरिरहेका हजुरबुबाको काठमाडौं आउँदा जाँदा नै १०, १५ हजार खर्च भइसक्यो । वृद्ध मान्छे एक्लै जान सक्दैन साथी लिएर जान्छन्, खर्चको भारी झन् थपिन्छ । हजारौं रुपैयाँ खर्च भइसक्यो ।

थाकेका छोराका बाबु अन्त्यमा सहयोग राशिको निवेदन बोकेर नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन दिन आइपुग्दा पंक्तिकारसँग भेट भयो । के कति कारणले सहयोगको रकम यति लामो समयसम्म पनि नपाएको भन्ने बेहोरासहितको निवेदन दूतावासमा दिए । दूतावासले पनि त्यो निवेदन परराष्ट्र मन्त्रालयलाई फरवार्ड गर्नेमात्र हो । निवेदन त फेरि पनि मन्त्रालयकै वरिपरि फाइलमा घुम्ने त हो ।

सानो बालकलाई ब्रेन ट्युमर भएको सुन्नेबित्तिकै जान्न मन लागेर सोधेको मात्र के थिएँ । बालकका बाबुको पीडा छचल्कियो । ६ महिनादेखि मेदान्तमा उपचार गराइरहेका बाबुले पंक्तिकारको परिचय पनि सोधेनन्, उपचारको सुरुको अवस्थादेखिको प्रेस्क्रिप्सन देखाउन थाले । हरेकपटक लाग्ने इन्जेक्सनको खर्च पनि बताउन थाले । मैले बाबुको पीडालाई सुनिसकेपछि आफू पत्रिकामा काम गर्ने बताउने बताएँ । परिचय दिनेबित्तिकै उनले भने ‘भैगो नलेखिदिनुहोला मेरो पीडा' भने । बालकको आँखा अझै सिधा भएको रहेनछ । तर छोरा निको हुने आसमा छन् उनी ।

पंक्तिकारसँग उनले अनुरोध गरे, ‘कृपया बालकको र मेरो परिवारको नाम पत्रिकामा नछापिदिनुहोला ।' छोरा ठीक भएर स्कुल जाने भएपछि पत्रिकामा असली नाम छापियो भने उसका साथीभाइले ट्युमर भएको थाहा पाउँलान् र हेप्लान् भन्ने उनलाई चिन्ता छ । छोरालाई त्यसले नराम्रो लाग्ला भन्ने उनलाई रहेछ ।

उनलाई सरकारले दिने सहयोग राशिप्रति अब आस छैन । ‘अन्तिम पटक कोसिस गर्नका लागि दूतावासमा आएको हुँ, भए ठीकै छ नभए पनि मेरो बालकको उपचार त जसरी पनि गर्नै पर्छ । सरकारले त हुनेखानेलाई पो लाखौंलाख सहयोग दिने हो, हामीजस्ताले त यी यसरी कागज बोकीबोकी धाउनुपर्छ', आक्रोश मिश्रित पीडा पोख्दै उनले भने, ‘उनीहरू विदेशमा उपचार गराउँदा पनि लाखौंलाख पाउँछन्, नियम, कानुन र झन्झटिलो प्रक्रिया त हामी आम जनताका लागि मात्रै त हो ।' हुन त लाखौं खर्च हुने बिरामीका लागि सरकारले दिने भनेको एक लाख रुपैयाँ सानो अंशमात्रै हो, तर त्यो पाउनका लागि उनले भोगेको सकस निकै ठूलो थियो ।

बाँच्दैन भनेर आशा नै मारिसकेको बालकको अवस्थामा निकै सुधार आएको छ । एउटा छोरीमुनिको छोरा, खेल्ने कुद्ने उमेरको आफ्नो सन्तान त्यसरी बिरामी पर्दा कति काटिन्छ बाबुको मन, त्यो उनले भोगेका छन् । भन्छन् शत्रुको घरमा पनि बिरामी नपरोस्, त्यसमाथि पनि ज्यानै लिने क्यान्सर, ट्युमरजस्तो बिरामी त कसैलाई लाग्दै नलागोस् । मध्यम र निम्न मध्यमवर्गीय परिवारमा यस्तो रोग पस्यो भने परिवार नै बिरामी हुन्छ, अस्पताल धाउँदाधाउँदै र उपचार खर्चको जोहो गर्दागर्दै ।

सानो बालकले सहँदै गरेको ब्रेन ट्युमरको पीडा उनैलाई थाहा छैन आफूलाई के भएको भनेर ? उनलाई आँखा बाडियो, मुख बाँडियो, टाउको दुख्यो बान्ता भयो भन्ने मात्रै थाहा छ । तर ब्रेन ट्युमरले यत्रो पीडा दिएको भन्ने के बुझोस् पाँचवर्षे बालकलाई के थाहा !

गरिब मुलुकमा जन्मिनुको पीडा भयावह भइदिन्छ यस्तो बिरामी लागेपछि भन्ने दुरुस्त उदाहरण हुन् ती पूर्वी तराईका पीडितका पिता । आफ्नो मुलुकमा न उपचार विश्वासिलो छ न त सरकारले नागरिकको स्वास्थ्य सुरक्षाको जिम्मा नै लिएको छ । पाँचवर्षे बालकले के बुझोस् यस्ता कुरा । उसलाई त किमोथेरापी दिएपछिको पीडा मात्र महसुस हुँदो हो ।

उनी किमो दिएर थलिएको जीउ अलि निको भनेपछि बाबुलाई ‘हामी घर कहिले जाने ? ' भनेर सोध्छ रे ! उनको पीडालाई नाम राखेर नछाप्ने सर्तमा कुराकानी टुंग्याएर म आफ्नो गन्तव्यतिर लागेँ । अबोध बालकले पराया मुलुकमा गरेको मृत्युसँगको लडाइँ र ती पिताले भोगेको सास्ती हाम्रा ऊर्जाशील युवा मन्त्रीले हेरि पो हाल्छन् कि भनेर नाम नछाप्ने सर्तमै यो लेख्ने प्रयास गरेँ । अन्त्यमा, ती अबोध बालकलाई पंक्तिकारको तर्फबाट ‘गेट बेल सुन बाबु !'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.