आर्मी सजिलै सेमिफाइनलमा

आर्मी सजिलै सेमिफाइनलमा

सिमराः विभागीय टोली त्रिभुवन आर्मी क्लब रुस्लान आठौं सिमरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिमरा रंगशालामा मंगलबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा वीरगन्जलाई ३-० गोलले हराउँदै आर्मी अन्तिम चारमा पुगेको हो । उपाधिको दाबेदार मानिएको आर्मीको जितमा बालकृष्ण श्रेष्ठ, सन्तोष तामाङ र दीपक गुरुङले एकएक गोल गरे ।

प्रतियोगिताको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । आर्मीसँगै साविक विजेता प्राइम पोलिक्लिनिक विजय युथ क्लब, सीएमजी संकटा क्लब र हिमालयन शेर्पा क्लब अन्तिम चारमा पुगेका छन् । आर्मीले फाइनल प्रवेशका लागि बिहीबार हिमालयन शेर्पासँग प्रतिस्पर्धा गर्नेछ । सहारा क्लबलाई पहिलो खेलमा हराउँदै अन्तिम आठमा प्रवेश गरेको वीरगन्जका खेलाडीबीच तालमेल नमिल्दा खेलमा आर्मी हावी भएको थियो । आक्रामक सुरुआत गरेको आर्मीले १६औं मिनेटमै अग्रता लिएको थियो ।

स्ट्राइकर नवयुग श्रेष्ठले मिलाएको पासलाई सदुपयोग गर्दै आर्मीका बालकृष्ण श्रेष्ठले बललाई जाली चुमाए । उनको प्रहार रोक्न वीरगन्जका गोलरक्षक राकेश गुरुङ असफल देखिए । आर्मीले पहिलो हाफमा थप केही गतिला अवसर सिर्जना ग¥यो । ३७औं मिनेटमा आर्मीका सन्तोष तामाङको फ्रिकिक बललाई वीरगन्जका पिटर सेगुनले गोल लाइनबाट हेड गर्दै बचाए ।

झापा—११ बाट मनाङ मस्र्याङ्दीविरुद्ध सोमबार झापा गोल्डकपको फाइनल खेलेका प्रवेश कटुवाल, पुजन उप्रेती, खामिर गिल्सान, सन्जोग राई र दिलन लोक्तानसहित मैदानमा उत्रिएको वीरगन्जले खेलमा नियन्त्रण गुमाएको थियो । वीरगन्जको तालमेल नमिल्दा बलियो देखिएको आर्मीले ४०औं मिनेटमा अर्को अवसर गुमायो । सन्तोष तामाङले मिलाएको पासलाई सदुपयोग गर्न टंक बस्नेत चुकेका थिए ।

आर्मीले पहिलो हाफको इन्जुरी समयमा दोस्रो गोल गर्‍यो । दुई मिनेटको इन्जुरी समयमा आर्मीका सन्तोष तामाङले गरेको उत्कृष्ट प्रहारले सीधै जाली चुम्यो । खेलमा सशक्त प्रदर्शन गरेका आर्मीका गोलरक्षक बिकेश कुथु गम्भीर घाइते भई मैदानबाट बाहिरिए । ५०औं मिनेटमा बल रोक्ने क्रममा जितेन्द्र कार्कीसँग ठोक्किँदा कुथुको टाउकोमा चोट लागेको हो । टाउकोमा पाँचवटा टाँका लागेका कुथुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कुथु घाइते भएपछि सुनील श्रीवास्तव उनको स्थानमा आएका थिए ।

आर्मीले ५५औं मिनेटमा तेस्रो गोल थप्यो । बालकृष्ण श्रेष्ठको पासलाई सदुपयोग गर्दै दीपक गुरुङले टिमका लागि तेस्रो गोल गरे । ६३औं मिनेटमा आर्मीका भरत खवासले प्रहार गरेको बललाई वीरगन्जका राकेश गुरुङले बचाउने क्रममा रिबाउन्ड भएको बललाई नवयुग गोल गर्नबाट चुके । त्यसको १० मिनेटपछि आर्मीले अर्को सुनौलो मौका गुमायो । सन्तोष तामाङ वन भर्सेस वनको स्थितिमा गोल गर्नबाट चुके । उनको प्रहार वीरगन्जका गोलरक्षकले बचाउ गरे ।

यसैगरी ८७औं मिनेटमा वीरगन्जका पिटर सेगुनले गोल लाइनबाट सन्तोषको प्रहारलाई फर्काएका थिए । खेल सकिन केही मिनेट बाँकी रहँदा वीरगन्जले एउटा गोल फर्काउने अवसर चुकायो । निर्धारित समय सकिएपछि थपिएको इन्जुरी समयमा वीरगन्जका खामिर गिल्सानको प्रहार पोस्ट नजिकैबाट बाहिरिन पुग्दा आर्मीले सहज जित हात पार्‍यो ।

वीरगन्जका प्रशिक्षक सुलभजंग रानाले आर्मीविरुद्ध आफ्ना खेलाडीले खेल्न नसकेको प्रतिक्रिया दिए । आर्मीका प्रशिक्षक नवीन न्यौपानेले वीरगन्जका खेलाडीले सोचेजस्तो खेल्न नसक्दा सहज जित हात परेको बताए । उक्त खेलमा आर्मीका सन्तोष तामाङ म्यान अफ दी म्याच घोषित भए । उनले पाँच हजार रुपैयाँ पुरस्कार पाए । बुधबार विजय युथ क्लब र सीएमजी संकटा क्लबबीच खेल हुनेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.