भृकुटीमण्डपमा औषधि मेला हुँदै
काठमाडौं: राजधानीको भृकुटीमण्डपमा नेपाल फर्मा (औषधि) एक्स्पो आयोजना हुने भएको छ। नेपाल औषधि उत्पादक संघले ‘गुणस्तरीताबाट आत्मर्निभरता तर्फ'भन्ने नारासहित फागुन २० देखि २२ गतेसम्म तीन दिन एक्स्पो आयोजना गर्न लागेको हो।
औषधि उत्पादन र प्रविधिको क्षेत्रमा भएको अध्यावधिक विकास, उपलव्धि तथा प्रविधिबारे जानकारी गराउने उद्देश्यले एक्स्पो आयोजना गर्न लागेको आयोजकले जनाएको छ। एक्स्पोमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ। एक्स्पोमा डाक्टर, फर्मासिष्ट, स्वास्थ्यकर्मी, उद्यमी, मेडिसिन अध्ययनरत विद्यार्थी गरी ३० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको छ।
प्रदर्शनीमा नेपाल र भारतका करीव सयवटा औषधि उत्पादनसँग सम्बन्धित उद्योगहरु तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय छपाई गृह र स्वास्थ्य तथा औषधिसँग सम्बन्धित पत्रपत्रिकाको पनि सहभागिता रहनेछ। विदेशका फर्मा प्रोसेसिङ, मेशिन, उत्पादन उपकरण प्याकेजिङ मेशिन तथा उपकरण, फाइन केमिकल, बल्क ड्रग, वातावरण नियन्त्रण उपकरण, प्रयोगशाला उपकरण, गूणस्तर नियन्त्रण संयन्त्र तथा अन्य सेवा प्रदायकलाई एउटै थलोमा ल्याएर अन्तरक्रिया गराउने एक्स्पोको उद्देश्य छ।
नेपालका औषधी उद्योगले विश्व स्वास्थ्य संगठनले लागु गरेको मापदण्ड अवलम्बन गरी गुणस्तरिय औषधी उत्पादनहरु सर्वसुलभ मुल्यमा उपभोक्ता समक्ष पुर्याइरहेका छन्। अहिले करिव ७७ प्रकारका जिवन उपयोगी औषधीमा नेपाल आत्मनिर्भर रहेको छ। नेपालमा करिव ५० वटा औषधी उद्योगहरु रहेका छन्।