राजधानीमा दुई वर्षभित्र स्काई रेल !
काठमाडौः काठमाडौं महानगरपालिकाले राजधानीमा स्काई रेल सञ्चालनबारे सम्भाव्यता अध्ययन गर्ने भएको छ । वाईबीडी साइमेक्स कम्पनी र महानगरपालिकाबीच बुधबार स्काई रेल चलाउने सम्भाव्यता अध्ययन अघि बढाउन द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
सम्झौताअनुसार आगामी दुई वर्षभित्र काठमाडौंमा ‘मोनो रेल' प्रणालीजस्तै स्काई रेल सञ्चालन गरिनेछ । साइमेक्सले तीनदेखि चार महिनाभित्रै १० किलोमिटरसम्मको रुटमा स्काइरेल चलाउने विषयमा सम्भाव्यता अध्ययन गरेर महानगरपालिकालाई ‘रिपोर्ट' बुझाउनेछ । काठमाडौंका अधिकांश क्षेत्रको अध्ययन सक्न कम्पनीलाई एक वर्ष लाग्नेछ । अध्ययनअनुसार स्काई रेल चलाउन सक्ने देखिए एक वर्षभित्रै सञ्चालनमा आउन सक्ने साइमेक्सका अध्यक्ष प्रसिद्ध पाण्डेको दाबी छ ।
काठमाडौंमा मेट्रोभन्दा स्काई रेलको सम्भावना राम्रो देखिएकाले सार्वजनिक निजी साझेदारी मोडेलअन्तर्गत सम्भाव्यता अध्ययन गर्न लागिएको महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले बताए । ‘मेट्रो रेलका लागि लगानी बोर्डले पनि अध्ययन थालेको छ ।
तर राजधानीको पूर्वाधार र ‘ग्राउन्ड रियालिटी' हेर्दा मोनो रेलजस्तै स्काई रेलको सम्भावना बढी देखियो', उनले भने, ‘मेट्रो रेल जमिनभित्र कुद्ने भएकाले निर्माण तथा सञ्चालन लागत बढी हुन्छ । सहरको पूर्वाधारसमेत धेरै नष्ट हुने हुँदा स्काई रेल नै बढी प्रभावकारी देखियो ।' फिजिबिलिटी रिपोर्ट आएपछि कुन मोडलमा कसरी स्काई रेल चलाउने भन्ने निर्णय हुने उनको भनाइ छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि रत्नपार्क र महाराजगन्जस्थित गंगालाल चोकदेखि रत्नपार्कसम्मको रुटमा पहिलो सम्भाव्यता अध्ययन हुनेछ ।
मलेसिया, जापान, चीनलगायत देशमा ११ मिटर फराकिलो सडकमाथि पनि स्काइ रेल चलिरहेकाले काठमाडौंमा यसको सम्भावना राम्रो रहेको तामाङले बताए । यो रेलको निर्माण लागत मेट्रोको भन्दा ८० गुणा सस्तो हुनेछ ।
निर्माण अवधि पनि मेट्रो रेलको भन्दा एकतिहाइ कम हुने भएकाले यसको राम्रो सम्भावना देखिएको पाण्डेले बताए । ‘हामी सुरुवातमा सम्भाव्यता अध्ययन गर्छौं, एक वर्षभित्र राजधानीभरिका रुटमा यसको अध्ययन भइसक्छ', उनले भने । भिजिबिलिटी अध्ययनका लागि साइमेक्सले नै पैसा खर्चिनेछ । त्यसका लागि महानगरपालिकाले साइमेक्सलाई कानुनी जटिलतामा सहयोग पुर्याउने सम्झौता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि रत्नपार्क र महाराजगन्जस्थित गंगालाल चोकदेखि रत्नपार्कसम्मको रुटमा पहिलो सम्भाव्यता अध्ययन हुनेछ ।
स्काई रेलका लिग राख्न ट्रली बसका जत्रै खम्बा राख्दा हुने भएकाले यसले सडकमा पनि कुनै असर नगर्ने पाण्डेले बताए । आकाशमा गुड्ने भएकाले यसले सडकको ट्राफिक व्यवस्थापनमा कुनै पनि किसिमको असर गर्दैन । सम्झौताअनुसार कम्पनीले महानगरपालिकालाई दुई तहमा प्रतिवेदन बुझाउनेछ ।
‘स्काई रेलमा लगानी गर्दा त्यसको प्रतिफल आउन सक्छ, पर्यटकीय क्षेत्र र राजधानीमा हुँदै आएको सवारी चापलाई समेत कम गर्न यसले सघाउँछ', तामाङले भने, ‘सम्भाव्यता अध्ययन टोलीले चिनियाँ निर्माण कम्पनी र अन्य मुलुकमा सञ्चालित स्काई रेलको नमुना अध्ययनसमेत गर्नेछ ।'