नेपालीका पाँच मुस्किल
भनिन्छ, ‘कुनै पनि कार्यालय कस्तो छ भनेर थाहा पाउन त्यस कार्यालयको शौचालय हेरे पुग्छ र कुनै पनि देश कस्तो छ भनेर थाहा पाउन त्यहाँको सडकको अवस्था हेरे पुग्छ ।' नेपालमा यी दुवैको अवस्था शोचनीय छ, देशको अवस्था पनि त्यस्तै । यस्ता मापदण्डमा नेपाल पहिलेभन्दा अझ खस्केको देखिन्छ । सकारात्मक टिप्पणी बिरलै सुनिन्छ ।
समन्वयात्मक नेपाली संस्कृति र सहिष्णुतामा प्रहार हुन थालेको छ । अरूको कुरा छोडौं, ‘महान् संघर्ष र त्याग' बाट ल्याइएको वर्तमान राजनीतिक व्यवस्थाले देश र जनताको भलो गरेको छ भनेर भन्न ‘आन्दोलनकारी' हरूले समेत सक्दैनन् । कोहीकोही त देश रसातलतर्फ गइरहेछ भन्न पनि पछि पर्दैनन् । यी अभिव्यक्ति अतिशयोक्ति होलान्, तर निराधार भने होइनन् ।
अवस्थाको मूल्यांकन देशको यथार्थ अवस्थाभन्दा पनि जनचाहना र वास्तविक उपलब्धिको अनुपातले निर्धारण गरेको हुन्छ । संघर्षको समयमा जनतालाई उत्तेजित गर्न विभिन्न अवास्तविक आशा देखाइएकै हुन् । हरेकलाई रोजगार, जातिपिच्छे अलग राज्य र स्वायत्तता, भौतिक पूर्वाधारको विकास, भ्रष्टाचारको अन्त्य, तीव्र गतिमा आर्थिक विकास, निःशुल्क शिक्षा र स्वास्थ्य सेवाजस्ता मनमोहक नारा दिएर जनतालाई भ्रमित पनि पारिएको हो । यी कुरा तत्काल गर्न सकिँदैन भन्ने तत्कालीन ‘क्रान्तिकारीहरू' लाई पनि ज्ञान नभएको होइन, तर आफ्नो स्वार्थपूर्तिको लागि यसो गर्नु उनीहरूको बाध्यता हुन पुगेको थियो ।
अहिले गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशीता सबै आयो, तर साथसाथै सबैको असन्तुष्टि पनि झन् बढेर गएको छ । यसबाट बच्न नेताहरूसमेत अलग-अलग गुँड बनाएर पन्छिदै गएका छन् । बाह्रबुँदेमा हस्ताक्षर गर्नेहरूसमेत त्यसलाई ‘महान् भूल' भनेर भन्न थालेका छन् । विद्रोह गर्ने मूल दलहरूसमेत यसबाट जोगिन या त विभाजन भएका छन् या दोष अरूको टाउकोमा पन्छाउने कोसिसमा छन् । विद्रोह हाल ‘टुहुरो' हुन पुगेको छ ।
विद्रोह जसरी सुरु भए पनि पनि अन्त्य विभिन्न शक्तिहरूको सम्झौतामा हुन पुगेको छ र यसमा विदेशी शक्तिहरू हाबी भएका छन् । आन्दोलनको मुद्दा नरहेका, देशम द्वन्द्व निम्त्याउने तर विदेशीका हितअनुकुलका विषयहरूसमेत परिवर्तनको समयमा सम्मिलित गरिएका छन् । आन्दोलनको समयमा उनीहरूले लगाएका ‘गुन' को बदलामा यस्ता कुरा सम्मिलित गराइएको विषय कसैबाट छिपेको छैन ।
कबोल गरिएका विषयहरू पुर्याउन नसक्दा सत्तामा बस्नेलाई अप्ठ्यारो परेको छ । पहाड, मधेस, हिमाल, सबै जातजाति र समूहसँग माग र असन्तोषको फेहरिस्त त छ तर सरकारसँग त्यो पुर्याउन सक्ने ल्याकत, स्रोत, इच्छाशक्ति केही पनि देखिँदैन, आफैंले बुनेको जालोमा आफैं फस्दै गइरहेको छ ।
जनतासँग जागरुकताको अभाव छैन, ज्ञानको कमी पनि देखिँदैन । यसले चाहनामा वृद्धि गराएको छ । माग राख्ने पक्षहरूको कमी छैन, माग पूरा गर्ने पक्ष भने देखिँदैन । विभिन्न निकायहरूको त कुरा छोडौं, सरकार स्वयंले समेत माग राख्ने गरेको देखिन्छ ।
भौतिक पूर्वाधारको गुणस्तर खस्केको छ, भ्रष्टाचारमा वृद्धि भएको छ, सहिष्णुतामा कमी आएको छ र समाजना स्वार्थीपनमा वृद्धि भएको छ । यसमा सुधार आउनैपर्छ, तर त्यो कसरी आउँछ कसैलाई थाहा छैन, अनिश्चितता बढाएको छ र यसले समाजमा सामूहिक विषयभन्दा व्यक्तिगत स्वार्थ हावी हुन पुगेको छ । सबै देशभक्त नेपालीलाई अहिले निम्न पाँच विषयहरूले चिन्तित बनाएको छः
राष्ट्रियता
नेपालीहरूलाई अहिले सबभन्दा चासोको विषय राष्ट्रियताको जगेर्ना कसरी होला भन्ने छ । अहिले जाति, समूह, लिंग, क्षेत्र, भाषा, भेष, धर्म आदिअनुसार राष्ट्रियताको व्याख्या गर्न थालिएको छ । एक समूहको व्याख्या र अर्को समूहको व्याख्यामा रहेको फरकले विवादमात्र होइन, द्वन्द्वसमेत उठ्न सक्ने खतरा बढेर गएको छ । राष्ट्रियताको व्याख्या समूहअनुसार फरक-फरक रूपमा उठ्ने गरेको छ । पहिचान खोज्ने समूहहरूको क्रियाकलापले नेपालको पहिचान जोगाउन गाह्रो परेको छ । नेपालको राष्ट्रियतामा यसरी प्रश्नचिन्ह यति टड्कारो रूपमा विगतमा कहिल्यै पनि उठेको देखिँदैन ।
सामाजिक सौहार्दता
नेपाल इतिहासमा सामाजिक सौहार्दता कायम रहेको उत्तम र उदाहरणीय देश हो । जाति, धर्म, समूह, भाषालाई लिएर नेपालमा कहिले पनि द्वन्द्व भएको छैन । आपसमा सौहार्दतापूर्वक मिलेर बस्नु नेपालीको स्वभाव रहेको छ । विविधतायुक्त भए पनि यहाँको विविधता विवादरूपमा भन्दा पनि विशेषताको रूपमा र सामाजिक सम्पत्तिको रूपमा रहने गरेको छ । नेपालीहरूको यो मूल मान्यतामा हाल आएर विचलन आउने पो हो कि भन्ने आशंका उठ्न थालेका छन् ।
सामाजिक विचलन, आपसी आशंका, विदेशी उक्साहट र तुरुन्त प्रतिफल चाहने आकांक्षाले सामाजिक सौहार्दतामा प्रहार हुन थालेको र समाजमा यसबाट परेका नकारात्मक प्रभाव क्रमिक र नजानिँदो रूपमा बढिरहेको अनुभूति नेपालीहरूले गर्न थालेका छन् ।
अहिले नेपालमा कहिल्यै नउठेको र विवादमा समेत नरहेको धार्मिक विषयलाई समेत प्रहार हुन थालेको छ । सनातन रूपमा चल्दै आएको विषय कुटिल चाल र लोभलालचको सहारामा सामाजिक सद्भाव खलबलिन सक्ने हिसाबले आक्रामक रूपमा प्रस्तुत हुन थालेको छ । मिलेर बसेकाहरूबीच फाटो ल्याउने कोसिस हुन थालेको छ । यसले बहुसंख्यक नेपालीलाई चिन्तित बनाएको छ ।
विदेशी हस्तक्षेप
नेपालमा बढ्दै गएको विदेशी हस्तक्षेपबाट नेपालीहरू सशंकित भएका छन् । हरेक राजनीतिक परिवर्तन मात्र होइन सरकार निर्माण, सरकारले गर्ने निर्णय, विकास निर्माणका कार्यहरूको छनोट, ठेक्कापट्टाको विनिर्णय, कर्मचारीको व्यवस्थापन र चौथो अंगमा प्रभाव पार्ने कार्यहरूमा समेत हस्तक्षेपको आभास हुन थालेको छ । यसले गर्दा आम नेपालीलाई सशंकित बनाउनुका साथै देशमा अस्थिरता बढाउने आशंका बढेको छ । सत्तामा रहिसकेका दलहरूबाट समेत यस विषयमा चिन्ता देखाइनुले सर्वसाधारणमा उद्वेग देखिन थालेको छ ।
शासक वर्ग छाडा, निरंकुश र अविवेकी भएको छ । यसले नेपालीहरूलाई किंकर्तव्यविमूढ मात्र होइन चिन्तितसमेत बनाएको छ ।
यसले गर्दा देशभित्र विभिन्न विदेशी शक्तिबीच चासो, चलखेल र प्रतिस्पर्धा बढ्न सक्ने अनुमान गर्न सकिन्छ । यसले नेपालमा मात्र होइन, सम्पूर्ण दक्षिण एसियामा नै प्रभाव पार्न सक्ने कुरालाई नकार्न सकिँदैन ।
कुशासन
परिवर्तनपश्चात् विगतमा रहेका अन्याय, अत्याचार, कुशासन, भ्रष्टाचार आदिमा सुभार आउनेमा जनताको आशा थियो । जनजीविकाका सवालमा सुधार हुने, आर्थिक समृद्धि हुने, रोजगारको अवसर बढ्नेजस्ता लोककल्याणकारी विषयहरूको पनि सम्बोधन गरिने आश्वासन जनतालाई दिइएको थियो । हाल आएर यसअनुरूप कुनै कार्य नहुनु र सत्ताको खेलमा मात्र सबै रङमगिनुले नेपालीहरूबीच निराशाको भावनामा बढेको छ । यी विषयहरूमा सुधार गर्नेतर्फ सम्बोधन हुन अनिवार्य छ भन्ने सत्तामा रहनेहरूलाई थाहा नभएको पनि होइन । तर हाल जनहितभन्दा पनि ‘स्वहित' तर्फ मात्र चासो बढेको र सोहीअनुसार कार्य हुने गरेको देखिन्छ ।
कुनै पनि देशमा शासकहरूलाई आफ्नो बाटोबाट हिँडाउन मार्गदर्शन गर्ने र त्यसबाट विचलित भएमा सजाय दिने कानुन व्यवस्था र निकाय रहेको हुन्छ । प्रजातन्त्रमा समयसमयमा हुने चुनावमार्फत जनताले र संविधानअनुरूप स्थापित संरचनाहरूले यो कार्य गरिरहेको हुन्छ । नेपालमा हाल चुनाव नभएको लामो अवधि भइसकेको छ र अन्य निकायहरूसमेत सार्थक र प्रभावकारी हुन सकेका छैनन् । यसले गर्दा शासक वर्ग छाडा, निरंकुश र अविवेकी भएको छ । यसले नेपालीहरूलाई किंकर्तव्यविमूढ मात्र होइन चिन्तितसमेत बनाएको छ ।
पश्चात्ताप
आम नेपालीमा अहिले आफूले गरेका कार्यप्रति नै पश्चात्तापको भावना आउन थालेको देखिन्छ । कतिपय ‘लहैलहै' मा लागेर गरेका कार्यहरू र त्यसबाट सिर्जित परिणामले कतिपयमा हाल पछुतो गर्नुपर्ने अव्यवस्थासमेत आएको छ । भइसकेका काममा जुन गलत भएको छ, त्यसलाई सच्याउने र अपरिवर्तनीय विषयमा सुधार गर्दै जानु नै सही कदम हो । यस्ता परिघटनाले नेपालीहरूमा परिपक्वता भने बढाएको छ । यसले गर्दा उचित समयमा यसका कारकतत्वलाई जनताले उचित पाठ पनि सिकाउने नै छन् ।
नेपाली आम जनमानसले यस्ता विषयहरूलाई अझ बढ्न नदिई समयमै अगुवाहरूलाई सचेत गराउन आवश्यक छ । जनताले चाहेमा हुन नसक्ने केही पनि हुँदैन, जनअठोट र सोहीअनुरूपको कार्य भएमा बिग्रेकालाई सच्याउन या प्रतिस्थापन गर्न जनतासँग सामथ्र्य छ । यसको लागि जनता पनि व्यक्तिगत स्वार्थ र लोभलालचको पछि लाग्नु हुँदैन ।