ग्य्रान्ड डिजाइन सार्वजनिक

ग्य्रान्ड डिजाइन सार्वजनिक

नेपालमा कुनै बेला नेताहरूले धेरै प्रयोग गर्ने शब्द थियो- ग्य्रान्ड डिजाइन । २०५८ को राजदरबार काण्डपछि प्रत्येक सभामा यो शब्द उच्चारण नगरी भाषणको सुरुआत र अन्त्य गर्दैनथे- गिरिजाप्रसाद कोइराला । डिजाइन शब्द इन्जिनियरिङमा प्रयोग गरिन्छ । कुनै परियोजना सञ्चालन गर्नुअघि सर्वेक्षण डिजाइन र सम्भाव्यताको आधारमा कार्यान्वयन गर्ने गरिन्छ । विकसित देशहरूमा डिजाइनमा काम गर्नेलाई स्वप्नद्रष्टा मानिन्छ र त्यहाँ काम गर्नको लागि हानथाप परेको देखिएको छ ।

राजनीतिमा डिजाइनको प्रभावले गैरप्रजातान्त्रिक संस्कार र जवाफदेहीविहीनताको सुरुआत गरेको छ । जस लिने काम भए संघीय लोकतान्त्रिक गणतन्त्र भनेर डम्फू बजाउने अनि खराब कामको दोष राजसंस्था, चीन र भारतलाई देखाउने नेताहरूको रक्षाकबच ग्य्रान्डडिजाइन रहेको छ । जब कुनै काम गर्नु छैन भने त्यसमा अनेक विशेषण जोड्ने चलन छ । मानवलाई महामानव बनाएजस्तै डिजाइनमा ग्य्रान्ड शब्द जोडेको देखिएको छ ।नेपालमा २४८ वर्षअगाडि पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरेपछि नेपाललाई असली हिन्दुस्तान बनाउने भनेर केपुचिन पादरी र उनका केही अनुयायीहरूलाई देश निस्कासन गरे ।

तिनका अनुयायीहरूको मास्टर प्लानअन्तर्गतको डिजाइन नै २०५८ को दरबार हत्याकाण्ड, बाबुराम भट्टराईको तत्कालै कान्तिपुरमा प्रकाशित प्रायोजित लेखमा तत्कालीन राजा ज्ञानेन्द्रबारे भ्रम सिर्जना गरिनु, ०५२ मा सुरु माओवादी जनयुद्ध, ०६२ को नयाँदिल्लीमा भएको बाह्रबुँदे सम्झौता, ०६३ वैशाख ११ गतेको सम्झौताको पालना नगरिनु, मधेस आन्दोलनको नाममा धर्म निरपेक्षता, संघीयता, गणतन्त्र संविधानमा राखिनु, राष्ट्रिय पोसाक र हिन्दु धर्मप्रति घृणा र द्वेष फैलाउनु, राष्ट्रिय पोसाक नलगाएर बुख्याचा जस्ता देखिनेलाई प्रधानमन्त्री, मन्त्री बनाइनु, ईश्वर र सत्यनिष्ठाको नाममा शपथ ग्रहण नगर्ने वामपन्थीहरूको सत्तामा र विपक्षमा हालीमुहाली, मधेस आन्दोलन र नाकाबन्दी गरिनु, मंगोलिया र चीनका परराष्ट्रमन्त्रीलाई एकै समयमा बालुवाटारमा भेटघाटको कूटनीतिक तमासाले चीनलाई रुष्ट बनाउनु, अनमिनका इयान मार्टिन र ईयूले इसाईको जालो फिँजाउनु, धनगढी, नेपालगन्ज र विराटनगरमा यूएनको फिल्ड कार्यालय कायमै गर्नु, यूएन मिसन शान्ति सेनाको नाममा सुरक्षा निकायलाई आन्तरिक सुरक्षाबाट हटाई विदेश पठाउनु, तराई-मधेसमा एनजीओ÷आईएनजीओको नाममा करोडौं डलर प्रवाह गरिनु, सीके राउतको छद्मभेषमा नयाँ शक्तिलगायत मधेसी फोरमको एकता कायम गरिनु, संविधान संशोधन र प्रदेशको सीमा निर्धारण, स्थानीय निकायलाई स्थानीय तहमा लैजाने नाममा निर्वाचन नगराउनु, न्यायपालिकामा चलखेल गरेर सर्वोच्चको अन्तिम फैसलालाई पुनरावलोकनको नाममा लोकमान र प्रेरणाको मुद्दा उल्टाउनु जसले गर्दा काल पल्कियो भनेर डराउनुपर्ने भएको र विवादास्पदलाई न्यायाधीश नियुक्त गरिनु, चुनाव नगराउनको लागि निर्वाचनमा पराजित मधेसी नेतालाई देखाएर अलमल्याइराख्नु नै दस वर्षको ग्य्रान्डडिजाइनका उपलब्धि हुन् ।

नेपाली भाषाको वर्णविन्यासमा विकृति ल्याइनु, पृथ्वीनारायण शाह र राजा महेन्द्रको नाममा घृणा र द्वेष बढाउने लेख राष्ट्रिय दैनिक पत्रिकामार्फत जनसमक्ष सार्वजनिक भइसकेको छ । नेपालको स्थायित्व र विकासमा मित्रराष्ट्र भारत र चीनको समान नीति रहेकाले प्राप्त गरेको उपलब्धि गुम्न लाग्यो भनेर केपुचिनका अनुयायीहरूको कोकोहोलो सुरु भएको छ ।
राजनीतिमा प्रोपोगान्डाको ठूलो भूमिका रहेको छ । प्रजातान्त्रिक आचरण र जवाफदेही लिनुनपर्ने र बाघको छालामा स्यालको दाइँ गर्नेलाई त यो नै प्रमुख हतियार रहेको छ । पौराणिककालदेखि नै राजनीतिमा साम, दाम, दण्ड र भेदको नीति अवलम्बन गरेको पाइएको छ ।

महाभारतमा सधैं साँचो बोल्ने युधिष्ठिरलाई मानिस हो कि हात्ती हो, अश्वस्थामा मारियो भन्न लगाएर गुरु द्रोणाचार्यलाई देह त्याग गर्न बाध्य पारियो । नेपाली जनमानसमा राजसंस्था र मित्रराष्ट्र भारत र चीनलाई डेभिलको रूपमा खडा गरिएको छ । हिटलरका प्रचारमन्त्री जोसेफ गोयबल्सले झूटलाई सयपल्ट दोहोर्‍याएपछि साँचो ठहरिन्छ भन्ने गोयबल्स सिद्वान्त प्रतिपादन गरेका थिए । नेपालमा रहेका गोयबल्सका चेलाहरूले भारत डेभिल हो भनेर नाकाबन्दीदेखि माइक्रो म्यानेजमेन्टसम्मको दोष दिइएको छ । भर्खरै नरेन्द्र मोदीको सरकारले नेपालसम्बन्धी नीतिमा पुनरावलोकन गरेकाले नेपाल—भारत सम्बन्धमा सिर्जना गरिएका शंकाको तुवालो हट्ने विश्वास गरिएको छ ।

पञ्चायतकालमा सोभियत भूमि र सचित्र चीन पत्रिका पढेर नेपालका वामपन्थीहरू स्कुल, कलेजका युवालाई राजनीति गर्न सिकाउँथे । त्यस्तै प्रजातान्त्रिक पक्षधरले अमेरिका र भारतको गुनगान गाउँथे । नेपालको बारेमा कुरा गर्नेलाई मण्डले भन्ने गरिन्थ्यो । मस्को, बेइजिङ र नयाँदिल्लीमा पानी परे काठमाडौंमा छाता ओढ्ने कहावत चलनचल्तीमा रहेको थियो । पढाइ पूरा गरेपछि योग्य र सक्षमहरू आआफ्ना कार्य क्षेत्रमा समर्पित भएर देश विकासमा लागिरहेका छन् । अन्य कुनैे पेसामा लाग्न नसक्नेहरू राजनीतिमा लागेर देशमा उधुम मचाइरहेका छन् ।

डिजाइनको पहिलो चरणमा २०५२ देखि २०६२ सम्म माओवादीमार्फत राजदरबारको संरक्षणको भ्रममा रोल्पाको होलेरी काण्डमा तत्कालीन गृहसचिवले माओवादी नेताहरू सीमा काटेर भारत नपसुन्जेल सुरक्षा निकायले घेरा कसिलो बनाउँदै लगेको भ्रामक समाचार प्रवाह गरिरहे । त्यस्तै प्रचण्ड भनेको ज्ञानेन्द्र हुन्, निर्मल निवास माओवादीको परमधाम भन्दै तत्कालीन गृहमन्त्री रामचन्द्र पौडेलमार्फत अफवाह फैलाउने काम गरियो । कहिले पद्मरत्न तुलाधरको फोटो भारतीय पत्रिकामा प्रकाशित गरेर जनतालाई भ्रममा पारियो । त्यस्तै सुरुङ युद्धको नाममा रुकुम, रोल्पाका विद्यालयका कलिला विद्यार्थीलाई खाल्डो खन्न लगाइयो । दरबार र भारतलाई देखाएर खुलेआम हिन्दु धर्मको विरोध र इसाई धर्म प्रचारको काम भयो ।

दोस्रो चरणमा नयाँदिल्लीमा बाह्रबुँदे सम्झौता गरेर माओवादी, कांग्रेस र एमालेलाई समावेश गरेर तानाशाही राजतन्त्र र संसद् विघटनविरुद्व ०६२÷६३ को जनआन्दोलन गरी वैशाख ११ गते संवैधानिक राजतन्त्र र संसद् पुनस्र्थापना गर्ने सम्झौता गरियो । युरोपेली युनियन, अनमिन र माओवादी लडाकुको डर, धाक देखाएर अन्तरिम संविधान २०६३ र मधेस आन्दोलनको नाममा संशोधन गरेर धर्म निरपेक्षता, संघीयता, लोकतान्त्रिक गणतन्त्र र समानुपातिक प्रतिनिधित्वको प्रावधान राख्न लगाइयो । गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिको ललीपप देखाएर माओवादी प्रचण्डले पहिलो संविधानसभा निर्वाचनमा ठूलो दल हुन सफल भए ।

संविधानसभाको पहिलो बैठक ज्येष्ठ सदस्यको अध्यक्षतामा राखी ताली ठोकेको भरमा गणतन्त्र घोषणा गरियो । राष्ट्रपतिको निर्वाचनमा गिरिजाप्रसादलाई लोप्पा ख्वाएर उनकै पार्टीका कनिष्ठ मधेसी नेता रामवरण यादवलाई राष्ट्रपति बनाइयो । सत्ता कब्जा गर्ने लक्षले प्रधानसेनापति कटवाललाई हटाउने प्रचण्डको डिजाइन भारतीय सेनाको हस्तक्षेप र दबाबमा असफल भएर लिट्टेका प्रभाकरण हुनुपर्ने डरले सत्ताबाट बहिर्गमन हुनुपर्‍यो ।

माधव नेपाल, झलनाथ खनाल हुँदै बाबुराम भट्टराई प्रधानमन्त्री भएर पहिलो संविधानसभा विघटन गराइयो । त्यसपछि बहालवाला सर्वोच्चका प्रधानन्यायाधीशलाई मन्त्रिपरिषद् अध्यक्ष बनाएर निर्वाचन गराइयो । कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो पार्टी भए । सुशील कोइराला प्रधानमन्त्री भएर ०७२ असोज ३ मा संविधान जारी नगरेसम्म शक्तिकेन्द्र भारतीय दूतावास लैनचौरमा सार्ने काम भयो । पहिलो चरणमा राजदरबार देखाएर भ्रम सिर्जना गरेजस्तै दास्रो चरणमा लैनचौरलाई देखाइयो ।

हिन्दु, बौद्ध र मुस्लिम धर्मावलम्बीहरू सबैको धर्मको रक्षा राजसंस्थाबाट मात्र हुनेमा अटुट आस्था र विश्वास रहेकाले इसाई धर्म परिवर्तन गर्न चाहनेको लागि तगारो भएका छन् । नयाँ नेपालको नारा त्यही तगारो भत्काउने डिजाइन नै रहेको छ ।

तेस्रो चरणमा नेपालमा हिन्दु राज्य र संवैधानिक राजतन्त्रले नै स्थायित्व र समृद्धि ल्याउँछ भन्ने नरेन्द्र मोदीको सरकार सत्तामा आएपछि मोदीको चीनको भ्रमणमा चिनियाँ नेताहरूसँग सहमति गरी लिपुलेक सम्बन्धमा द्विपक्षीय सम्झौता गरे । नेपालका प्रमुख दलका नेताहरूलाई दिल्ली आमन्त्रण गरेर संविधानमा नै यो प्रावधान राख्न सहमति गरियो । तर युरोपेली युनियन र अनमिनको दबाबमा सो सहमतिको उल्लंघन गरेर संविधान जारी गरियो । लैनचौरबाट दिल्लीमा सारिएको शक्तिकेन्द्रसँग सम्पर्क टुट्न गई मधेसी नेतामार्फत नाकाबन्दी र अहिलेसम्म निर्वाचन नगराउन र नयाँ शक्ति केन्द्र मधेसमा सार्ने काम भएको छ । पहिलो चरणमा राजदरबार, दोस्रो चरणमा लैनचौर र तेस्रो चरणमा दिल्लीलाई डेभिल देखाउने काम भएको छ ।

राजनीतिमा उपयोग नीतिअन्तर्गत प्रयोग गर्ने र फाल्ने नीतिअनुसार नै अहिले मधेसी नेताहरू उपयोग भइरहेका छन् । डिजाइनका प्रमुख पात्र प्रमुख तीन दलका नेताहरू जसले संविधान जारी गरी पर्दापछाडि बसेर अग्रभागमा निर्वाचनमा पराजित मधेसी नेतालाई देखाउने काम भएको छ । निर्वाचन जितेका र भविष्यमा पुनर्निर्वाचित हुने मधेसी नेताहरू यसमा समावेश भएका छैनन् । जनतामा भ्रम सिर्जना गरेर निर्वाचन सकेसम्म नगराउने अन्तिम कोसिस भइरहेको छ ।

ग्य्रान्ड डिजाइन सार्वजनिक भइसकेकाले अब डिजाइनकर्ताको पखेटा काट्ने काम सुरु भएको छ । भारत र चीनबीच नेपालमा राजसंस्था रहनुपर्छ भन्नेमा समान धारणा रहेको पूर्वराजा ज्ञानेन्द्रको दुवै देशको भ्रमणपछि पुष्टि गरेको छ । संसद् नचलेको बेला अध्यादेश ल्याएर पुरानो ऐनको ठाउँमा नयाँ ऐन लागू गरिने र संसद्बाट अनुमोदन नभएमा वा ६ महिना कटेपछि स्वतः नयाँ ऐन खारेज भएर पुरानो ऐन लागू हुने प्रजातान्त्रिक मान्यता छ । त्यस्तै २०४७ को संविधानको ठाउँमा अन्तरिम संविधान जारी गरिएको र नयाँ संविधान निर्वाचनमार्फत जनताबाट अनुमोदन नहुँदा स्वतः पुरानो संविधान लागू गरेर निर्वाचन गराउनुको अर्को विकल्प देखिएको छैन । ज्ञानेन्द्रको पछिल्लो प्रेस विज्ञप्ति यही आधारमा आएको हुनुपर्छ ।

भारतको नेपाल नीतिमा परिवर्तन, चीनको प्रचण्ड-देउवा गठबन्धन सरकारसँग सम्बन्ध नसुध्रिनु, तराई-मधेसमा सीके राउतमार्फत परिचालित एनजीओको प्रभाव रोक्न युरोपेली युनियनको आर्थिक चलखेलमा बन्देज, यूएनको फिल्ड अफिस बन्द गरिनु र सीके राउतलाई हिरासतमा लिनु, एमालेको डिजाइनमा युरोपेली युनियनको फोटोकपी स्थानीय निकायको पुनर्संरचना रोकिनु, आईजीपी नियुक्ति वरिष्ठताको आधारमा गर्न लागिनु, विधायकहरूको ईयू प्रायोजित भारत भ्रमण दलाई लामा देखाएर रद्द गरिनु, सुरक्षा निकायलाई शान्तिसेनामा नपठाई देशकै शान्तिसुरक्षामा केन्द्रित गराउनु, सर्वोच्चले द्वन्द्वकालीन घटना छानबिन गर्ने बाटो खोल्नु र न्यायपालिकामा भएको घूसपैठमा चाँडै सुधार गरिने कार्य रहेका छन् ।

नवनागरिकहरूले पुरानालाई विस्थापित गरेको देखेर त्यसको विरोधमा तराई-मधेसका जनताले आन्दोलन सुरु गरेका छन् । स्थानीय निकायको पञ्चायतकालीन संरचनामै निर्दलीय चुनावको माग गरेका छन् उनीहरूले । पृथ्वीनारायणले नेपाल राज्य एकीकरण गर्ने क्रममा काठमाडौं विजय गरेर जीवित देवीको रूपमा मानिने कुमारी पूजा गरेर नेवारहरूको रीतिरिवाज र संस्कृतिलाई मल्लकालमा जस्तै यथावत् सञ्चालन गराएको, इन्द्रजात्रा, खड्गजात्रा र भर्खरै जैसीदेवलमा नेवार गुठीको घेम्पो पूजामा राजालाई नै राष्ट्राध्यक्ष मानेका र राजा ज्ञानेन्द्रले नारायणहिटीबाट निर्मल निवास जाने बाटो चौडा गर्न सर्वेक्षण गराउँदा लाजिम्पाट महाराजगन्ज बजारका धेरै आदिवासी र नेवारको घर भत्काउनुपर्ने देखिएपछि सो कार्य रोकेको स्थानीय वासिन्दाले सम्झिरहेका छन् । केपुचिनका अनुयायी केहीबाहेक सम्पूर्ण आदिवासी र नेवारहरू राजभक्त र राष्ट्रवादी तथा सफल व्यापारी र उद्योगपति भएकाले नै गणतन्त्र ल्याउनेहरूको आँखाको तारो भएका छन् ।

यस्तै गोरखाकै माओवादी नेता बाबुरामले नेवारको छोरी विवाह गर्ने अन्य कम्युनिस्ट नेताजस्तै भएर ससुराली नेवारहरू र अन्य आदिवासीको बसोबास भएको क्षेत्र खोजीखोजी सडक विस्तारको नाममा उठिबास गराएर सुकुमबासी बनाइरहेका छन् । काठमाडौं, ठिमी, हेटौंडाजस्ता आदिवासी र नेवारहरूको बसोबास भएको सहरी क्षेत्रबाट उनीहरूलाई विस्थापित गर्ने डिजाइन कार्यान्वयन गर्ने प्रयास भएको छ । सम्पूर्ण आदिवासी र नेवारहरू यसको विरोधमा संगठित भएका छन् ।

नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहका प्रमुख सहयोगी काठमाडौं महानगरपालिकाका पूर्वमेयर पीएल सिंहले पुरानो शक्तिको नाममा २०४७ को संविधान लागू गर्नुपर्छ भनेर आन्दोलन गर्नु, काठमाडौं गणेशस्थानका प्रदीपमान श्रेष्ठले आरके मानन्धरको इमेज च्यानल ‘जसले पहिलोपटक प्रचण्डको शक्तिखोरको भीडीओ प्रसार गरेको थियो' बाट हरेक दिन जनताको अभिमतमार्फत राजसंस्था पुनस्र्थापित गर्नुपर्छ भनेर अभियान चलाएका छन् । त्यस्तै हिन्दुधर्ममा जन्मदेखि मृत्युसम्मका सबै शुभ र अशुभ कार्यमा राजाको महत्वव अनिवार्य मानिन्छ ।

पशुपतिनाथ र भारतका चार धाममा शंकराचार्यले राजालाई अहिले पनि त्यत्तिकै आदरणीय स्थान दिएका छन् । हिन्दु, बौद्ध र मुस्लिम धर्मावलम्बीहरू सबैको धर्मको रक्षा राजसंस्थाबाट मात्र हुनेमा अटुट आस्था र विश्वास रहेकाले इसाई धर्म परिवर्तन गर्न चाहनेको लागि तगारो भएका छन् । नयाँ नेपालको नारा त्यही तगारो भत्काउने डिजाइन नै रहेको छ ।

विगत ५० वर्षदेखि कायम स्थानीय निकायको पहिचान मेटाएर गाविसलाई वडामा, गाविस सचिवलाई वडा सचिवमा र गाविस अध्यक्षलाई वडा सदस्य बनाउने प्रस्ताव छ । भौतिक पूर्वाधार केही नभएका गाउँलाई नगरपालिका घोषित गरेर र संघीयताको नाममा तथाकथित दुई नम्बर र पाँच नम्बर प्रदेशको सिमांकन र संशोधनको नाटकले पहाडी र तराई-मधेसका जनतालाई भड्काउने काम भएको छ ।

केपुचिन पादरीका अनुयायीले बनाएको मास्टर प्लान ग्य्रान्ड डिजाइनको सार्वजनिक भएको छ । अब हुने परिवर्तन विगतको नयाँ नेपालको नाममा भएको छद्मभेषीलाई बढारेर नेपालको गौरव र स्वाभिमान कायम गराएर आगामी कदम सम्पूर्ण नेपालीको सुख र समृद्धितर्फ अगाडि बढोस् भन्ने कामना गरौं ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.