‘नयाँ आईजी आइतबार'
काठमाडौंः कांग्रेस सभापति शेरबहादुर देउवा र पार्टीकै नेता उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिबीचको चर्को विवादका कारण बिहीबारको मन्त्रिपरिषद् नयाँ आईजी नियुक्ति प्रकरण टुंग्याउन असफल भएको छ ।
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ प्रहरी प्रमुखको छनोटबारे आइतबारसम्म सबै विवाद टुंगिने दाबी गरेका थिए । सत्ता गठबन्धनका प्रमुख नेता शेरबहादुर देउवाले तेस्रो बरियताका डीआईजी जयबहादुर चन्दलाई आईजी बनाउन उपप्रधान तथा गृहमन्त्री निधिसँग अडान लिएपछि सरकारले निर्णय लिन नसकेको हो । स्रोतका अनुसार देउवाले आइतबारको क्याबिनेटमा चन्दको प्रस्ताव लैजान निधिलाई निर्देशन दिएका छन् ।
मन्त्रिपरिषद्को बालुवाटारमा बसेको आकस्मिक बैठकमा प्रधानमन्त्री दाहालले नयाँ प्रहरी प्रमुख नियुक्तिबारे राजनीतिक दलबीच भइरहेको छलफललाई आइतबारसम्म टुंग्याउने जानकारी गराएको एक मन्त्रीले बताए । ‘पार्टीहरूबीचको छलफलमा समझदारी कायम गरी आइतबारसम्म टुंग्याइन्छ', दाहालको भनाइ उद्धृत गर्दै ती मन्त्रीले अन्नपूर्णसँग भने ।
प्रधानमन्त्री दाहालले बैठकमा आईजी नियुक्ति प्रकरणमा भइरहेको विवादबारे जानकारी गराएका थिए । पहिलो बरियताका डीआईजी नवराज सिलवाललाई आईजी बनाउन उपप्रधान तथा गृहमन्त्री निधिको देउवासँग चर्काचर्की परेको थियो ।
‘पार्टी सभापतिले गरेको निर्णय नै हामीले सरकारमा कार्यान्वयन गराउने हो', देउवा र निधिको बैठकमा सहभागी कांग्रेसका एक मन्त्रीले भने ।