जीवनलाई मायाले जोड्छ
वैवाहिक जीवनको ३२ वर्ष सफल र उत्तिकै सुन्दर रहनुको पछाडि आफ्नै बुझाइ छ रंगकर्मी अशेष मल्ल र सावित्री कक्षपतिको । ‘एकले अर्काको कमजोरीलाई महसुस गर्न सक्यो भने दाम्पत्य जीवनमा कहिले द्वन्द्व आउँदैन', अशेष अनुभव सुनाउँछन् । जब उनले जीवन बुझ्दै गए, महसुस भयो, प्रेमजीवनको सानो अंश हो । जीवन नबुझी प्रेम गर्नेहरू असफलमात्र हुन्छन् । दुवैले जीवनलाई बुझ्ने स्थितिमा पुगेपछि प्रेमविवाह गरे पनि मागीविवाह गरे पनि समस्या आउँदैन ।
कच्चा उमेरको निर्णयमा भावनामात्र हुन्छ । जिम्मेवारी थपिँदै गएपछि प्रेम सबै कुरा होइन भन्ने महसुस हुन्छ । प्रेम त केवल अंशमात्र हो । अशेष भन्छन्, ‘जीवन सधैं टुक्राटुक्रामा बाँच्ने हो । जीवन सग्लो बाँच्न सकिँदैन तर यसलाई मायाले जोडिदिन्छ ।' उनको अनुभवमा कहिले छोरा, कहिले श्रीमान् त कहिले बाबु भएर टुक्रिएर बाँच्नु नै जीवनको यथार्थ हो ।
विवाह सामाजिक बन्धन भएकाले हरेक मानिसबाट समाजले अपेक्षा गरेको हुन्छ । समाजको अपेक्षा र आफ्ना चाहनालाई सन्तुलन गर्न सके जीवन सजिलो हुन्छ । आफ्नो लक्ष्यमा मात्र केन्द्रित भएर विवाह गर्दिनँ भनेर हिँडेका अशेषलाई सावित्रीको आगमनले गलत सावित गरिदियो । अशेषलाई डर थियो, विवाह र परिवारले आफ्नो लक्ष्यलाई बिथोल्ने पो हो कि ? तर जब सावित्री उनको जीवनमा आइन्, उनको लक्ष्य झनै सजिलो बन्यो । ‘आज म जति सफल छु, विकज अफ माई वाइफ', सावित्रीको प्रशंसा गर्दै उनले भने ।
मल्ल दम्पतीजस्तै ललितकलाकर्मी ज्योतिप्रकाश विकको जीवन पनि यति सुन्दर हुने थिएन उनको जीवनमा तुलसी पुलामी नभएको भए । स्कुलेप्रेमलाई १४ वर्षअगाडि वैवाहिक सम्बन्धमा ढाल्न परिस्थिति सजिलो थिएन । तर गहिरो प्रेमले समाज र परिवारको सामना गर्न गाह्रो भएन । कतिपयले प्रेमको बाटो हिँड्दा समाजसँग लड्न नसकेर हार खाएका पनि छन् । तर उनीहरूले हार खाएनन् । जहाँ कुनै निजी स्वार्थ हुँदैन त्यही प्रेमको जित हुन्छ । मन मिलेको मान्छेसँग प्रेम भएको छ भने त्यसले वैवाहिक सम्बन्धलाई अझ सुमधुर बनाउँछ । दुईबीचको समझदारी राम्रो भए परिवार र समाजलाई मनाउन धेरै समय लाग्दैन ।
नेपाली सामाजिक संरचनामा प्रेमविवाहमा प्रायः महिलालाई गाह्रो हुन्छ । यति बेला नै हो पुरुषले आफ्नो भूमिका महत्ववपूर्ण बनाउने । परिवार र प्रेमलाई मिलाउन पुरुषको बढी भूमिका हुने अनुभव सुनाउँछन् ज्योति । तुलसी चित्र बनाउन जान्दिनन्, क्यानभासमा रङ पोत्न जानेकी छैनन्, तर उनको कला ज्योतिको जीवनमा देखिन्छ । ज्योतिको जीवनमा उनले भरेका रङले नै आज उनलाई यति सफल बनाएको हो । हो कुरामा सहमत छन् ज्योति ।
अभिनेत्री दिया मास्केले पनि आफ्नो प्रेमलाई जीवनसाथीको रूपमा पाइन् । विवाहअगाडि लुकीलुकी प्रेम गर्दा सबैभन्दा गाह्रो समय लाग्थ्यो उनलाई । परिवार र समाजसँग लुकेर भेट्नुपर्ने, कसैले देखे के होला भन्ने डर । एकातिर प्रेम गर्न सजिलो छैन अर्कोतिर त्यसलाई सफल बनाउनु झन् गाह्रो ।
जब विवाहको कुरा अघि बढ्यो जात नमिल्दाको समस्या आइलाग्यो । ‘यी सबै समस्याको माझमा सबैभन्दा सुन्दर पक्ष हो आफूले माया गरेको मान्छे', दिया भन्छिन्, ‘जब माया गरेको मान्छेको साथ हुन्छ, तब सबै समस्यासँग जुध्ने शक्ति मिल्छ ।' विवाह पछिका व्यावहारिक समस्यामा पनि श्रीमान्ले आफ्नो पक्षमा बोलिदिन्छन्, नजानेको कुरा सिकाउँछन्, परिवार र आफूबीचमा मध्यस्थकर्ताको भूमिका निभाउँछन् । यो पक्ष निकै सुन्दर रह्यो दियाको प्रेम विवाहमा पनि । प्रेमी मात्र हुँदा र
श्रीमानो रूपमा सँगै बस्नु पर्दा धेरै बानी नमिल्ने खालका पनि हुन्छन् । कति त नसोचेको बानी जीवनसाथीमा हुन सक्छ । तर मन परेको मान्छे भएकाले सबै बानी स्वीकार्य हुँदो रहेछ । सायद त्यही ठाउँमा राम्रोसँग नचिनेको मान्छे हुन्थ्यो भने स्वीकार गर्न गाह्रो हुन्थ्यो । माया नगरेको मान्छेको सबै कुरा स्वीकार गर्न गाह्रो हुन्छ ।
समयसँगै प्रेमको परिभाषा फेरिएजस्तो देखिन्छ । प्रेम गर्दा व्यावहारिक जीवन नसोच्दा धेरै प्रेमविवाह टुक्रिरहेका छन् । प्रेम जब विवाहमा रूपान्तरण हुन्छ, तब परिवार समाज त्यसमा जोडिन्छ । यही विषयलाई मिलाउन नसक्दा प्रेमविवाह टुटेको जस्तो लाग्छ दियालाई । भन्छिन्, ‘जब परिवार र समाजको इन्भल्वमेन्ट हुन्छ, त्यतिबेला आफ्नो सम्बन्ध कसरी बचाउँछौं भन्ने कुरा थाहा हुन्छ ।' माया बलियो छ भने जुनसुकै बाधालाई सामना गर्ने शक्ति मिल्ने उनको अनुभव छ ।
समयले प्रेमको प्रवृत्तिमा परिवर्तन देखाए पनि जीवनमा यसको तात्विवक भिन्नता नआएको रंगकर्मी अशेषको बुझाइ छ । प्रेमको पछाडि विश्वास भएन भने त्यो काम लाग्दैन । प्रेमलाई बुझ्ने सामाजिक दृष्टिकोण फेरिएको छ । पहिले साँघुरो बुझाइ थियो अहिले फराकिलो भएको छ । ज्योतिको हेराइमा ‘गिभ एन्ड टेक' को सिद्धान्त बोकेका प्रेम असफल छन् । यो सिद्धान्तलाई पन्छाएर अघि बढेका प्रेम सफल भएका छन् ।