मिस वर्ल्डमा जाँदा हटकेसमा दालभात( भिडियाेसहित)
मिस वर्ल्ड २०१४ मा नेपालको प्रतिनिधित्व गर्दै लण्डन पुगेका बेला नेपाली खानाकी पारखी सुविन लिम्बुलाई निकै सकस भयो । लण्डनस्थित कार्यक्रमस्थल एक्सेलमा उनी बस्थिन् । उनका आमाबुबा त्यहाँबाट आधा घन्टाको ड्राइभिङमा पुगिने ग्रेसमा बस्थे । विदेशी खाना आफुलाई मन नपरेको सुनाएपछि आमाले हटकेसमा राखेर दाल भात तरकारी अनि अकबरे खोर्सानी ल्याइदिन थालिन । ‘विदेशको टिपिकल खाना चाख्न त मन लाग्छ तर धेरै दिन खान मन लाग्दैन', सुविन भन्छिन ।
मिस वल्र्डमा भाग लिने क्रममा खाना खाँदा आमाले ल्याइदिएको अकबरे खुर्सानी टोक्थिन । विदेशी साथीहरु छक्क पर्थे । बढी खुसार्नी खाने बानी उनले अहिले कम गरेकी छन । ‘खुर्सानी जति खायो त्यति नै डोज बड्दै जाँदो रहेछ । एक पटकमा एउटा सिंगै अकबरेले पनि पुग्न छाडेपछि अहिले कम गरेकी छु', धरानमा जन्मेकी २६ वर्षिया सुविनले भनिन् ।
खानाको स्वास्थ्यसंग हुने भएकाले ध्यान दिनुपर्ने उनको मान्यता छ । तर खानामा त्यति चुची भने उनी छैनन । घरमा जे पाके पनि खाने उनको बानी छ । अझ सम्भव भएसम्म घरमै पकाएको खानुपर्छ भन्ने उनको मान्यता छ । ‘खानामा म सारै सजिलो छु । घरमा जे पोकेको छ त्यही खान्छु', उनी भन्छिन, ‘बाहिर पकाएका खाना त्यति राम्रो हुँदैन । सकभर घरमा आफैंले बनाएर खाने बाली बसाल्नुपर्छ ।'
पोर्क सेकुवा, चिकेन सुप, कोरियन सांगेप साल (मासु पोलेर पातमा बेरेर खाने) उनलाई मनपर्ने ननभेज आइटम हुन । भेजमा चाइनिज साग र ब्रोकाउनी उसिनेर सोया सस हालेर खान मन पराउँछिन । मौसमी फलफुल संधै उनको रोजाईमा पर्छ । फुलफुलहरु धेरै खाने उनको बानी पनि छ ।
खाना पकाउन अझ नयाँ परिकार तयार गर्न उनलाई सारै जांगर चल्छ । ‘किम्ची, सिज्लर, केएफसी शैलीको किचेन आफैं बनाउँछु', उनले स्मरण गरिन, ‘मैले पकाएको खाना सबैले मन पराउने । आमाबुबाले प्रसंसा गर्ने । घरमा मलाई स्कुल नजानु बरु खाना पकाउनु भनेर जिस्क्याउनु हुन्थ्यो ।'
सुविनको अनुभवमा नेपाली खाना संस्कृती सुधार्न आवश्यक छ । एकै पटक धेरै खाने बानीले धेरै मान्छेमा मोटोपनको समस्या छ । यसले स्वास्थलाई राम्रो गर्दैन । तर आफैं खेती गर्ने, सब्जी टिपेर ल्याउने, आफैं बनाएर खाने जुन नेपाली संस्कार छ त्यो राम्रो हो ।
विहान उठ्नसाथ पानी र ग्रिन टि खाने गरेकी उनी खाजामा कोदो वा गहुँको रोटी खाने गर्छिन । ‘पीठो घर (धरान)बाटै आउँछु । विहानको खाना नेपाली शैलीको दालभाल खान्छु', खानपानमा आफ्नो दैनिकीबारे उनी भन्छिन, ‘बेलुकी चाहिँ कहिले काहिँ दालभात कहिले रोटी खान मन लाग्छ ।' स्वास्थ्यलाई राम्रो मानिने तिते करेला भने उनलाई मन पर्दैन ।
भिडियाे हेर्नुहाेस्
खानपानमा सावधानी अपनाउन थालेकी उनी नियमित व्यायाम पनि गर्छिन । ‘सकभर सातामा सातै दिन वर्कआउट गर्छु । घरमै जिम हल छ । दौडने, डम्बेल उचाल्ने, एप्स अभ्यास गर्छु', सुविनले भनिन । अहिले उनी चिनीजन्य, तयारी पेय कम सकभर खाँदिनन । घर बाहिर अर्थात रेस्टुराँतिर खाना खानुपर्दा चिकेन स्यान्डविज, रोटी उनको रोजाईमा पर्छ ।
फेबरेट रक हाउस
पूर्वमिस नेपाल सुविन लिम्बुलाई मनपर्ने क्याफेमा पर्छ, रातोपुलस्थित रक हाउस क्याफे । भित्र पस्नासाथ रेस्टुराँ परिसरमा रहेका बोट विरुवा, फूलसहितको सुन्दर बगैंचाले उनको मन लोभ्याउँछ । नाम ‘रक हाउस' भए पनि सुविनजस्तै त्यहाँ पुग्ने जोकोही खाना पारखीले ‘गार्डेन क्याफे'जस्तो महसुस गर्छन । बोट विरुवाले सुसज्जित रक हाउसमा बगैंचाभरि राखिएका कुर्सी, टेबुलमा बसेर मनपर्ने परिकार लिँदाको आनन्द नै बेग्लै हुन्छ ।
यो क्याफेको वातावरण जति सुन्दर र शान्त छ, खाना पनि त्यति स्वादिलो पाइन्छ । अन्नपूर्ण पोस्ट्सँग खानाका बारेमा कुराकानी गर्ने क्रममा उनले कार्बोनारा (रेट टोमाटो सस) फ्लेबरको स्पागेटी अर्डर गरिन । यो इटालियन परिकार हो । ‘मैले टेस्ट गर्नका लागि स्पागेटी मगाएकी हुँ यति स्वादिलो लाग्यो म साथीहरुसँग फेरी खान आउँछ', उनले भनिन् । रकहाउस क्याफेको अर्को विशेषता पार्टी, सेमिनार र गोष्ठीका लागि छुट्टै हलको व्यावस्था हुनु पनि हो ।
क्याफे सञ्चालक सुमन राईका अनुसार रकहाउसको बगैंचामा आरु, झुसे आरु, आरुबखडा, नासपाती, लिची, अनारलगायतका फुलफुल पनि छन् । यस क्याफेले आफ्नै आँगनमा फलेको मौसमअनुसारको फलफूल पनि आगन्तुकलाई चखाउने गरेको छ ।
तीनै फुलफुलको छहारीमा बसेकी सुविनलाई चिकेन बास्केट, केएफसी चिकेन, बर्गर लगायतका विभिन्न परिकारको स्वाद पनि चखाइएको थियो । ‘सुन्दर, सफा र शान्त बगैंचायुक्त वातावरणमा परिवार बसेर मिठो परिकारको आनन्द लिन पाऊन् भनेरै मेहनत गरिरहेका छौं', सञ्चालक राईले भने, ‘हामीले नेपाली, चाइनिज र भारतीय खानाका परिकार पस्कने गरेका छौं ।'