दोस्रो सीमापार लाइन सरकारी तहमै

दोस्रो सीमापार लाइन सरकारी तहमै

काठमाडौंः नेपालले विद्युत् व्यापारका लागि ४०० केभीको दोस्रो अन्तरदेशीय सीमापार प्रसारण लाइन संयुक्त सरकारी तहमा निर्माण गर्न भारतसँग विशेष महत्ववका साथ प्रस्ताव गर्ने भएको छ । आगामी सोमबारदेखि काठमाडौंमा हुन लागेको नेपाल-भारत ऊर्जासचिव स्तरीय बैठकमा ढल्केबर-मुजफ्फरपुरजस्तो कम्पनी मोडेलमा नभई अन्य सार्वजनिक पूर्वाधारजस्तै सरकारी तहमै निर्माण गर्ने गरी प्रस्ताव गर्न लागिएको हो ।

ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेका अनुसार यसो गर्दा नेपालले ढल्केबर-मजुफ्फरपुरजस्तो बिजुली नल्याए पनि प्रसारण लाइनको भाडा तिर्नु पर्दैन । भारतले प्रसारण लाइनका लागि अग्रीम बुक गर्नुपर्ने र कम्पनी मोडेलमा बनाउनुपर्ने प्रस्ताव गर्दै आएको छ ।

बैठकमा नेपालले न्यु बुटवल (बुटवलको रोहिणी खोलानजिकै) सबस्टेसन निर्माण गर्ने र दुवै देशको सरकारी स्तरमा अर्को अन्तरदेशीय प्रसारण लाइन बनाउन जोड दिइने घिमिरेले बताए । भारतले ढल्केबर-मुजफ्फरपुरकै शैलीमा दोस्रो सीमापार प्रसारण लाइन बनाउने चाहना राख्दै आएको छ ।

नेपाल र भारतबीच दुई वर्ष चार महिनाअघि सम्पन्न ‘विद्युत् ऊर्जा व्यापार, सीमापार प्रसारण अन्तरसञ्जाल तथा ग्रिड जडान' सम्झौता कार्यान्वयन गर्न गठित दुवै देशका ऊर्जासचिव तथा सहसचिवस्तरीय बैठक आगामी सोमबार र मंगलबार काठमाडौंमा हुँदैछ ।

दुवै देशका ऊर्जासचिवले नेतृत्व गर्ने ‘संयुक्त निर्देशक समिति' र सहसचिवले नेतृत्व गर्ने ‘संयुक्त कार्यसमूह' को तेस्रो बैठक यसअघि भारतको नयाँदिल्लीमा भएको थियो । बैठकको पहिलो दिन सहसचिवस्तरीय बैठक बसी त्यसका निर्णयलाई भोलिपल्ट सचिवस्तरीय बैठकले अनुमोदन गर्ने कार्यक्रम रहेको ऊर्जा मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले बताए ।

सहसचिवस्तरीय बैठकको नेतृत्व गर्न लागेका घिमिरेका अनुसार बैठकमा दुवै पक्षले एजेन्डा तय गरेका छन् । त्यसअनुसार नेपाल-भारत ढल्केबर-मुजफ्फरपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण भइसकेको सन्दर्भमा नेपालले बनाउनुपर्ने ढल्केबरस्थित सबस्टेसन र त्यसपछि उक्त प्रसारण लाइनलाई २२० केभीमा चार्ज गर्ने विषय छन् । हाल यस प्रसारण लाइनबाट नेपालले एक सय ६० मेगावाट बिजुली आयात गरिरहेको छ ।


नेपाल र भारतबीच सम्पन्न ‘विद्युत् ऊर्जा व्यापार, सीमापार प्रसारण अन्तरसञ्जाल तथा ग्रिड जडान' सम्झौता कार्यान्वयन गर्न गठित दुवै देशका ऊर्जासचिव स्तरीय बैठक सोमबार र मंगलबार काठमाडौंमा हुँदैछ ।

आगामी मार्च महिनामा नेपालले उक्त सबस्टेसन बनाइसकेपछि प्रसारण लाइनलाई २२० केभीमा प्रसारण गर्ने योजना छ । हाल १३२ केभीमा चार्ज भइरहेको यो लाइन २२० केभीमा परिणत भएपछि त्यसबाट कुल तीन सय मेगावाट बिजुली आयात गर्न सकिने जानकारी घिमिरले दिए ।

विद्युत् व्यापारका लागि नभइनहुने संरचना प्रसारण लाइनलाई यो बैठकले बढी जोड दिने घिमिरेको भनाइ छ । उनका अनुसार यसअन्तर्गत कुसाहा-कटैया र रक्सौल-परवानीपुर १३२ केभी प्रसारण लाइन छन् । भारत सरकारले आफ्नो खर्चमा बनाइरहेका यी दुवै प्रसारण लाइन सम्पन्न भएपछि त्यसबाट थप ५०-५० मेगावाट बिजुली आयात गर्न सकिनेछ । यसबाट पूर्वाञ्चललगायत नेपालको लोडसेडिङ कम गर्न सघाउ पुग्ने अपेक्षा छ ।

बैठकमा भारतबाट थप आयात गर्ने बिजुली त्यहाँको ‘स्टेट ट्रान्समिसन युटिलिटी' नभई ‘सेन्ट्रल ट्रान्समिसन युटिलिटी' बाट ल्याउन नेपालको प्राथमिकता हुने घिमिरेले बताए । स्टेटबाट ल्याउँदा बिजुलीको भाउ प्रतियुनिट भारु ५.५५ पर्ने तर सेन्ट्रलबाट ल्याउँदा हाल ल्याइरहेको भाउ प्रतियुनिट भारु ३.६० पर्नेछ । ‘हाल ल्याइरहेकै संयन्त्रबाट अब आउने थप बिजुली पनि ल्याउने हाम्रो प्रस्ताव हुनेछ', घिमिरेले शुक्रबार अन्नपूर्णसित भने ।

घिमिरेका अनुसार बैठकमा पञ्चेश्वर, अरुण तेस्रो र माथिल्लो कर्णालीको प्रसारण प्रणालीबारे पनि छलफल हुनेछ । अरुण तेस्रोको विद्युत् भारत लैजान ढल्केबर-मुजफ्फरपुरले नपुग्ने भएकाले छुट्टै बनाउनुपर्ने हुन्छ । यसका लागि अरुण तेस्रो र माथिल्लो कर्णालीका प्रवद्र्धकसित भएका ‘आयोजना विकास सम्झौता' (पीडीए) अनुसार नेपालको सीमासम्म उसैले प्रसारण लाइन निर्माण गर्नुपर्ने सर्त छ ।

नेपाल र भारतका ऊर्जासचिवले २०७१ भदौ १९ गते नयाँदिल्लीमा उक्त सम्झौताको प्रारम्भिक मस्यौदामा हस्ताक्षर गरेका थिए । त्यसलगत्तै कात्तिक ४ गते नेपालका तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय विद्युत्सचिव पीके सिन्हाले काठमाडौंमा हस्ताक्षर गरेका थिए । उक्त सम्झौता दुवै देशका मन्त्रिपरिषद्बाट अनुमोदन गरिएको थियो । सचिव र सहसचिवस्तरीय पहिलो र दोस्रो बैठक काठमाडौंमा भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.