अख्तियारबारे फेरि बहस नहोस्ः राष्ट्रपति
काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबारे संसद् र सर्वोच्च अदालतमा भएकोजस्तो बहस आगामी दिनमा नहोस् भनेर सम्बन्धित सबै सजग हुनुपर्ने बेला आएको बताएकी छन् ।
अख्तियार दिवसका उपलक्ष्यमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अख्तियारबारे अहिले संसद् र सर्वोच्चमा भएको जस्तो बहस अब हुन नहुने उल्लेख गरेकी हुन् । अख्तियारका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीको योग्यता र महाभियोगबारेमा सर्वोच्च अदालत र संसद्मा भएको बहसप्रति भण्डारीको भनाइ लक्षित थियो । शपथ लिएका राष्ट्रसेवकहरू जनविश्वासलाई आत्मसात गरी आफ्नो कार्यमा अब्बल हुन आवश्यक भएको उनले उल्लेख गरिन् । उनले जनविश्वासलाई साक्षी राखी आयोगले गतिविधि गर्नुपर्ने पनि जनाइन् ।
उक्त अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहालले आफू राजकीय भ्रमणमा गएको बेलाजस्तो तीतो पीडा अब आफूले भोग्न नपरोस् भन्नेमा अख्तियारसँग कामना गरे ।
अख्तियारका पूर्वप्रमुख कार्की पदमा रहेका बेला क्यान्टोनमेन्टमा भएको भनिएको भ्रष्टाचारकाण्ड छानबिन गर्न सम्बन्धित फाइल खोलेको जानकारी गराएका थिए । उक्त काण्डमा प्रधानमन्त्री र माओवादी केन्द्रका अन्य नेता मुछिएका छन् । प्रधानमन्त्रीले अख्तियार स्थापना भएको २६ वर्षसम्म पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको बारेमा चर्चा गर्दै अब अख्तियारले यसबारेमा आत्ममूल्यांकन गर्नुपर्ने बेला आएको उल्लेख गरे ।
निरपराधी पर्न नहुने र अपराधी उम्कन नहुने गरी अख्तियारले कार्य गर्नुपर्ने भएको बताउँदै उनले निष्पक्ष, प्रभावकारितामा जोड दिनुपर्ने धारणा राखे ।
उक्त अवसरमा अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले भ्रष्टाचारको आरोपमा छानबिन गर्न थप जटिल बन्दै गएको उल्लेख गर्दै निष्पक्ष भएर कार्य गर्न राष्ट्रसेवकलाई आग्रह गरे ।