विष्णु वामनमूर्तिका संरक्षक सत्यमोहन
सत्यमोहन जोशीको नाम नसुन्ने र उनको कामबारे थाहा नपाउने नेपाली कमै होलान् । जोशीलाई साहित्य र संस्कृतिका धरोहर मानिन्छ । काठमाडौं उपत्यकाभित्रको इतिहास, संस्कृतिले मात्रै महत्वव पाउने समयमा यिनले पश्चिम नेपालमा पुगेर कर्णालीको संस्कृतिको विविध पक्षबारे अनुसन्धान गरे । स्थलगत अध्ययन, मनन र प्रकाशन गरेर नेपालको पुरातत्ववको क्षेत्रमा गुन लगाए ।
हाम्रो लोकसंस्कृति, नेपाली राष्ट्रिय मुद्रा र कर्णाली संस्कृति नामक पुस्तकले स्वदेश/विदेशमा कीर्तिमान फैलायो । विसं २०१३, २०१७ र २०३८ (संयुक्त रूपमा) मा तीनपल्ट मदन पुरस्कार प्राप्त गरेर यिनले नेपाली साहित्यको इतिहासमा नयाँ कीर्तिमान नै कायम गरे । विसं २०१० जेठ १६ गते न्युजिल्यान्डमा औपचारिक रूपमा पुग्ने जोशी पहिलो नेपाली थिए ।
१९७७ वैशाख ३० गते मंगलबजारनजिकै बखुंवहालमा जन्मिएका सत्यमोहन जोशी ९५ वर्ष पूरा गर्दा वरिष्ठ संस्कृतिविद्को नामले परिचित छन् । शंकरदास जोशी र राजकुमारी जोशीका सन्तान सत्यमोहनले गुरु विद्यानन्द राजोपाध्यायको घरमा सात वर्षको उमेरमा अक्षरारम्भ गरेका थिए । १० वर्षको भएपछि मात्रै यिनले नेपाली भाषा बोल्न र लेख्न थालेका थिए । १९ वर्ष पुगेपछि यिनको विवाह १४ वर्षकी राधादेवीसँग भएको थियो । यिनका चार छोरा र चार छोरीमध्ये दुई जना छोरा, छोरी बितिसके । उपत्यकालाई ९० साल र २०७२ सालमा भुइँचालोले नराम्ररी हल्लायो, तहसनहस पार्यो । काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरू हल्लिए, चर्किए र ढले । यी दुवै भुइँचालोको नमीठो र डरलाग्दो अनुभूति छ सत्यमोहन जोशीसँग ।
अधिकांश मूर्त र अमूर्त सम्पदा लोप हुनसक्ने सम्भावनाले उनी दुःखी छन् । पुरातत्वव र संस्कृति विभागमा विसं २०१६-२०१७ मा निर्देशक भएर यिनले काम गरे । त्यस बेला पुरातात्विवक महत्ववका वस्तुहरूको खोज संरक्षण, प्रदर्शन, प्रचारप्रसार गर्न यिनी खटिएका थिए । जोशीकै पहलमा भक्तपुर दरबार क्षेत्रमा राष्ट्रिय संग्रहालय आर्ट ग्यालरीको प्रदर्शन कक्ष, सो केसहरू निर्माण गरिए । वीर पुस्तकालयमा बाकसभित्र थन्किएर बसेका थांका पेन्टिङ, हस्तलिखित ग्रन्थ र विविध विषयका तस्बिर ल्याएर, व्यवस्थित गरेर प्रदर्शन गर्ने काम सफलतापूर्वक उनले गरे । आज भक्तपुरको राष्ट्रिय कला संग्रहालय नेपालमा सबैभन्दा बढी अवलोकन गर्ने थलो बनेको छ ।
उपत्यकालाई ९० साल र २०७२ सालमा भुइँचालोले नराम्ररी हल्लायो, तहसनहस पार्यो । काठमाडौं उपत्यकाका सांस्कृतिक सम्पदाहरू हल्लिए, चर्किए र ढले । यी दुवै भुइँचालोको नमीठो र डरलाग्दो अनुभूति छ सत्यमोहन जोशीसँग ।
जोशीलाई नाट्यघरको आवश्यकता धेरै पहिलेदेखि महसुस भएको थियो । नेपाली र नेपाल भाषा (नेवारी) मा लेखिएका नाटक मञ्चन गर्ने स्थायी थलो जोगाउनमा उनी लागेका थिए । एक लाख ३७ हजारमा किनेको जमलको जग्गामा नाचघर बन्यो । काठमाडौं उपत्यकाका दरबार र मन्दिर क्षेत्रका डबलीहरूमा प्रदर्शन गरिने नाटकले रंगमञ्च पाए । नेपाली नाटकले बन्द सभामा बसेर हेर्ने दर्शक पायो ।
सत्यमोहन जोशीले नेपाली मूर्तिकलाको संरक्षणमा पनि ठूलो गुन लगाएका छन् । नेपालका हिन्दु र बौद्ध धर्मावलम्बीको आस्था समेटिएको प्राचीन मूर्तिहरूको संरक्षण गर्न गरेको आँट सम्झँदा जोशी प्रफुल्ल हुन्छन् । मूर्तिहरू संरक्षित भएर पर्यटकले अवलोकन गर्न पाएकोमा सन्तोष व्यक्त गर्छन् । फ्रान्सको लुव्र संग्रहालयमा प्रदर्शित मोनालिसाको चित्र हेर्न लाखौं पर्यटकको ओइरो लागेजस्तै प्रचारप्रसार गरेमा नेपालका संग्रहालयमा पनि मानिसको घुइँचो लाग्नसक्ने उनको विश्वास छ ।
राजा मानदेवद्वारा लाजिम्पाटमा स्थापना गरिएको वामनको पुस्तक र मूर्ति संरक्षण गर्न आफूले संग्रहालय पुर्याएको आँटिलो कामको मीठो स्मरण सुनाउँदा उनी आज पनि प्रफुल्ल हुन्छन् । मूर्तिकला अध्ययन अनुसन्धानका लागि यो मूर्ति कोशेढुंगा नै साबित भएको छ । यो महत्ववपूर्ण मूर्तिको संरक्षण गर्न व्यावहारिक कठिनाइ थियो । दैनिक पूजा गरिने धार्मिक अस्था बोकेको मूर्तिलाई ठूलो आँटले सत्यमोहन जोशीले संग्रहालयमा पुर्याए । स्थानीय बासिन्दाको विरोधमा उनको ज्यान नै खतरामा पनि थियो, उनले फकाएर काम गरे ।
लाजिम्पाट धोबीचौरको थुम्कामा मानदेवकै समयमा स्थापित दुईवटा शिवलिंग र विष्णुवामनको स्वरूप मूर्तिफलक प्राप्त भएबाट त्यस क्षेत्रको महत्वव उजागर हुन्छ । लिच्छविकालका महत्ववपूर्ण सम्पदा भएको थुम्कोमा वैज्ञानिक ढंगले उत्खनन गर्न सकेमा धेरै तथ्य सामग्री पत्ता लगाउन सकिन्छ । नरवर्माले संवत् ३८८ मा स्थापना गरेका शिवलिंग र मानदेवकी रानी क्षेमसुन्दरीले संवत् ३९० मा स्थापना गरेका शिवलिंग आज पनि यथास्थानमै छन् । मानदेवले स्थापना गरेका संवत् ३८९ (४६७) को वामन मूर्ति भने जोशीको पहलमा राष्ट्रिय संग्रहालय छाउनीमा प्रदर्शन गरिएको छ ।
मानदेवले पशुपति तिलगंगा र लाजिम्पाट धोबीचौर थुम्कोमा एकै दिन एउटै बेहोराका अभिलेख र मितिसहितको वामन विष्णुको मूर्ति स्थापना गराएका थिए । “संवत् ३८९ वैशाख शुक्ल द्वितीया । असल सफा बुद्धि भएका, सत्पात्रमा पानीसरह दान वर्षा गर्ने राजा । श्रीमानदेवले हित गर्ने मन भएकी (आफ्नी) मुमा राज्यवतीको सधैं पुण्यको बढिबढाउ होस् भन्ना निमित्त राम्रो असल मन्दिर बनाउन लगाई देवता र ऋषिहरूले पुजिएका, सारा संसारका एउटै मालिक त्रिविक्रम (वामन) मूर्ति राम्ररी यहाँ स्थापना गर्नुभयो”, धनवज्र वज्राचार्यको यस अनुवादबाट इतिहासका धेरै कुरा प्रस्ट हुन्छ ।
नेपालमा धार्मिकबाहेक अन्य कलाकृतिको प्रचलन र बाहुल्यता छैन । नेपाली कलाको सम्बन्ध, विषयवस्तु, स्रोत सबै नै धार्मिक ग्रन्थ हो । मल्लकाल र शाहकालका मूर्तिहरूको अध्ययन गर्दा देखिने एउटा प्रमुख विशेषता भनेको धार्मिक ग्रन्थमा वर्णित घटनालाई प्रस्तर, माटो, काठ र धातुमा सजीव ढंगले उतार्नु हो । यस मूर्तिमा श्रीमदभागवत पुराणको विष्णु वामन अवतारका उद्देश्यलाई सजीव ढंगले कुँदिएको छ । मूर्तिफलकमा विष्णुको मूर्तिमात्रै नबनाएर वामन अवतारका सम्पूर्ण कथावस्तु नै दर्शाइएको छ । ईश्वरको अवतारको आवश्यकता र मन्त्रको पुकारअनुसार अवतरित भएका विष्णु दैत्यराज वलि उनकी पत्नी विन्ध्या वलि सबको सजीव प्रस्तुति यस मूर्तिमा छ ।
विष्णुधर्मोत्तर, मत्स्यपुराण, ब्रह्मपुराण, भागवत र महाभारतमा वामन विष्णुको मूर्ति बनाउने विधान तोकिएको छ । दण्ड, पाश, शंख, चक्र, गदा, पदम धारण गरेको त्रिविक्रमको मूर्ति बनाउने नियमको उल्लेख छ । नेपालको लाजिम्पाटमा स्थापना गरिएको त्रिविक्रम वामन विष्णुको मूर्तिमा विविध आयुध लिएको आठवटा हात प्रस्ट देखिन्छ । वामनले आफ्नो शरीर विशाल बनाएपछि उनको पाउ आकाश र पाताल दुवैतिर पुगेको चित्रण यस मूर्तिमा सुन्दर ढंगले गरिएको छ । मूर्तिफलकको दायाँतर्फ कमलको फूलमा उभिएकी लक्ष्मीदेवी र घँडा खुम्च्याएर नमस्कार गर्दै पखेँटा फिजाएर उड्न लागेको गरुडको प्रस्तुति पनि बेजोडको छ ।
लिच्छविकालमा विष्णुका विभिन्न स्वरूपका मूर्तिहरू, विश्वरूप, शयन, चतव्र्यह, चतुरविंश श्रीधर, गरुडासन आदि बने । तीमध्ये अवतार स्वरूपका मूर्तिहरू बढी बनेका हुन्छन् । सनातन धर्मावलम्बीहरूको विश्वास र शास्त्रमा वर्णन भएअनुसार मानव र देवता दुवैको भलाइका लागि देवताहरूले विविध रूप धारण गर्न सक्छन् । देवीदेवताका भिन्न स्वरूपमध्ये विष्णुका १० अवतारको विशेष महत्वव छ । माछो, कछुवा, वराह, नरसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की । गीताको चौथो अध्यायको सातौं र आठौं श्लोकमा भगवान्को अवतारवादको आवश्यकता प्रस्ट परिएको छ । ‘यदा यदा हि धर्मस्य...’ जुनजुन बेला धर्मको हानि र अधर्मको वृद्धि हुन्छ, त्यस बेलामा म अवतार लिन्छु ।
सज्जनहरूको रक्षा र दुष्टहरूको नाश तथा युगयुगमा धर्म स्थापना गर्नका निम्ति अवतार लिन्छु । गीताको श्लोकको व्याख्या थुप्रै विद्वान्ले गरेका छन् । अवतारकै क्रममा चौथो अध्यायको छैटौं श्लोकमा आफ्नो अजन्मा प्रकृतिको उल्लेख श्रीकृष्णले गरेका छन् । म अजन्मा, अविनाशी र यीबाहेक भूतमात्रको ईश्वर हुँ, तैपनि स्वभावले गर्दा आफ्नो मायाको बलले जन्मग्रहण गर्छु । अवतारको आवश्यकताको वर्णन भएअनुसार नै मूर्तिहरू बनेका छन् । ऋग्वेदमा रोपिएको ईश्वरको विविध रूपको अवधारणा नै पछि पौराणिक कालमा अवतारको रूपमा विकसित भएको देखिन्छ ।
लिच्छविकालमा बनेको त्रिविक्रम वामनका मूर्तिहरू लाजिम्पाट, तिलगंगा, चाँगुनारायण र शेषनारायणमा छन् । मल्लकालमा बनेका विष्णु अवतारका मूर्ति र चित्रको प्रस्तुति तीनवटै दरबार क्षेत्रमा रहेका मन्दिर, भण्डारखाल बगैंचा, चोक टुँडालमा देखिन्छ । काठको त्रिविक्रम मूर्ति भएमा तीनवटा पाउ पनि बनाउने प्रचलन छ । नेपाली सांस्कृतिक धार्मिक र इतिहासमा सत्यमोहन जोशीको पहलमा संरक्षण र प्रदर्शन भइरहेको त्रिविक्रम वामन विष्णु मूर्ति (संवत् ३८९) को विशेष स्थान छ । संस्कृतिको विद्यार्थीका नाताले शताब्दीपुरुष सत्यमोहन जोशीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नैपर्छ ।