किन पुगे शनिबार बिहानै बाबुराम भट्टराई बालुवाटारमा
काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड' र पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
बाबुराम शनिबार बिहानै प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री निवासमा भएको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।
भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई अहिलेको राजनीतिक गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले संविधान संशोधन, स्थानीय तह र प्रदेशको पुर्नसंरचना र निर्वाचनबारेको गतिरोध चाँडो अन्त्य गर्न आग्रह गरेका छन्।
जवाफमा प्रधानमन्त्री प्रचण्डले आफूले सबै कुरा टुंग्याउन खोजे पनि केही जटीलताले गर्दा आफू अप्ठेरोमा परेको बताएको नयाँ शक्तिको सचिवालयले जनाएको छ।
भेटमा भट्टराईले बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रका जनताले मुआब्जा कम भएको भन्दै मुआब्जा बढाउन गरेको मागका बारेमा सम्बोधन गर्न आग्रह गरेका छन्।
सँगै नेता भट्टराईले बृहत्तर जनकपुरको विकासलगायतका माग राखी नयाँ शक्ति पार्टी, नेपालका नेताद्वय रामकुमार शर्मा र कलामुद्दिन राइनले आमरण अनशन बसेको १० औं दिन भइसक्दा पनि राज्यपक्षबाट बेवास्ता भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
उनले उनीहरुका माग छिटो सम्बोधन गर्न पनि प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन्।