जितसँगै दक्षिण अफ्रिका पहिलो वरीयतामा : श्रीलंका ८८ रनले पराजित
एजेन्सी : दक्षिण अफ्रिकाले पाँचौं तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पनि श्रीलंकालाई ८८ रनको फराकिलो अन्तरले हराएको छ ।
जितसँगै दक्षिण अफ्रिकाले ५—० ले नै शृंखलामाथि कब्जा जमाएको छ । उक्त सफलतापछि दक्षिण अफ्रिका आईसीसी एकदिवसीय वरीयताको पहिलो स्थानमा पनि उक्लिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ६ विकेट गुमाएर तीन सय ८४ रन बनायो । जवाफमा श्रीलंकाले निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय ९६ रनमात्र बनाउन सक्यो ।
दक्षिण अफ्रिकाका लागि ओपनिङ ब्याट्सम्यान क्विन्टन डे कक र हासिम अमलाले एक सय ८७ रनको साझेदारी गरे । डे ककले एक सय नौ रन बनाए । उनले केवल ८७ बलको सामना गरी १६ चौका पनि हिर्काए ।
डे ककले सेन्चुरियनमा खेलका पछिल्ला पाँच खेलमा बनाएको यो चौथो सतक हो । हालसम्म ७४ वटा एकदिवसीय क्रिकेट खेलेका डे ककले तीन हजार रन पनि पूरा गरेका छन् । अमलाले एक सय ३४ बलको सामना गरी पाँच छक्का १५ चौकाको मद्दतले एक सय ५४ रन जोडे ।