'एसिडले नारीको रुप होइन, पुरुषको अस्तित्व मेटाउँछ'
काठमाडौं: रुपन्देहीको बुटवलमा 'प्रेमि'को एसिड प्रहारबाट प्रेमिकाको मृत्यु भएपछि काठमाडौंमा महिला हिंसाविरुद्ध युवाहरुले र्याली निकालेका छन्।
'विइङ होमो सेपिन्स'का संयोजक डा. दिलजान मन्सुरको नेतृत्वमा ६० जना युवायुवतीको समूहले महिला हिंसाविरुद्ध र्याली निकालेका हुन्।
उनीहरुले निकालेको र्याली ललितपुरको चापागाउँ दोबाटोबाट सुरु भएर बालकुरमारी, कोटेश्वर, बानेश्वर, अनामनगर, माइतीघर मण्डला, सहीदगेट हुँदै वसन्तपुर पुगर कोणसभामा परिणत भएको थियो।
अभियानका संयोजक दिलजान मन्सूरले महिलाविरुद्धको हिंसा महिला दिदीबाहीनी,आमाहरुले नै रोक्नुपर्ने र त्यसविरुद्ध पुरुषले पनि आवाज उठाउनुपर्ने बताए। उनले भने, 'महिला हिंसाविरुद्ध महिलाले नै सशक्त रुपमा आवाज उठाउनुपर्छ। महिलालाई सम्मान दिन नसक्ने पुरुषको विश्वमा कुनै अस्तित्व छैन। सबै महिला सचेतवर्ग र पुरुषवर्गले महिलामाथिको हिंसा रोक्न अब घरबाट सडकमा आउनु जरुरी रहेको जिकिर गरे।'
र्यालीमा सहभागीहरुले 'नरुनुस् आमा म जिउँदै छु', 'त्यो कोखको बलात्कार नगर, जहाँबाट जन्म लियौं', 'एसिडले नारीको रुप होइन, पुरुषको अस्तित्व मेटाउँछ', 'हर अखबारमा समाचार छ, आफ्नै आमाको बलात्कार छ', 'हिंसा मैले गर्दिन, तपाई गर्नुहुन्न, नारी बलात्कृत हुन्छन् कसरी ?', 'डोन्ड थ्रो एसिड अन ह्युमानिटी',लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
'प्रेमी'को एसिड प्रहारबाट नवलरासी गैडाकोटकी २७ वर्षीया तुलसा सापकोटाको उपचारका क्रममा सोमबार मृत्यु भएको थियो।
तस्बिरहरु: सुदीप विमली