‘तनावले बढायो अम्लपित्तका बिरामी'

‘तनावले बढायो अम्लपित्तका बिरामी'

 सिन्धुपाल्चोकः भूकम्पपछि बढेको अभाव र तनावले गाम्रीण क्षेत्रमा अम्लपित्त (ग्यास्ट्रिक) का बिरामी बढी पाइएको छ । भूकम्पको कम्पनले सबैभन्दा बढी जनधन क्षति भएको सिन्धुपाल्चोकका ग्रामीण क्षेत्रमा अम्लपित्तका बिरामी बढ्नुमा खानपान र मानसिक तनावलाई मुख्य कारण मानिएको छ ।

सिन्धुपाल्चोकको फुल्पिङकोट स्वास्थ्य चौकीमा दैनिक आउने औसत २३ जना बिरामीमा अधिकांश अम्लपित्तका छन् । स्वास्थ्य संस्थाकी प्रमुख सुशीला थापाका अनुसार गाउँका अधिकांश मानिस ग्यास्ट्रिक (अम्लपित्त) को समस्यामा छन् । ‘समयमा खाना नखाने, चिल्लोपिरो खाने गर्नाले ग्यास्ट्रिक हुन्छ । भूकम्पपछिको तनावले पनि ग्यास्ट्रिक बढाएको पाइएको छ', थापाले भनिन् ।

भूकम्पको कम्पनले फुल्पिङकोटको स्वास्थ्य चौकीसहित सिन्धुपाल्चोकका ८० वटा स्वास्थ्य संस्था भत्काएको थियो । २०७२ वैशाख १२ र २९ गते गएको भूकम्पको पराकम्पले सिन्धुपाल्चोकमा तीन हजार पाँच सय ७० जनाले जीवन गुमाएका थिए भने अझै आठजना बेपत्ता छन् ।

एक हजार पाँच सय ६७ जना घाइते भएका छन् । जिल्ला अस्पतालसहित ८० स्वास्थ्य संस्था, पाँच सय ४७ विद्यालय, ४१ सरकारी कार्यालय र ९० प्रतिशत निजी घर ध्वस्त भएका थिए । भूकम्पको परकम्पले ६ सय ९१ खानेपानी योजना र १३ वटा झोलुंगे पुल बिग्रिएका थिए ।

जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकका प्रमुख सुरेन्द्रप्रसाद चौरसियाका अनुसार भूकम्पपछि स्वास्थ्य संस्थामा सेवा र परामर्श लिनेभन्दा उपचार गर्न आउनेको संख्या बढी हुने गरेको छ । ‘भूकम्पपछि झाडापखाला र श्वासप्रश्वासका रोगी बढ्लान् भन्ने हाम्रो अनुमान थियो तर त्यस्ता बिरामी घटेका छन्', चौरासियाले भने, ‘महामारीको रूपमा देखापरेको छैन ।'

स्थानीय केशव थापा र अकलबहादुर श्रेष्ठ स्वास्थ्य चौकीका लागि आवश्यक जमिन उपलब्ध गराउन तयार भएपछि वल्र्ड भिजन इन्टरनेसनलको ७५ लाख ९१ हजार तीन सय रुपैयाँ आर्थिक सहयोगमा जनहित ग्रामीण सेवा समितिले फुल्पिङकोटमा बर्थिङ सेन्टरसहित स्वास्थ्य चौकी निर्माण गरेपछि गाउँलेमा खुसी छाएको छ ।

फुल्पिङकोट स्वास्थ्य चौकीमा दैनिक आउने औसत २३ जना बिरामीमा अधिकांश अम्लपित्तका छन् ।

खोप, पोषण सेवा, बालरोगको एकीकृत व्यवस्थापन, सुरक्षित मातृत्व, परिवार नियोजन, रोग नियन्त्रणसम्बन्धी सेवा, बहिरंग र ड्रेसिङ सेवा स्वास्थ्य चौकीमा उपलब्ध हुन थालेपछि गाउँले खुसी भएका हुन् । ‘भूकम्पको कम्पनले गाउँलेका घर मात्रै भत्काएन, स्वास्थ्य चौकी पनि बाँकी रहेन । हामीले टेन्टमा उपचार सेवा उपलब्ध गराउँदै आएका थियौं । अहिले नयाँ भवन र उपकरण पाएका छौं । यो हामी सबैका लागि खुसीको कुरा हो', थापाले भनिन् ।

चौरासियाका अनुसार सिन्धुपाल्चोकको फुल्पिङकोटसहित ४३ वटा स्वास्थ्य संस्था प्रिफेब संरचनामा निर्माण भइसकेका छन् । ‘केही हस्तान्तरण भइसके भने केही हस्तान्तरण हुने प्रक्रियामा छन् । १० वटा स्वास्थ्य संस्था निर्माणप्रक्रियामा छन् भने केहीको निर्माण सुरु भएको छ', चौरासियाले भने ।

सरकारी लगानीमा पाँचवटा स्वास्थ्य संस्था बन्ने प्रक्रियामा छन् । फुल्पिङकोट, सानोसिरुवारी, पीपलडाँडा र भोटेचौरमा स्वास्थ्य संस्थाका भवन निर्माण गरिसकेको वल्र्ड भिजन सिन्धुपाल्चोककी प्रमुख मनिका सुब्बा राईले भनिन्, ‘कतिपय ठाउँमा हामीले मेडिकल इक्विपमेन्ट सहयोग गरेका छौं भने कतिपय ठाउँमा गाउँघर क्लिनिक पनि सञ्चालन गरेका छौं ।' चौरासियाका अनुसार सिन्धुपाल्चोकमा गैरसरकारी संस्थाका कार्यक्रमलाई अनुगमन गर्ने गरिएको छ । ‘एकै प्रकृतिका कार्यक्रमलाई हामीले दोहोरिन दिएका छैनौं', चौरासियाले भने ।

भूकम्पको कम्पनले ३१ जिल्लाका एक हजार एक सय स्वास्थ्य केन्द्र भत्काएको थियो । तीमध्ये दुई अर्ब रुपैयाँ लागतमा आगामी एक वर्षभित्र दुई सयवटा स्वास्थ्य संस्था निर्माण गर्ने योजना सरकारले बनाएको छ ।

संघसंस्था र दातृ निकायले चार सय ४४ वटामध्ये दुई सयवटा प्रिफेब संरचनामा निर्माण गरिसकेका छन् । प्रसूतिगृह र वीर अस्पतालसहित जापानले तीनवटा, जर्मनीले चारवटा, कोइकाले एउटा यूएसएआईडीले एक, चीनले दुईवटा अस्पताल निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

चौरासियाका अनुसार फुल्पिङकोटसहित सिन्धुपाल्चोकमा हालसम्म २३ वटा बर्थिङ सेन्टर स्थापना भएका छन् भने थप १५ वटा बर्थिङ सेन्टर बनाउने योजना छ ।

फुल्पिङकोटका यामबहादुर भण्डारीका अनुसार सदाबहार अस्पताल खाडीचौरमा गाउँका गरिबको पहुँच छैन । ‘मर्केको खुट्टा लिएर सदाबहार अस्पतालमा उपचार गर्न गएको थिएँ । दुई दिनमा २६ हजार रुपैयाँ खर्च भयो तर खुट्टा जस्ताको तस्तै छ', लौरो टेकेर खुट्टा खोच्याउँदै हिँडिरहेका उनले भने । चौरासियाका अनुसार जिल्ला अस्पतालमा ७०, स्वास्थ्य चौकीमा ५८ र प्राथमिक स्वास्थ्य संस्थामा ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराइएको छ ।

भिडियाे हेर्नुहाेस्




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.