पूरा भयो ‘चिलगाडी' सपना

पूरा भयो ‘चिलगाडी'  सपना

सुर्खेतः निर्माण सुरु भएको ३० वर्षपछि कालीकोटको कोटबाडास्थित सुनथराली विमानस्थलमा पहिलोपटक जहाज अवतरण भएको छ । नेपालगन्जबाट चालक दलका सदस्यसहित १३ जना यात्रु लिएर उडेको तारा एयरको जहाज शनिबार बिहान सफल अवतरण भएको हो । योसँगै अब कालीकोटमा नियमित हवाईसेवा सञ्चालनका लागि बाटो खुलेको छ ।

३० वर्ष लगाएर निर्माण सम्पन्न भएको विमानस्थलमा पहिलोपटक शनिबार जहाज देखेका स्थानीय बासिन्दाको बर्सौंदेखिको जहाज (चिलगाडी) चढ्ने र कमसेकम हवाईमार्गद्वारा राजधानीसँग सम्पर्क बन्ने सपना पूरा हुने भएकोमा हर्षित छन् कालीकोटवासी ।

यसअघि आकाशमा मात्र उडेको देखेका अधिकांश स्थानीयले शनिबार आफ्नै आँगनमा जहाज देख्ने मौका पाए तब उनीहरूको खुसीको सीमा रहेन । खुसीयालीमा उनीहरूले कोटबाडामा अबिरजात्रा नै गरे ।

जिल्ला सदरमुकाम मान्मदेखि करिब पाँच घन्टाको पैदल दूरीमा रहेको विमानस्थलमा शनिबार जहाज हेर्नेको घुइँचो लाग्यो । सडक यातायातको पहुँच नपुगेको कोटबाडा आसपासका क्षेत्रबाट सयौंको संख्यामा मानिस जहाज हेर्न जम्मा भएका थिए । जहाज आउने जानकारी पाएपछि बिहानैदेखि फूलमालासहित विमानस्थल पुगेकी स्थानीय ८५ वर्षीया काल्चा विकले आफ्नो खुसी थाम्न सकिनन् ।

‘आजसम्म आकाशमा मात्र उडेको देखेकी थिएँ', उनले भनिन्, ‘हाम्रो आँगनमै आएर बस्ला भन्ने त सोचेकी पनि थिइनँ । बाँचेपछि सबै देख्न पाइँदो रहेछ । अब यो बुढेसकालमा चिलगाडी चढ्ने रहर पनि पूरा हुने भयो ।' अब छोरानातिलाई आवतजावतमा सजिलो हुने भन्दै उनले खुसी व्यक्त गरिन् । जहाज हेर्नकै लागि जिल्लाको लालु, माल्कोट, रुप्सा, कुमालगाउँ, कोटबाडा, रकु, मान्मलगायत बासिन्दा विमानस्थलमा जम्मा भएका थिए । जहाज अवतरण भएपछि उनीहरूले एकैसाथ ‘हुटिङ' एवं फूलमालाले स्वागत गरेका थिए ।

पदको शपथ लिएलगत्तै कर्णालीवासीसमेत रहेका पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आफ्नो कार्यकालमा उक्त विमानस्थल सञ्चालनमा ल्याउने घोषणा गरेका थिए ।

आफ्नै आँगनमा जहाज अवतरण भएपछि कोटबाडाका स्थानीयले शनिबार अबिरजात्रा नै गरे ।

शाहीको घोषणापछि विमानस्थलको निर्माण कार्यले तीव्रता पाएको थियो । केही साताअघि निर्माण सम्पन्न भएपछि मन्त्री शाहीले परीक्षण उडान गर्न निर्देशन दिएका थिए । यसअघि शाहीले आफैं तीनपटकसम्म निर्माणस्थलमा पुगेर काम सक्न निर्देशन दिएका थिए । परीक्षण उडान सफल भएसँगै अब नियमित उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । कोटबाडामा अब नियमित उडान हुने प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले बताए ।

‘परीक्षण उडान सफल भएको छ', उनले भने, ‘अबदेखि यहाँ नियमित उडान हुनेछ । फागुनको पहिलो साता यसको औपचारिक उद्घाटन गर्नेछौं ।' यस्तै तारा एयरका क्याप्टेन सन्तोष शाहले कोटबाडामा विमान अवतरणका लागि भौगोलिक अवस्था उपयुक्त रहेको बताए ।

स्थानीय नागरिक समाजका अगुवा मीनबहादुर बोगटीले आफूहरूको जहाज चढ्ने सपना ढिलै भए पनि पूरा भएको प्रतिक्रिया दिए । जिल्लाका अधिकांश क्षेत्रमा अहिले पनि सडक नपुगेको भन्दै उनले हवाई सेवा सुरु भएपछि आफूहरूका सुखका दिन आएको बताए । तत्काल नियमित उडान सञ्चालन गर्न उनको आग्रह थियो । विमानस्थल निर्माणका क्रममा माटोको ढिस्कोमा पुरिँदा छोरा गुमाएकी स्थानीय रोजना बिष्टले भनिन्, ‘धेरै दुःख गरेर बनेको हो यो एयरपोर्ट ।

हामीले त छोरा नै गुमायौं । आँगनमै चिलगाडी देख्दा छोराको सम्झना आयो । ढिलै भए पनि चिलगाडी चढ्ने हाम्रो रहर पूरा हुने भयो ।'

विमानस्थलको कुल लम्बाइ करिब ६ सय ९० मिटर र ६० मिटर चौडाइ हुनेछ । तर तत्कालका लागि करिब पाँच सय ५० मिटर लम्बाइ र ४० मिटर चौडाइ रहेको जानकारी धावनमार्ग निर्माणको काम सकिएको निर्माणकार्यमा खटिएका इन्जिनियर रत्नबहादुर श्रेष्ठले दिए । परीक्षण उडान सफल भएपछि फागुन ११ गतेसम्मम औपचारिक उद्घाटन गरिने नागरिक उड्यन प्राधिकरणले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.