संकटालाई सिमरा गोल्डकप
सिमराः विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई स्तब्ध पार्दै सीएमजी संकटा क्लबले रुस्लान आठौं सिमरा गोल्डकप फुटबलको उपाधि जितेको छ । सिमरा रंगशालामा शनिबार भएको फाइनल भिडन्तमा आर्मीलाई टाइब्रेकरमा ४-२ ले पराजित गर्दै संकटाले पहिलोपटक सिमरा गोल्डकपको उपाधि उचालेको हो ।
उपाधिसँगै संकटाले ट्रफीसहित पाँच लाख ५१ हजार नगद पनि जितेको छ । उपविजेतामा सीमित आर्मीले भने दुई लाख ५१ हजारमा चित्त बुझायो ।
प्रतिस्पर्धात्मक खेलमा आर्मीको अग्रतालाई तोड्दै संकटा खेलमा फर्किएको थियो । संकटाविरुद्ध आक्रामक खेल सुरु गरेको आर्मीले खेलको ४७औं मिनेटमा अग्रता लियो । बालकृष्ण श्रेष्ठले डिबक्सभित्रबाट गरेको उत्कृष्ट प्रहार क्रसबारमा लाग्दै गोललाइनभित्र पसेपछि एन्फा रेफ्री नवीन्द्र महर्जनले आर्मीलाई गोल दिएका थिए । पहिलो हाफमा पाएको केही अवसर चुकाएको संकटाले खेलको ५६औं मिनेटमा बराबरी गोल फर्कायो । आर्मीका बालकृष्ण श्रेष्ठले विदेशी खेलाडी मार्टिन अजाईलाई लडाएपछि संकटाले फ्रिकिक पाएको थियो । डिबक्स बाहिरबाट संकटाका अमित तामाङले प्रहार गरेको फ्रिकिक बलले सीधै जाली चुमेको थियो ।
निर्धारित समयमा १-१ को बराबरी भएपछि अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसकेपछि नतिजा टाइब्रेकरबाट निकालिएको थियो । टाइब्रेकरमा संकटाका राज पौडेल, अनिल गुरुङ, अमित तामाङ र कुलदीप कार्कीले गोल गरे । विश्व अधिकारीको प्रहार भने आर्मीका किपर सुनिल श्रीवास्तवले बचाए ।
आर्मीका सन्तोष तामाङ र हिरण्य मगरले मात्र गोल गर्न सके । दीपक गुरुङ र जितेन्द्र कार्कीको प्रहार संकटाका गोलरक्षक विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरे । उत्कृष्ट खेल प्रदर्शन गरेका श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले यामाहा मोटरसाइकल प्राप्त गरे ।
विधागत पुरस्कारमा उत्कृष्ट फरवार्ड अनिल गुरुङ (संकटा), उत्कृष्ट मिडफिल्ड सन्तोष तामाङ (आर्मी), उत्कृष्ट डिफेन्स विमल पाण्डे (आर्मी), उत्कृष्ट प्रशिक्षक सल्यान खड्गी (संकटा) र सर्वाधिक गोलकर्ताको पुरस्कार बालकृष्ण श्रेष्ठ (आर्मी)ले प्राप्त गरे । उत्कृष्ट भएका खेलाडीले जनही १५ हजार नगद हात पारे । प्रतियोगिताको फेयर प्लेको पुरस्कार एपीएफ क्लबले हात पारेको छ ।