राधाकृष्ण मैनालीको दिमाग खुस्कियोः माधव नेपाल
बुटवलः नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले ‘नलेखिएको इतिहास’ पुस्तकमा आफ्नो वारेमा लेखिएको प्रसंग झुठो भएको दावी गरेका छन्। २०४६ सालमा भारतीय सेना ल्याएर राजतन्त्र उन्मुलन गर्न माधव नेपाल पक्षमा उभिएको भन्ने पुस्तकमा उल्लेख गरिएको छ ।
प्रेस चौतारी रुपन्देहीले बुटवलमा आइतबार विहान गरेको पत्रकार सम्मेलनमा नेपालले भने,‘राधाकृष्णजीलाई दिमाग खुस्किएको भनेर कसरी भनौं। भारतीय सेना ल्याउने भन्ने कुरा कल्पना समेत भएको थिएन।’
नेता नेपालले भारतीय वापन्थी केही नेताहरुसंग बाहेक एमालेको अरु कसैसंग सम्बन्ध नरहेको उनको दावी छ। ०५१ साल अघिसम्म एमालेलाई भारतले नपत्याउने गरेको भन्दै उनले भारतीय सरकार र सेनासंग समन्वय भन्नु गलत भएको बताए।
उनले मदन भण्डारीसंग पञ्चायतविरुद्ध जानुपर्छ भन्ने कुरा भने भएको बताए। त्यही सहमति अनुरुप बारा जिल्लामा भाटा बोकेर हिड्ने काम भएको उनले बताए। नेता नेपालले मैनाली हिम्मत नभएको नेता भएको आरोप लगाउँदै दिमागले स्मरण गुमाएको समेत बताए।
फरक प्रसंगमा नेता नेपालले सरकारले समयमा चुनाव नगरे सत्ता समिकरण परिवर्तन हुने बताए। चुनाव गर्ने एजेण्डालाई पूरा गर्न नसक्नु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कमजोरी भएको भन्दै उनले कमजोर नेताको परिचय अहिलेको सरकारले दिएको बताए।