विप्लव माओवादीको महाधिवेशन राजधानीमा उद्घाटन
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीको महाधिवेशन राजधानीको खुला मञ्चमा उद्घाटन भएको छ।
मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी बाट अलग भएको दुई वर्ष पुग्नै लाग्दा विप्लव माओवादीले पहिलो महाधिवेशन गरेको हो। विप्लवले भने आठौं महाधिवेशन भनेका छन्। आइतबार दिउँसो विप्लवले खुला मञ्चमा बेलुन उडाएर अधिवेशनको उद्घाटन गरेका हुन् ।
विप्लव माओवादीको महाधिवेशनको तयारी स्वरुप माओवादी नेता, कार्यकर्ताले राजधानीका मुख्य चोकचोकमा ‘एकिकृत जनक्रान्ति जिन्दावाद, एतिहासिक आठौं महाधिवेशन सफल पारौं’ भन्ने जस्ता नारा लेखिएका राता ब्यानरले सजाएका थिए।
महाधिवेशनका लागि खुलामञ्च क्षेत्रलाई रातो रंगको नयाँ संसारका रुपमा, ब्यानर, पतका, झण्डा अनि तोरण र राता बेलुनले सजाइएको छ।
काठमाडौँमा उद्घाटन भएको विप्लव माओवादीको महाधिवेशनको बन्दसत्र भने रोल्पामा हुनेछ।
माओवादीले बन्दसत्रको लागि भने दश बर्षे जनयुद्धको आधारक्षेत्र रोल्पाको थवाङमा सम्पन्न गर्ने जनाएको छ । रोल्पामा फागुन ४ गतेदेखि १० गतेसम्म बन्दसत्र हुनेछ।
महाधिवेशन उद्घाटन समारोहमा मोहन वैद्य र भूमिगत कम्युनिस्ट नेता मोहनविक्रम सिंहलाई निम्तो गरिएको भए पनि १० वर्षे जनयुद्धका नेतृत्वकर्ता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई भने निम्तो दिइएको छैन।